PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तलब हात नपर्दै ज्यान गुमाए म्यादीले : कोही परे कारवाहीमा त कोही तानिए अनुसन्धानमा



सविन ढकाल

तलब हात नपर्दै ज्यान गुमाए म्यादीले : कोही परे कारवाहीमा त कोही तानिए अनुसन्धानमा
काठमाडौंमा ड्युटीमा खटिएका म्यादी प्रहरी: फाइल फोटो

काठमाडौं : 'सागर, वसन्ते, किस्‍ने सबैहरू नडरा क्या केटाहरू...। किन डराएको छन् क्या, तेरो दाइ, तेरो दाइ मिदी भइसकेको छ नि त।'

अहिले यो डाइलग निकै भाइरल बनेको छ। यतिसम्म कि गाडीमा पनि लेखिन थालिएका छन् - यो डायलग। म्यादी प्रहरीको पोशाकमा सेल्फी मोडको भिडियो खिचेर सोसल मिडिया हालेपछि एक किशोर चर्चामा आए। आसन्न स्थानीय तह निर्वाचनको सुरक्षाका लागि यतिखेर देशभर म्यादी प्रहरी खटिएका छन्। यो भिडियो भाइरल भएपछि म्यादी प्रहरी ठट्टाको विषयमा रुपान्तरित भए। डेढ वर्ष तालिम गरेर बनिने प्रहरी त अनुशासनमा रहँदैनन् भने १५ दिनको तालिम पाउनेबाट कति आशा गर्नु? अझ् त्यसमाथि त यी किशोर म्यादी नै रहेनछन्।

अझ त्यसमाथि भिडियोमा म्यादीको पोशाक लगाएका किशोरले आफू म्यादी प्रहरी भएकाले साथी भाइलाई लागु औषध प्रयोग गर्न समेत हैसाएका थिए।

'मनले जे गर्छ त्यही गर...' भन्दै उनले जे बोले त्यो भाइरल बन्यो सोसल मिडियाभर। भिडियो भाइरल भएपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ नै गर्न पर्‍यो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १६ वर्षीय किशोरलाई नियन्त्रणमा लियो। सोधपुछका क्रममा रेग्मी थरका ती किशोर म्यादी प्रहरी नभएको खुलेको हो।

अरुकै पोशाक लगाएर उनले भिडियो बनाएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए। प्रहरीले सोधपुछ गर्दा उनले म्यादी प्रहरीको पोशाक फुपूका छोराबाट लिएको खुल्यो। पोशाक खोलेर राखेको समयमा भिडियो बनाएका रहेछन् ती किशोरले।

यो त एउटा म्यादी प्रहरीलाई मजाकका रुपमा स्थापित गराउने भाइरल भिडियोको उदाहरण मात्र हो। यस्ता केही म्यादी प्रहरी भने 'नचाहिने' गतिविधिका कारण कारवाहीको सिकार भएका छन् ती किशोरजस्तै। ४० दिनको जागिरे बन्ने मध्ये ४८ जना म्यादी प्रहरी यसैगरी कारबाहीमा परेका छन्।

'कसुर अनुसार हामीले म्यादी प्रहरीलाई कारबाही गरेका छौँ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी केसीले भने।

जवर्जस्ती करणीदेखि, ज्यान मार्ने उद्योगसम्म

नेपाल प्रहरीको तथ्याङ्क अनुसार भर्ती भएदेखि अहिलेसम्मको अवधिमा ४८ जना म्यादी प्रहरी कारबाहीमा परेका छन्। जवर्जस्ती करणीका घटनादेखि ज्यान मार्ने उद्योगसम्म उनीहरु कारवाहीमा परेका हुन्। कतिपय म्यादी त फरार अभियुक्त समेत रहेको भेटिए।

काठमाडौंमा कार्यरत एक म्यादी प्रहरी किशोरी करणी गरेको अभियोगमा पक्राउ परे। ड्युटीमा खटिएका म्यादी प्रहरी साथी भेट्न भन्दै निस्किएर करणी गरेको उजुरी परेपछि समातिएका थिए।

त्यस्तै, एक जना म्यादी प्रहरी ज्यान मार्ने उद्योगमा फरार रहेको खुलेपछि कारबाहीमा तानिए। उनी मधेश प्रदेशमा कार्यरत म्यादी प्रहरी थिए। त्यस्तै, आचरण विपरीतका काम गरेकोमा १४ जना म्यादी प्रहरीलाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता केसीले बताए। कारबाही पर्नेमा एक जना महिला म्यादी प्रहरी समेत छिन्। लुम्बिनी प्रदेशमा कार्यरत ६ जना, कर्णाली प्रदेशमा ४ जना, सुदूरपश्चिम प्रदेशमा २ जना, एक नम्बर प्रदेश र मधेश प्रदेशमा एक/एक जनाले आचरण विपरीतको काम गरेको देखिएको छ।

चार जनाको म्यादीको मृत्यु, एकले गरे आत्महत्या

सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। गत आइतवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरी सहितका सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। त्यस्तै, हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

भर्ना भएदेखि हालसम्म ४ जना म्यादी प्रहरीको मृत्यु भइसकेको छ। नुवाकोटमा कार्यरत म्यादी प्रहरी योगेन्द्र न्यौपानेको भिरबाट खसेर मृत्यु भएको छ। त्यस्तै, सिन्धुपाल्चोकमा कार्यरत दुर्गासिंह बस्नेतको सडकबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। म्यादी प्रहरी जसबहादुर रोकाया हुम्लास्थित डेरामा मृत भेटिए। सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो। प्रहरीका अनुसार अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीवार मृत अवस्थामा भेटिएका थिए। त्यस्तै, अनिता भट्टराई काठमाडौंमा विष सेवन गरी मृत्यु भएको खुलेको छ। उनको मृत्युमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

चालिस दिनका लागि भर्ना भएका म्यादी प्रहरीको एक महिना पूरा भइसकेको छ। म्यादी प्रहरीका लागि प्रहरी जवान सरह ( मासिक तलब २२ हजार ६ सय ८०) रुपैयाँका दरले ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ, खाद्यन्न वापत ७ हजार २ सय रुपैयाँ र पोशाक तथा अन्य सामाग्रीका लागि ६ हजार रुपैयाँ उपलब्ध गराउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell