PahiloPost

Jul 3, 2024 | २० असार २०८१

आचारसंहिता पालना गराउन सूक्ष्म अनुगमन : ५३ जनालाई सोधियो स्पष्टीकरण



पहिलोपोस्ट

आचारसंहिता पालना गराउन सूक्ष्म अनुगमन : ५३ जनालाई सोधियो स्पष्टीकरण
फाइल फोटो।

काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि मंगलवार मध्यरातदेखि सुरु हुँदैछ। मंगलवार प्रमुख दलका शीर्ष नेताहरुसहित सबै उम्मेदवारहरुका अन्तिम चुनावी सभा हुँदैछन्।

आज मध्यरातदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिने छन्। मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबिच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन्।

यस्तोमा निर्वाचन आयोगले विभिन्न स्थानमा राखिएका प्रचारप्रसारका सामग्रीहरु हटाउन आग्रह गरेको छ। आयोगको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया भौतिकसँगै डिजिटल प्रचार सामग्री पनि हटाउन आग्रह समेत गरेका छन्।

‘मौन अवधिमा भौतिक रुपमा राखिएका प्रचार सामग्रीहरु मात्रै होइन डिजिटल रुपमा सामाजिक सञ्जालमा राखिएका प्रचार सामग्री पनि झिकिदिन म आग्रह गर्दछु। पूर्ववत् अवस्थामै गइदिन म अनुरोध गर्दछु,’ उनले भनेका छन्।

त्यस्तै, आचारसंहिता उल्लंघनको सवालमा उनले स्पष्टीकरण सोधिनु पनि कारबाही नै भएको बताए। उनले हालसम्म २०५ वटा विभिन्न आचारसंहिता उल्लंघनको घटनामा ५३ जना व्यक्ति तथा दलहरुलाई स्पष्टीकरण सोधिएको बताए। यसैगरी, १३/१४ संघसंस्थाहरु लाई सचेत गराइएको उनको भनाइ थियो।

आचारसंहिताको पालना गराउन सूक्ष्म रुपमा अनुगमन भइरहेको उनले जानकारी समेत दिए।

मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन।

त्यस्तै, सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell