PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

‘डक्टर स्ट्रेन्ज-२’को दुई दिनको कमाई २ करोड ११ लाख, दर्शक नहुँदा तीन दिनमै हटाइयो ‘षट्कोण’



लक्ष्मी बलायर

‘डक्टर स्ट्रेन्ज-२’को दुई दिनको कमाई २ करोड ११ लाख, दर्शक नहुँदा तीन दिनमै हटाइयो ‘षट्कोण’

काठमाडौं : गत शुक्रवारदेखि दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आए। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’। तीन फिल्ममध्ये हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ। साम रेइमी निर्देशित यस फिल्मले २ दिनमा २ करोड ११ लाख कलेक्सन गरेको हो।

‘डक्टर स्ट्रेन्ज-२’ले २ दिनमा २ करोड ११ लाख कमाएको एप्पल इन्टरटेनमेन्टकी व्यवस्थापक जेनिस पहारीले जानकारी दिइन्।

‘यस फिल्मको व्यापार निकै उत्साहजनक छ। डक्टर स्ट्रेन्ज-२ ले २ दिनमा २ करोड ११ लाखको व्यापार गरिसकेको छ। आइतवारको भने रिपोर्ट आउँन बाँकी नै छ,’ उनले भनिन्।

उनका अनुसार ५५ वटा नेपाली सिनेमा हलबाट उक्त रकम उठाएको हो। अग्रिम टिकट पनि राम्रो बिक्री भइरहेको कारण फिल्मले राम्रो व्यापार गर्ने पहारीको आशा छ।

काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो सिरिजको कथावस्तु हो। यस फिल्ममा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेन लगायतका कलाकारहरूको अभिनय छ।

हलिउड फिल्मले राम्रो व्यापार गरेपनि नेपाली फिल्मको भने दयनीय अवस्था छ। हलिउड फिल्मको तुलनामा नेपाली फिल्म ‘लक्का जवान’ र ‘षट्कोण’मा दर्शकको साथ छैन। नेपाली फिल्ममा दर्शकको संख्या न्यून रहेको रञ्जना सिनेप्लेक्सका म्यानेजर कुमार विनोद पौड्यालले जानकारी दिए।

नेपाली फिल्मको कमजोर ओपनिङबिच फिल्म ‘षट्कोण’लाई त मल्टिप्लेक्स हलबाट हटाइएको छ। कार्म अभिनित यस फिल्मलाई नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको सम्पूर्ण हलबाट तीन दिनमै हटाइएको छ।

त्यसैगरी, एफक्युब सिनेमाज, क्युज सिनेमाज, वान सिनेमाज  र बिग मुभिजबाट पनि यो फिल्म हटेको छ। तर, रञ्जना सिनेप्लेक्सले भने आज एक शो दिएको छ।

फिल्म ‘षट्कोण’ले दर्शकलाई तान्न नसकेपछि नै हलबाट शो हटाइएको बिग मुभिजका म्यानेजर दिपेश शर्माले जानकारी दिए।

‘हिजो ३/४ जना मात्रै दर्शकहरू आउनुभएको थियो। दर्शक नै नआएपछि हामी शो हटाउन बाध्य भएका हौँ। हलिउड फिल्ममा दर्शकको साथ राम्रो भएता पनि 'लक्का जवान' भने कम नै छ,’ उनले भने।

फिल्म ‘षट्कोण’को शो हटाएर ‘ए मेरो हजुर ४’को शो राखेको समेत शर्माले बताए। भन्छन्, ‘हामीले 'ए मेरो हजुर ४'लाई फेरि शो दिएका छौँ। रिलिज भएको चारहप्ता हुँदा पनि यसमा दर्शकहरूको डिमाण्ड राम्रो छ। जसकारण यस फिल्मलाई फेरि शो दिएका हौँ।’

कोरोना महामारीपछि नेपाली सिनेमाहलमा विदेशी फिल्महरूकै दबदबा देखिन्छ। कोरोनापछि डेढ दर्जन नेपाली फिल्महरू रिलिज भएता पनि उत्साहजनक व्यापार भने गर्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell