PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आर्थिक संकट गहिरिँदै जाँदा श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा



पहिलोपोस्ट

आर्थिक संकट गहिरिँदै जाँदा श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
Photo : Reuters

काठमाडौं : आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। आर्थिक संकट नियन्त्रणमा सरकारको जिम्मेवारपूर्ण प्रयास नभएको भन्दै चर्को विरोध र जनदबावबिच उनले राजीनामा दिएका हुन्।

७६ वर्षीय राजापाक्षेले आफ्ना भाइ तथा श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेलाई आफ्नो राजीनामासँगै आर्थिक संकट हल गर्न सहज हुने अपेक्षा गरेका छन्।

राजधानी कोलम्बोमा राजापाक्षे पक्षधर र सरकार विरोधी प्रदर्शनकारीबीच झडपसँगै कर्फ्यु लगाइएको छ। सोही समयमा प्रधानमन्त्री राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन्।

उक्त झडपमा करिब ७८ जना घाइते भएको संचारमाध्यमले जनाएका छन्। चर्को मूल्यवृद्धिसँगै लोडसेडिङ हुन थालेसँगै श्रीलंकामा गत महिनादेखि हिंसात्मक प्रदर्शन हुँदै आएको छ। सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका अहिले गहिरो आर्थिक संकटमा फसेको छ।

श्रीलंका सरकारले अन्तर्राष्ट्रिय समुदायसँग आपतकालीन वित्तीय सहयोग उपलब्ध गराउन अनुरोध गर्दै आएको छ। श्रीलंकाको विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको अवस्था छ। जसका कारण श्रीलंकाले लामो समय अत्यावश्यक वस्तु खाद्यान्न, औषधिदेखि पेट्रोलियम पदार्थ खरिद गर्न सक्ने हैसियतमा छैन। 

श्रीलंका सरकारले भने कोरोना महामारीका कारण विदेशी मुद्रा आर्जन हुने पर्यटन क्षेत्र ध्वस्त भएकाले आर्थिक संकट आइपरेको दाबी गर्दै आएको छ। तर, श्रीलंकाका विज्ञहरुले भने सरकार आर्थिक व्यवस्थापनमा चुकेको आरोप लगाउँदै आएका छन्। 

प्रधानमन्त्रीबाट राजीनामा दिए पनि देशको आर्थिक अवस्था सुधार हुने अवस्था नभएको भन्दै सरकार विरोधी प्रदर्शन रोकिनेमा शंका गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell