PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हेटौँडामा तीन दशक लामो एमालेको विरासत भत्काउने दाउमा गठबन्धन, तेस्रो प्रयासमा होला सफल?



निशा गुरुङ

हेटौँडामा तीन दशक लामो एमालेको विरासत भत्काउने दाउमा गठबन्धन, तेस्रो प्रयासमा होला सफल?

हेटौँडाः वाग्मती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्ता गठबन्धन र नेकपा (एमाले) रस्साकस्सीमा छन्। उपमहानगरको जितलाई गठबन्‍धन र एमाले दुबैले प्रतिष्ठा बनाएका छन्। मतदाता आफ्‍ना पक्षमा पार्न दुबै पक्ष व्यस्त छन्।

हेटौँडामा एमालेको विरासतको राजनीति चल्दै आएको छ। तीन दशकभन्दा लामो वाम विरासत भत्काउने दाउमा योपटक सत्ता गठबन्धन छ। एमाले आफ्नो विरासत जोगाउने प्रयासमा छ।

यसअघिका तीन निर्वाचनमा दुई पटक गठबन्धन भएको थियो। दुबै पटक एमाले विजयी भएको थियो।

२०४९ मा स्थानीय निकायको निर्वाचनमा तत्कालीन हेटौंडा नगरपालिकामा काँग्रेस र एमाले एक्लै प्रतिस्पर्धामा थिए। जसमा एमालेका डोरमणि पौडेल प्रमुख र हरिबहादुर महत उपप्रमुखमा निर्वाचित भएका थिए।

२०५४ मा तत्कालीन नगरपालिकामा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तथा २०७४ को निर्वाचनमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन भएको थियो। गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार दुबै निर्वाचनमा विजयी भएका थिए।

२०७४ को निर्वाचनमा प्रमुखमा एमालेका हरिबहादुर महत र उपप्रमुखमा मीनाकुमारी लामा विजयी भए। लामा अहिले नेकपा (एकीकृत समाजवादी) मा छिन्। उनै लामा अहिले मेयरको उम्मेदवार पनि छिन्।

महत अघिल्लो चुनावमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतको अन्तरले हराएर विजयी भएका थिए। पराजुली झिनो मतान्तरले पराजित हुँदा सात हजार ५०२ मत बदर भएको थियो। बदर मत अधिकांश माओवादी केन्द्रको चुनाव चिन्हमा छाप लगाएको पाइएको थियो।

योपटक चुनावमा एमालेले संविधानसभा सदस्य अनन्त पौडेललाई अघि बढाएको छ।  गठबन्धनबाट एकीकृत समाजवादीकी लामा र राप्रपाबाट दीपकबहादुर सिंहसहित १८ जना चुनावी मैदानमा छन्। उपप्रमुखमा नौ जना उम्मेद्वार छन्।

राप्रपाले उपमहानगरमा प्रमुख र उपप्रमुखसहित पालिकाको १९ वटै वडामा उम्मेद्वार बनाएको छ।

एमालेका उम्मेद्वार पौडेल आफ्नो पार्टीले नगरमा विगतमा गरेका विकास निर्माणका काम र पार्टीले राष्ट्रियताका पक्षमा गरेका निर्णयले आफूहरुले जित्ने दाबी गर्छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा दलले कुनै पनि स्थानीय तहमा उम्मेद्वार उठाएको छैन। राप्रपा नेपालले एमालेलाई समर्थन गर्ने निर्णय पनि गरेको छ। एमालेको नेपाल परिवार दलसँग समेत गठबन्धन गरेको छ।

राप्रपा नेपालको मत तान्न दुबै पक्ष प्रयासमा देखिन्छन्।

सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी लामा उपप्रमुख हुँदा निष्पक्षरुपमा निर्वाह गरेको भूमिका र कामले नै आफूले जित्ने दाबी गर्छिन्। गठबन्धनमा आवद्ध दलहरुको जनाधार जितको आधार भएको लामा बताउँछिन्।

सत्ता गठबन्धनले एमाले विभाजनको लाभ लिने आकलन गरिएको छ। एमाले विभाजन हुँदा मकवानपुरका केही पुराना र प्रभावशाली नेता एकीकृत समाजवादीमा लागे पनि जनमत यकिन भइसकेको छैन।

गठबन्धनबाट उपप्रमुखका उम्मेदवार बनेका राजेश बानियाँ गठबन्धनमा रहेका दलहरुको जनाधार सुरक्षित रहेकाले योपटक जनमत आफूहरुको पक्षमा आउनेमा ढुक्क छन्।

तर २०७० सालमा संविधानसभा सदस्यमा पराजित भएपछि पार्टी निर्माणमा संलग्न नभएका सिंहलाई उम्मेद्वार बनाएको भन्दै राप्रपाभित्र असन्तुष्टि छ। सिंहको आगमनसँगै पार्टी निर्माणमा लाग्दै आएका मधु अधिकारी र नवराज विष्ट उम्मेद्वार बन्नबाट बञ्चित भएपछि राप्रपाभित्र असन्तुष्टि चुलिएको छ।

अघिल्लो स्थानीय तह निर्वाचनमा उपमहानगरमा ८३ हजार ५३७ मतदाता रहेकोमा ६२ हजार १७० मत खसेको थियो। यो पटकको निर्वाचनमा मतदाता सङ्ख्या एक लाख चार हजार ४७३ पुगेको छ। उपमहानगरमा सत्ता गठबन्धन र एमालेका उम्मेद्वारलाई परम्परागत जनाधार जोगाउँदै थपिएको २० हजार ९३६ नयाँ मतदाता नै विजयको महत्वपूर्ण आधार बन्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell