PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

के देउवा भरतपुर गएपछि जगन्नाथ पौडेलको साथ लाग्‍ने कांग्रेसीहरु 'पछि हटेका' हुन्? कृष्णलाल भन्छन् : कार्यकर्ताहरु डराए



नेत्र तामाङ

के देउवा भरतपुर गएपछि जगन्नाथ पौडेलको साथ लाग्‍ने कांग्रेसीहरु 'पछि हटेका' हुन्? कृष्णलाल भन्छन् : कार्यकर्ताहरु डराए
कृष्णलाल सापकोटा। फोटो : Synergy Online

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा चुनावी माहोल थप तातिएको छ। गठबन्धनविरुद्ध कांग्रेस नेता  जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि यहाँको मतपरिणाम कस्तो हुने हो भन्ने चासो धेरैलाई लागेको छ। यहाँ गठबन्धनबाट रेनु दाहाल मेयरको उम्मेदवार छिन्। माओवादीकी उनी यसअघि पनि कांग्रेसको समर्थनमा मेयरमा निर्वाचित भएकी थिइन्। 

यसपटक पनि पाँच दलीय गठबन्धनबीच तालमेल भयो। कांग्रेसले रेनुलाई उम्मेदवार बनाएपछि यहाँका कांग्रेस नेता कार्यकर्ता रुष्ट बने।

अघिल्लोपटक  माओवादीलाई छाडेपछि यसपटक कांग्रेसलाई मेयर छाड्नुपर्ने जोडबल भरतपुर कांग्रेसको थियो। तर तालमेलको जिम्मा कांग्रेस केन्द्रले पाएको थियो। केन्द्रबाट मेयरमा माओवादीलाई र उपमेयरमा कांग्रेसलाई भागबण्डा गर्‍यो। केन्द्रबाट जिल्लाको निर्णय लादेपछि यहाँका कांग्रेस कार्यकर्ता रुष्ट बने। 

'जगन्नाथ पौडेल सिनियर मान्छे हो। असन्तुष्टि पहिलेबाटै थियो। तीव्र असन्तुष्टि भनेको उम्मेदवारीपछि हो,' नाम उल्लेख नगर्ने शर्तमा कांग्रेसका एक मतदाताले भने, 'पहिल्यै भनेको भए राम्रो हुन्थ्यो। अहिले कार्यकर्ताबिच निराशा छाएको छ।' 

कांग्रेसभित्रै असन्तुष्टि बढेपछि भरतपुरको रिस साम्य पार्न बालुवाटारदेखि खुमलटारसम्म सक्रिय बन्यो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणदेखि राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाए। उनीहरुबाट पार लाग्ने अवस्था नदेखेपछि वैशाख २१ गते साँझ आफैले भेट्न खोजे। तर जगन्नाथको टोलीले देउवालाई पनि टेरेनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले सिराईचुली होटलमा बोलाएर सहमतिको कुरा निकाले। तर आफूहरु धेरै अगाडि बढिसकेको उल्लेख गर्दै सिराईचुली होटलबाट चुनावी सभामा लागे। 

भोलिपल्ट वैशाख २२ गतेको चुनावी सभामा चितवनका कांग्रेस नेता टेकप्रसाद गुरुङले संयुक्त चुनावी सभामा कांग्रेसको असन्तुष्टि पोखे। ‘जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठजी पनि साथमा हुनुहुन्छ। छलफल हुनुपर्ने हो। १६ गते अघि नै छलफल गर्नुपर्ने हो। १२ गतेभन्दा अघि नै हुनुपर्ने हो,’ गुरुङले भने, ‘बेलैमा हुनुपर्ने हो। यो कुरामा कांग्रेस केन्द्रीय नेताहरु चुक्नुभएको छ। केन्द्रीय नेताहरुले कदम चाल्नुपर्ने देख्छु।’

गुरुङले लिएकोमध्ये कृष्णलाल सापकोटा कांग्रेसका पाका  र चर्चित नेता हुन्। उनी जगन्नाथका प्रस्तावकसमेत हुन्। स्वतन्त्रबाट उम्मेदवारी दिए पनि जगन्नाथ कांग्रेसको उम्मेदवार भएको सापकोटा बताउँछन्।   

'मैले पनि ७० वर्ष भयो लोकतन्त्रको लागि राजनीति गरेको हो,' सापकोटाले भने, 'जगन्नाथ कांग्रेसको उम्मेदवार हो। उहाँको माहोल राम्रो छ।'

२०४९ सालमा चितवन कांग्रेसको जिल्ला सभापति रहेका सापकोटा ८४  वर्ष पुगेका छन्। भरतपुरमा कांग्रेसले मेयर पद नपाउने निश्चित भएपछि अरुले बागी उमेदवारी नदिए आफैँले उमेदवारी दर्ता गराउने चेतावनी उनले दिँदै आएका थिए। जगन्नाथको उम्मेदवारी पछि उनी हरेक दिन चुनावी भेलामा सहभागी हुँदै आएका छन्। कांग्रेस केन्द्रले बागीसहित प्रस्तावक र समर्थकलाई समेत साधारण सदस्यतासमेत नरहने गरी निष्काशन गरिसकेको छ। तर आफूले अझै कांग्रेस नछाडेको सापकोटाले बताए।

'हामीले कांग्रेस छाडेको छैन। मेयरबाहेक अरु सबैमा कांग्रेसको उम्मेदवारलाई मत दिने हो,' उनले भने। यतिमात्र हैन उनले जगन्नाथले जित्ने दाबीसमेत गरे। भने, 'हाम्रो आंकलन जगन्नाथले जित्छ भन्ने हो।'

जगन्नाथले जित्ने आधार के त? 

'धेरै मान्छेको सहानुभूति  छ हामीलाई,' सापकोटाले भने। यतिमात्र हैन अरु पार्टीको मतसमेत जगन्नाथलाई आउने उनले दाबी गरे। 'विश्व हिन्दु महासंघले सपोर्ट गर्ने कुरा छ। एमालेबाट पनि मत आउँछ। त्यहाँ पनि विवाद छ नि कांग्रेसमा जस्तो बाहिर नआउनेमात्र हो। माओवादीमा पनि त्यस्तै होला,' सापकोटाले भने, 'काठमाडौंबाट राप्रपाका झन्डा बोक्नेहरु आएर जगन्नाथलाई नै मत हाल्ने भनेर वाचा गरेका छन्।'

तर गठबन्धनको पक्षमा माहोल बन्दै गएको भन्छन् त?

यसबारे भने सापकोटाले कांग्रेसको शैली सात सालमा फर्केको आरोप लगाए। 'नेपाली कांग्रेसले ७ सालमा क्रान्ति गरेर राणा शासन फाल्यो। राणा शासनमा माथिबाटै शासन चल्थ्यो। पञ्चायत आयो। पञ्चायतले पनि राम्रो गरेन। फेरि संघर्ष गरेर पञ्चायत फालेर हामीले चाहिने मान्छेलाई रोज्ने व्यवस्था ल्यायौं,' उनले भने, 'तर हाम्रो नेताहरुलाई त्यो मन परेन। हाम्रो नेताहरुले बालुवाटारबाट फलना मान्छे नेता चाहिन्छ। भोट हाल्नुपर्छ भनेर लागे। प्रधानमन्त्री पनि आउँछन् बालुवाटारबाट तोकेको मान्छे जिताउन भनेर।'

भरतपुरमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उत्रेपछि कांग्रेसीहरु डराएको उनले स्वीकारे। 'शेरबहादुर देउवा भरतपुर आएपछि कांग्रेसका केही मान्छेहरु डराएका छन्,' सापकोटाले भने। केही पाउने आशमा उनीहरु डराएको सापकोटाको भनाई रह्यो।

यसले त जगन्नाथको उम्मेदवारीलाई असर होला नि? 'एकथरी डराएका छन्। तर अर्को थरी थपिएका छन् नि,' जवाफमा उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell