PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

कुरिनटारमा पाँच हप्ते गोताखोर तालिम शुरु



पहिलोपोस्ट

कुरिनटारमा पाँच हप्ते गोताखोर तालिम शुरु

काठमाडौं : सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम शुरु भएको छ। पाँच हप्तसम्म चल्ने तालिम राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव हरिप्रसाद घिमिरेले आइतवार शुरु गरेका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा शुरु भएको तालिममा २० जना सशस्त्र प्रहरी सहभागी छन्। प्रशिक्षार्थीलाई कोशी नदी, फेवाताल, कुलेखानीलगायतका फरकफरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिइने कार्यतालिका रहेको छ। 

नेपालमा गोताखोर जनशक्ति अभाव रहेकोले यो तालिम महत्वपूर्ण हुने सहसचिव घिमिरेले बताए। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले नदी, ताल तथा गहिरो स्थानहरुमा डुबी भएका मानवीय घट्नाहरुमा विपद् प्रतिकार्यको लागि सामान्य जनशक्तिबाट सम्भव नहुने हुँदा संगठनलाई प्राप्त विपद् व्यवस्थापन जस्तो महत्वपूर्ण कार्यदेश कुशल ढंगले सम्पादन गर्नका लागि गोताखोर तालिम अपरिहार्य रहेको बताए। 

प्राधिकरणप्रति विशेष आभार प्रकट गर्दै हालसम्म सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु विभिन्न विपद् उद्धार कार्यमा खटी ८०२ जनाको उद्धार गरेको जानकारी गराउँदै विपद् प्रतिकार्यमा तत्कालको लागि सशस्त्र प्रहरी बल, नेपालले कम्तिमा १० जना गोताखोर सहितको टोली प्रत्येक प्रदेशमा परिचालन गर्ने योजना रहेको उनले बताए। उद्घाटनमा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell