आर्थिक संकटमा फसेको श्रीलंकामा राजनीतिक संकट पनि चुलिएको छ। प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा दिएपछि कोलम्बो लगायतका शहरमा हिंसात्मक प्रदर्शन भएका छन्।
राजापाक्षेलाई अहिले विद्रोहीहरुबाट बचाउन सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेको छ। सोमबार राति विपक्षीहरुले राजापाक्षेको घर जलाएका थिए। यस्तै, अन्य मन्त्रीहरुको घर समेत जलाइएको छ।
श्रीलंका अहिले आर्थिक हिसाबले खराब स्थितिमा छ। खाना र इन्धनको कमी, बिजुलीमा कटौती र महँगीले नराम्ररी प्रभावित भएको छ। स्वतन्त्रतापछिकै खराब आर्थिक स्थितिमा पुगेको श्रीलंका विरोध प्रदर्शन उग्रहुँदै गर्दा मन्त्रीहरुको घर जलाउन पनि पछि परिरहेका छैनन्।
सोमवार श्रीलंकाका विभिन्न भागमा मन्त्री र सांसदहरु प्रदर्शनकारीको आक्रोशको सिकार हुन पुगे। जसमा श्रीलंका पेरामुना (एलएलपीपी)का सांसद बंडुला गुणबर्धने, प्रसन्ना रणतुंगा, चन्ना जयसुमना, कोकिला गुणबर्धना, अरुंडिका फर्नान्डो, थिसा कुटियाराची, कनका हेराथ, पवित्रा वन्नियाराचीलगायतको घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए। त्यस्तै सरकारविरोधी प्रदर्शकारीले मेयर समनलाल फर्नान्डो, सांसदहरु सनथ निशान्त, महिपाल हेराथ, थिसा कुट्टियाराची, रमेश पथिराना, निमल लान्जालगायतको घरमा आगजनी गरेका थिए।
सबै तस्विर : डेली मिरर