PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी गर्ने समूह पक्राउ



पहिलोपोस्ट

बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी गर्ने समूह पक्राउ

बुटवलः रुपन्देहीको बुटवलस्थित एक सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत जौहरी मोहल्ला लखनउका ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहारका २५ वर्षीय मोहद जिशान खान र भारत तकिया लखनउका २२ वर्षीय मो सारिक रहेको प्रहरीले जनाएको छ।

उक्त समूहले वैशाख १२ गते राति बुटवल उपमहानगरपालिका ६ विपी चोकस्थित डिलबहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलको सटर र पसलभित्रको लकर (सेफ) फोडेर सुन,  तयारी गहना र नगदसमेत गरि पाँच करोड बढी चोरेर भागेका थिए। उनी

हरुलाई सोमबार साँझ रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ४ महुवारीस्थित खुनगाई-कालीदह सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।

प्रहरीलाई शंका लागेपछि भारतीय नम्बर प्लेट यूपी ३२ एलडब्लु ३१५१ गाडी चेकजाँच गरि उनीहरुलाई पक्राउ गरिएको थियो। प्रहरीले उनीहरुका साथबाट १०/१० ग्रामको सुनको बिस्कुट २ थान, २० ग्रामको सुनको बिस्कुट १ थान, गरगहना गालेर डल्लो बनाएको सुनको ढिक्का १ थान, सुनको पैसाको सिक्का आकारको गोलो १ थान, मोबाइल ३ थान, नगद भारतीय रुपैयाँ ६ हजार, आधार कार्ड, एटिएम कार्ड फेला पारेको छ।

पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell