
काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न स्रोतसाधनहरु परिचालित भइसकेको गृह मन्त्रालयले जनाएको छ। सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
उनले स्थानीय तहको निर्वाचनका लागि राज्यले सुरक्षा व्यवस्थापन गरिसकेको समेत बताए। पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुने बताए।
‘सरकारी स्तरबाट सम्पूर्ण स्रोत साधनहरु निर्वाचनमा परिचालित गरेका छौँ। प्रत्येक जिल्लामा हाम्रो सम्पूर्ण सुरक्षा परिचालित भएको अवस्था छ,’ उनले भने, ‘आम नागरिक, नागरिक समाजले पनि सुरक्षामा चासो राखेर कतै निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन, हामी सबैले निर्वाचनलाई सघाउनुपर्छ भनेर लाग्नुभएको हुँदा अहिले राज्य नै निर्वाचनमय भएको छ।’