PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

फिलिपिन्सको चुनाव : मार्कोसका छोरा राष्ट्रपति र डुटेर्टेकी छोरी उपराष्ट्रपतिमा निर्वाचित



पहिलोपोस्ट

फिलिपिन्सको चुनाव : मार्कोसका छोरा राष्ट्रपति र डुटेर्टेकी छोरी उपराष्ट्रपतिमा निर्वाचित
Photo: Ezra Acayan/Getty Images

मनिला : फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

कठोर शासकका रुपमा चिनिएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाएका थिए। दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उनीहरुका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मंगलवार विजयी भएका छन्।

राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएका र त्यो सङ्ख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए।

नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमवार देशभरी मतदान भएको थियो। त्यस अन्तर्गत एक/एक जना राष्ट्र्पति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन्।

मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ।

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाएका थिए। कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए।

पूर्व सिनेटर समेत रहेका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नेछन्। अहिलेका राष्ट्रपतिको ६ बर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरु भएका छन्।

फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिएका थिए। निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell