PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मकवानपुरको ‘सुदूरपूर्व’ जहाँ लालपूर्जा नै हो चुनावी एजेन्डा



निशा गुरुङ

मकवानपुरको ‘सुदूरपूर्व’ जहाँ लालपूर्जा नै हो चुनावी एजेन्डा

हेटौंडा : स्थानीय तह निर्वाचनका लागि अब केही दिनमात्रै बांकी छ। भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

जब जब चुनाव आउँछ तब मकवानपुरको विकट क्षेत्र बागमती गाउँपालिकामा पनि राजनीतिक दलहरु पुग्ने गर्छन्। त्यसबेला नेताको मुख्य एजेन्डा नै बागमती गाउँपालिकाका स्थानीयलाई लालपूर्जा दिने आश्वासन हुन्छ। तर, त्यो आश्वासन बोलीमामात्रै सिमित हुन्छ। यस पालिकाका अधिकांश स्थानीयले वर्षौंदेखि जग्गा भोगचलन त गरिरहेकका छन् तर उनीहरुसँग पूर्जा छैन।

त्यसैले प्रत्येक निर्वाचनमा भोट माग्न आएकाहरु भन्छन् : जसले कमाई गरेको उसैकै नाममा जग्गाधनी पुर्जा उपलब्ध गराउँछौं। तर अहिलेसम्म कसैले पनि लालपूर्जा उपलब्ध पाएका छैनन् छैनन।

‘स्थानीय तहको निर्वाचनका बेला दिनानुदिन नेता आएर जग्गा तिमीहरुकै नाममा बनाइदिने भन्दै भोट लगे अहिले जितेर गएका नेताहरु कहाँ गए कहाँ?’ बागमती गाउँपालिकाका वडा नम्वर – ८ का गुञ्ज मोक्तानले भने, ‘पुर्जाको धेरैपटक विभिन्न ठाउमा पहल गर्‍यौं तर कसैले हाम्रो आवाज सुनेनन्।’

२०३२ सालमा नापी भएको जग्गाको पुर्जा पनि स्थानीयले नपाएको उनको दाबी छ।

बागमती गाउपालिकाकै ईन्द्रबहादुर मोक्तान लालपूर्जा आस गर्दागर्दै जिन्दगी बित्ने हो कि भन्दै प्रश्न गर्छन्।

‘चुनावको बेलामा लालपूर्जाको कुरा गर्छन। जितेपछि चटक्कै विर्सन्छन’ उनले भने, ‘जतिपटक भोट हाल्यौं त्यतिपटक पुर्जा माग्यौं कहिल्यै हुदैन भनेन्। फर्की फर्की भोट माग्न आए, पुर्जा दिएनन्।’

मोक्तानको मात्रै होईन उनकै घरनजिकै रहेका ७० वर्षीय लाल बहादुर भ्लोनको पक्की घर छ, उत्पादनशील खेत छ। पक्की सडक, खानेपानीको राम्रो व्यवस्था छ। तर , यति धेरै संरचना बनेको जग्गाको पुर्जा छैन। २०३२ सालमा कित्ता नम्वरसमेत आएको उनको हातमा अहिलेसम्म लालपूर्जा नआउँदा अब भोट दिउ की नदिउ भनेर उनी दोधारमा छन।

‘लालपूर्जा दिने प्रत्येक चुनावको आश्वासनले पुगिसक्यो, तर लालपूर्जा कहिले आएन,’ गाउँपालिका वडा नम्वर –७ का काईलीमाया रुम्बा पनि भन्छिन्।

हजारभन्दा बढी घर, दुईजनालाई लालपूर्जा

बागमती गाउँपालिकामा पुर्जा दिने आश्वासन दिने होडबाजी चलेको धेरै भयो। उम्मेद्वारहरु एक–अर्कालाई आक्षेप लगाउदै सुकुम्बासी र अव्यवस्थित बस्तीमा पुगेर मत मागिरहेका छन्।

गत चैत्र महिनामा सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले २ जनालाई लालपूर्जा वितरण गरेकी थिइन। उक्त गाउँपालिकामा एक हजार सात सयभन्दा बढीघर धुरी भूमिहीनहरू रहे पनि जम्मा दुई परिवारलाई पूर्जा पाएका थिए।

दलित सुकुमबासीहरूलाई पूर्जा वितरण गर्न सार्वजनिक सूचना प्रकाशन गर्नु नपर्ने भएकाले दुई परिवारलाई मात्र अहिले पूर्जा दिन सकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको कृष्ण बहादुर दर्नाल र तीर्थ बहादुर विश्वकर्मालाई पूर्जा वितरण गरिएको थियो। दर्नाललाई १४८ वर्गमिटर र विश्वकर्मालाई १४७ वर्गमिटरको जग्गाको पूर्जा प्रदान गरिएको थियो। यद्यपि, उक्त कदमलाई सर्वसाधरणहरुले निर्वाचनको मुखमा आँखामा छारो हाल्न चुनावी रणनीति भएको भन्दै आलोचना गरेका थिए।

मकवानपुरको सुदुरपूर्वमा पर्ने बागमती गाउँपालिकामा ३९ हजार जनसंख्या रहेको छ। यहाँ साढे २२ हजार मतदाता छन्। उक्त गाउँपालिकाका अधिकांश बासिन्दा लालपूर्जाविहीन छन्। ९ वटा वडामा विभाजित उक्त गाउँपालिकामा एमाले र सत्ता गठबन्धनबिच चुनावी प्रतिस्पर्धा रहेको छ। दुवै पक्षका उम्मेदवारको मुख्य चुनावी एजेन्डा लालपूर्जा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell