
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पाँच हजार मान्छे मारिएको आरोप लगाएका छन्। काठमाडौंको असनमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ओलीको कार्यकालमा कोभिड-१९ को समयमा पाँच हजार मान्छे मर्न बाध्य भएको आरोप लगाएका हुन्।
'कोभिडको बेला ९४०० मान्छेको जीवन गयो। मेरो परिवारकोमात्र चार जना सदस्य गुमाएको छु,' थापाले भने, 'स्वास्थ्य मन्त्रालयमा काम गरेको अनुभवको आधारका भन्न सक्छु। ४ हजार अथवा ४५ सय मान्छे जोगाउन सकिँदैन होला। तर ५००० मान्छे मारिएका हुन्। ती ५००० मान्छे जोगाउन सकिन्थ्यो।'
कोभिड-१९ को बेला ओली नेतृत्वको सरकारले मास्कदेखि पीपीईसम्म भ्रष्टाचार गरी जनतालाई मृत्युवरण गराउन बाध्य बनाएको उनले आरोप लगाए।
'नेपालको सरकार चलाउनेले मास्कमा, पीपीईमा, स्वास्थ्य सामग्रीमा भ्रष्टचार गर्ने? अपराधीले पनि त्यत्रो महामारी लागेको बेलामा चोरले पनि आफ्नो भन्सार खोलेर दिन्छ भन्छ महामारी लागेको बेला,' उनले भने, 'जतिबेला हामीले काठमाडौंमा मास्क पाएका थिएनौं। मास्कमा पैसा खाने सरकार। कतार र मलेसियामा अलपत्र बनेर बसिरहेका युवकहरुलाई चार्टर फ्लाइटमा ल्याउँदा त्यसमा ठग्ने सरकार। त्यो बेलामा जीवन बचाउन सकिने अवस्थामा ५००० व्यक्तिलाई मृत्युवरण गराउन बाध्य बनाउने सरकार।'
थापाले एमालेले पाँच वर्षमा कुनै पनि राम्रो काम नगरेको दाबी गर्दै पाँच दलीय गठबन्धनलाई जिताउन अपिल गरे।