PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इपिसेन्टर भरतपुर : जगन्नाथको बागीले दैनिक नयाँ तरंग, एमाले उत्साहित, रेनुलाई के असर?



नेत्र तामाङ

इपिसेन्टर भरतपुर : जगन्नाथको बागीले दैनिक नयाँ तरंग, एमाले उत्साहित, रेनुलाई के असर?

काठमाडौं : चितवनको भरतपुर महानगर चुनावी ब्याटलमा सबैभन्दा बढी चासो र चर्चाको विषय बनेको छ यसपटक। प्राडा सूर्यराज आचार्यका अनुसार यहाँ बागी उम्मेदवार जगन्नाथ पौडेलको उम्मेद्वारीले दैनिक नयाँ लहर आउँदैछ।

'अरु ठाउँमा बागी उम्मेदवारी अन्य ठाउँमा दुई तीन दिनपछि फस्सफिस्स हुन्थ्यो। यहाँ हरेक दिन नयाँ लहर आउँदै छ,' सोमवार आचार्यले भने। यतिमात्र हैन भरतपुर पुगेका प्राडा आचार्यले पौडेलको पक्षमा मतसमेत मागे।

'कांग्रेसले जगन्नाथलाई चिनेन। उहाँलाई चिन्ने चेत भएन। राष्ट्रिय राजनीतिमा नयाँ बाटो खोल्ने उम्मेदवार हुन्। उहाँको उम्मेदवारी विदेशमा बस्ने नेपालीको चासो भएको छ। काठमाडौंको भन्दा बढी चासो छ,' भरतपुरमा जगन्नाथको पक्षमा आयोजित चुनावी सभामा आचार्यले भने, 'हरेक भरतपुरवासी चेतनशील मानिस भएको ठाउँ हो। देशभित्र र देशभित्रसमेत भरतपुरका जनताले नेताहरुले कर्मचारीको शैलीमा दिएको निर्देशन मान्दैनन्। लोकतान्त्रिक आस्था मरेको छैन भन्ने सन्देश दिनु पर्नेछ। '

भरतपुरमा यसकारण पनि चर्चामा छ जहाँ मेयरमा मात्रै २६ जनाले उम्मेदवारी दिएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाललाई मेयरको उम्मेदवार छिन्। उनलाई पुन मेयरको उम्मेदवारी थमाएपछि भरतपुरमा कांग्रेसको झगडा चर्किएको थियो। त्यसपछि कांग्रेस नेता जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनलाई फकाउन कांग्रेसले सम्पूर्ण शक्ति पनि लगायो। तर हँसियाहतौडाविरुद्ध आफू लागेको भन्दै अडिग बनेका पौडेलको पक्षमा आचार्य उभिएका हुन्। उनले जगन्नाथलाई मत दिएर भरतपुरवासीले आफ्नो परिचय दिनुपर्ने बताए। अरु ठाउँमा वागी उम्मेदवारी अन्य ठाउँमा दुई तीन दिनपछि फस्सफिस्स हुन्थ्यो। यहाँ हरेक दिन नयाँ लहर आउँदै छ।'

भरतपुरमा भुसको आगो झैं सल्किएको दाबी जगन्नाथ आफैले गरेका छन्। 'साढे तीन लाख बिचमा भएको ठाउँठाउँको अन्तरक्रिया र तपाईँहरुको सक्रियता यो भुसको आगो झैं भित्रभित्र सल्किएको छ,' शनिवार उनले भने।

आफूलाई कांग्रेसको मतदाता बताउने भरतपुरका एक जनाले उनको भनाईलाई पुष्टि गरे। 'जगन्नाथ पौडेल सिनियर मान्छे हो। असन्तुष्टि पहिलेबाटै थियो। तीव्र असन्तुष्टि भनेको उम्मेदवारीपछि हो,' नाम उल्लेख नगर्ने शर्तमा ती मतदाताले भने, 'पहिल्यै भनेको भए राम्रो हुन्थ्यो। कार्यकर्ताबीच निराशा छाएको छ।'

कांग्रेसकै चर्चित नेताको बागी उम्मेदवारीले एमाले हौसिएको छ। भरतपुरमा आयोजित एमालेको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजयी सुवेदीको जित निश्चित भएको दाबीसमेत गरे।

‘भरतपुर त जित्यो जित्यो, गठबन्धन त हार्‍यो हार्‍यो,’ ओलीले भने।

उनले एमालेका उम्मेदवार सुवेदी रेनुभन्दा पावरफूल नेता भएकोसमेत बताए। ‘विजयी सुवेदी एमालेको नेता हो, कतिसम्म भने एमालेको केन्द्रीय तहसम्म सीधै हटलाइन भएको नेता हो,’ ओलीले भने, ‘कसैका छोरीहरुभन्दा हाम्रो छोराभाइहरु हाम्रा छोरीहरु बढी सोझै हटलाइन भएका छन् र पावरफूल छन्।’

देउवाको शैली राणा शासनको जस्तै

यता भरतपुरमा जगन्नाथको उम्मेदवारीलाई साथ दिइरहेका चितवन कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटाले कांग्रेसको शैली सात सालमा फर्केको आरोप लगाए। 'नेपाली कांग्रेसले ७ सालमा क्रान्ति गरेर राणा शासन फाल्यो। राणा शासनमा माथिबाटै शासन चल्थ्यो। पञ्चायत आयो। पञ्चायतले पनि राम्रो गरेन। फेरि संघर्ष गरेर पञ्चायत फालेर हामीले चाहिने मान्छेलाई रोज्ने व्यवस्था ल्यायौ,' उनले भने, 'तर हाम्रो नेताहरुलाई त्यो मन परेन। हाम्रो नेताहरुले बालुवाटारबाट फलना मान्छे नेता चाहिन्छ। भोट हाल्नुपर्छ भनेर लागे। प्रधानमन्त्री पनि आउँछन् बालुवाटारबाट तोकेको मान्छे जिताउन भनेर।'

यता बागी बनेका जगन्नाथ भरतपुरमा ५५ हजार मतदाता भएको कांग्रेसले २० हजार मतदाता भएको माओवादीलाई पहिल्यै सहयोग गरेको खुलाए। अघिल्लोपटक माओवादीलाई सहयोग गरेपछि यसपटक कांग्रेसलाई मेयरमा सहयोग हुनुपर्ने प्रस्ताव अघि बढेको र जिल्लगत तहबाटै निर्णय भए पनि केही नेताहरुको कारणले आफूले स्वतन्त्रबाट उम्मेदवारी दिन बाध्य भएको उनले बताए।

'करिब ५५ हजार मतदाता रहेछन् कांग्रेसको। ५५ हजार मतदाता भएको एउटा पार्टीले २० हजार मतदाता भएको अर्को पार्टीसँग सहकार्य गर्न स्विकार गर्‍यो। पाँच वर्ष बितायौ। हामीले माग के थियो भने गर्‍यौ हिजो अर्कोलाई सहयोग गर्‍यौ यसपटक हामी बढौ भनेर जिल्लाको विभिन्न तहबाट निर्णय भयो,' पौडेलले भने, 'अन्तत: साथीहरुले खुट्टा छाड्नुभयो। त्यसले गर्दा मैले उम्मेदवारी दिनुपर्‍यो। पार्टीले कारवाही गर्ने थाह हुँदाहुँदै न्यायको लागि उम्मेदवारी थिए। पार्टीको साङ्लो तोडेर बस्नुभन्दा बाहिर आएको छु।'

आफू ५० वर्षदेखि कांग्रेस पार्टीमा लागेको उल्लेख गर्दै पछिल्लो समय कांग्रेस भुलभुलैयमा लागेको आरोप लगाए। 'नेताको व्यक्तिगत कामको निमित्त कार्यकार्तालाई प्रयोग गर्नेजस्तो स्थिति भयो,' उनले भने। पछिल्लोपटक पौडेलले एमालेसँग पनि मत मागिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षको आलोचना गर्न नहुने बताउँदै आएका छन्। यसैले जगन्नाथ पक्षले एमालेलेसमेत मत हाल्न सक्ने बताउन थालेका छन्। 'केही मलाई एमालेका साथीहरुले पनि मत दिन सक्नुहुन्छ। माओवादीले पनि मत दिन सक्नुहुन्छ। किनकि मैले निष्पक्ष काम गरेको छु उपमेयर हुँदा पनि। देशभरका ८० प्रतिशत जनताको समर्थन छ।'

कांग्रेसबाट विद्रोह गरि उम्मेदवारी दिएका पौडेलका कारण निवर्तमान महानगर प्रमुख रेनु दाहालको जितलाई मुश्किल बनाइदिने भरतपुरकै कांग्रेस कार्यकर्ताको अनुमान छ। यद्यपि कतिपयले भने पौडेलको उम्मेदवारीले दाहाललाई झनै सहज हुने दाबी प्रस्तुत गरेका छन्।

को हुन् जगन्नाथ?

बागी उम्मेदवार बनेका पौडेल कांग्रेसका चिनिएका नेता हुन्। यद्यपि यसपटक भने उनी महाधिवेशन प्रतिनिधिमै पराजित भए।

चितवनको जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएका उनी खुल्लातर्फ १० जनामा अटाएनन्। 'उहाँको मत एकदम कम थियो, वडाबाट प्रतिनिधिमा सहमति गरेर आउनुभएको हो,' चितवन जिल्ला कार्यसमितिका एक सदस्यले भने। पार्टीबाटै अस्विकार गरेका व्यक्तिको बागी उम्मेदवारीले खासै चुनावमा खासै असर नपर्ने ती नेताले दाबी गरे।

क्षेत्रीय प्रतिनिधिमा भने सहमतिमै उनी चयन भएका थिए। २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख बनेका पौडेल राष्ट्रिय सभाको सदस्यसमेत बनिसकेका छन्।

चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्तामध्येका एक हुन्। हाल पौडेल क्याम्पस संचालक समितिका अध्यक्ष हुन्।

जसले जगन्नाथले साथ दिइरहेका छन्

२०४९ मा कांग्रेस चितवन सभापति भएका कृष्णलाल सापकोटा जगन्नाथको पक्षमा उभिएका बलिया पात्र हुन्। ८४ वर्षीय उनी अहिले हरेक दिन जगन्नाथको चुनावी सभामा पुग्छन् र घरदैलोमासमेत सामेल हुन्छन्। जगन्नाथको पक्षमा उभिएका अर्का पात्र हुन् भीमबहादुर श्रेष्ठ। पूर्वसांसद्समेत रहेका श्रेष्ठ पौडेलको चुनावी अभियानमा वक्ताका रुपमा देखिन्छन्। घरदैलोमा पुग्छन्।

सामाजिक अभियन्ता मीना खरेल पनि जगन्नाथको पक्षमा उभिएकी छिन्। कांग्रेसको १४औँ महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित खरेल पौडेलको पक्षमा उभिएकी हुन्। यसैगरी कांग्रेस चितवनका पूर्वसभापति टीकाराम न्यौपाने पनि पौडेलको पक्षमा खुलेका छन्। यसैगरी नेपाल तरूण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्यालले पनि पौडेललाई साथ दिइरहेका छन्। पौडेलको पक्षमा वकालत गर्न उनी पौडेलको चुनावी सभामासमेत पुगेका छन्।

उम्मेदवारहरुको दाबी : मेयरदेखि सदस्यसम्मै गठबन्धनले जित्छ

नेविसंघ चितवनका पूर्व जिल्ला अध्यक्षसमेत रहेका दीपक दवाडी वडा २३ का वडाध्यक्षका उम्मेदवार हुन्। कुनै गडबढी नभए मेयरदेखि वडा सदस्यसम्मै गठबन्धनको उम्मेदरले जित्ने उनले दाबी गरे। जगन्नाथ कांग्रेसको सिनियर मान्छे भए पनि पार्टीको चेन अफ कमान्ड मान्ने भएकोले मेयरमा रेनु दाहाल जित्ने उनको दाबी रह्यो। 'जगन्नाथ पौडेल पार्टीकै सिनियर मान्छे हो। तर मतदाताबीचमा त गठबन्धनकै निर्णयलाई मान्नुपर्ने हुन्छ। रेनु दाहाललाई नै जिताउने गरी हामी लागेका छौं,' उनले भने, 'उपमेयर हाम्रो उम्मेदवार हुनुहुन्छ। २० वडाको नेतृत्व पनि कांग्रेसले पाएको छ।'

केही दिनअघि वातावरण अर्को भए पनि अहिले जितको वातावरण बन्दै आएको उनले बताए। 'जित्ने वातावरण बन्दै भएको छ। गठबन्धनमा कतै गडबड नभए एउटा सदस्य पनि हार्दैनन्,' उनले भने।

महानगरमा तालमेल भए पनि वडा २३ भने तालमेल हुन नसकेको वडा हो। यद्यपि माओवादी र कांग्रेसको तालमेल भएको भएर आफ्नो जितसमेत सुनिश्चित भएको उनले बताए। 'नेविसंघ जिल्ला अध्यक्ष भएर पनि काम गरेका वडाबासीले भरोसा गर्नुभएको छ। सामाजिक काममा लागेको छु। त्यसैले जित आफ्नै पक्षमा आउँछ भन्नेमा ढुक्का छु,' उनले भने।

वडा ७ मा वडाध्यक्षका उम्मेदवार हुन् राजेन्द्रमान काफ्ले। एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनी यसअघि एमालेबाट यसै वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले पनि यसपटक मेयरमा रेनु नै जित्ने दाबी गरे। 'मेयरमा वागीले केही भोट काट्ला तर गठबन्धन नै बलियो छ। मेयर रेनु दाहालको आफ्नै मत राम्रो छ,' काफ्लेले भने। बरु आफ्नो वडामा जितका लागि राम्रै प्रतिस्पर्धा हुने उनको अनुमान छ। 'हाम्रो वडामा पनि टफ हुन्छ होला। यद्यपि यस वडामा मत धेरै छ गठबन्धनको,' काफ्ले भन्छन्, वडामा मैले धेरै मिहिनेत गरी काम गरेको छु। पहिले १५ मतान्तरले कांग्रेसको उम्मेदवारलाई हराएर जितेको। अहिले तीन वटा बलिया दलको थप मत पाउँदैछु। त्यसैले जित्नेमा ढुक्क छु।'

गठबन्धनबाट उपप्रुमखको उम्मेदवार हुन् कांग्रेसका चित्रसेन अधिकारी। भरतपुर महानगर कांग्रेसका सभापतिसमेत रहेका अधिकारीले पौडेलको उम्मेदवारीले केही असर देखिन सक्ने बताए।

'केही न केही त प्रभाव पार्छ नै। विगतको घटना हेर्दा पनि देखिन्छ नै,' अधिकारीले भने।

तर अहिले गठबन्धनको पक्षमा माहोल बनिसकेको उनले दाबी गरे। गठबन्धन जित्नेमा ढुक्क हुँदै उनले भने, 'कांग्रेसका कर्मठ कार्यकर्ताले केन्द्रको कुरा मान्छन्। त्यसैले गठबन्धनले जित्छ भन्नेमा हामी ढुक्क छौं।'

वडा तहमै तालमेल गरेर जाने सहमति भएकोले गठबन्धनले सहज जित निकाल्ने उनको दाबी रह्यो।

थरीथरी दाबी

कांग्रेसबाट बागी बनेका उम्मेदवारलाई असन्तुष्ट कांग्रेसको मत जाँदा बलियो प्रतिद्वन्द्वी दल एमालेलाई घाटा लाग्ने तर्क चल्न थालेको छ। बागी नउठ्दा ती मत एमालेको पक्षमा जाने र एमाले उम्मेदवारलाई फाइदा हुने हुँदा पौडेलको उम्मेदवारीले रेनुलाई नै लाभ हुने आँकलन उनीहरुको छ। एमालेबाट फुटेको एकीकृत समाजवादीका साथै जनता समाजवादी पार्टी र कांग्रेसका मूलधारका मतदाताका साथै मेयर हुँदा भरतपुरमा ५ वर्षमा गरेको विकासका कारण रेनु फेरि जित्ने तर्क उनीहरुको छ। रेनु आफ्नो जितका लागि आक्रामक प्रचारमा लागेकी छिन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवादेखि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रेनुको जितका लागि लबिइङ गर्न भरतपुरमा आमसभामा उत्रे।

तर, भरतपुरमा भड्किएका कांग्रेसको मत तान्न एमालेका उम्मेदवार सुवेदीले शुरुदेखि नै ‘स्टन्ट’ सुरु गरिसकेका छन्। कांग्रेसले आफ्नो आदर्श बीपी कोइरालालाई मान्दै आएको छ। बीपीको आदर्श वर्तमान कांग्रेस कार्यकर्ताले बिर्सदैं गएको आरोप लाग्दै आएको छ। यही बुझ्दै कांग्रेसका असन्तुष्ट मतदाता आफूतिर आकर्षित गराउन सुवेदी उम्मेदवारी दर्ताको दिन बिपीको सालिकमा माला लगाउन पुगेका थिए। यद्यपि आइतवार उनले चुनावी सभामा आफू निर्वाचित भए भारतीय नेता अरविन्द केजरीवाल र नितिन गड्करीलाई भेट्ने चाहना व्यक्त गरे। ‘म नगर प्रमुखमा निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जान्छु। त्यहाँ गएर केजरीवाल भेट्न चाहन्छु, नितिन गड्करीलाई भेट्न चाहन्छु। उहाँहरुले गरेको राम्रो काम सिक्छु, र उहाँलाई पनि ल्याउँछु,’ मतदाता आकर्षित गर्न उनले भने।

२०७४ को निर्वाचनमा रेनुले ४३ हजार १२७ मत पाउँदा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए। राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ पाएका थिए।

यता, उपप्रमुखमा कांग्रेसकी पार्वती शाह ठकुरी ४७ हजार १९७ मत पाउँदै निर्वाचित भएकी थिइन् भने एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत पाएकी थिइन्। उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी रिना गुरुङले ७ हजार २५२ मत पाएकी थिइन्। अघिल्लपटक भन्दा यसपटक मतदाता ३५ हजार ४७८ बढेको छ। अहिले कुल १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ। थपिएका मतदाताको ‘मुड’ के हो? यो विषयले पनि जित हारको टुंगो अहिले नै लगाउन मुश्किल देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell