PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

कुखुराको मासुको खपत दुई वर्ष यताकै उच्च, आपूर्ति कम हुँदा बढ्दो माग धान्नै मुस्किल



सरला सुवेदी

कुखुराको मासुको खपत दुई वर्ष यताकै उच्च, आपूर्ति कम हुँदा बढ्दो माग धान्नै मुस्किल

काठमाडौं: कुखुराको मासुको खपत झण्डै दुई वर्ष यताकै उच्च भएको छ। कोभिडका कारण झन्डै ५० प्रतिशतले घटेको मासुको खपत अहिले पुरानो लयमा फर्कन लागेको हो । यतिबेला दैनिक देशभर करिब ८ लाख केजीभन्दा बढी कुखुराको मासुको माग रहेको राष्ट्रिय कुखुरा व्यवसाय संघले जनाएको छ।

केहीसमय देखि कुखुराको मासुको खपत दैनिक करिब साढे पाँच लाख केजी थियो । बैशाख लागेपछि कुखुराको मासुको खपत थप साढे दुई लाख केजी भन्दा बढी हुन थालेको राष्ट्रिय कुखुरा व्यवसाय संघका अध्यक्ष जंगबहादुर बीसीले बताए ।

'हाल उपत्यकामा मात्र करिब ५ लाख केजी मासुको माग छ। उपत्यकाबाहिर करिब २ लाख ५० हजार केजी मासुको माग रहेको छ।'-उनले भने ।

गत वर्ष सोही अवधिमा कुखुराको मासुको माग ४ देखि ५ लाख केजी थियो । कोभिडका कारण उत्पादन कम हुनका साथै मासुको माग समेत घटेको थियो। सो समयमा उपत्यकामा दैनिक २ लाख केजी र बाहिरका जिल्लामा एक लाख ५० हजार केजी मासुको खपत भएको तथ्यांकले देखाएको छ।

पहिलेको तुलनामा कुखुराको मासुको खपत ७० प्रतिशतसम्म बढेको अध्यक्ष बीसीले जानकारी दिए।

वैशाख लागेपछि मासुको खपत बढेको हो। बिहेको सिजन र विभिन्न संघसस्थाहरुको कार्यक्रमहरु धेरै भएकाले मासुको माग बढेको अध्यक्ष बीसीको भनाइ छ। उनका अनुसार लामो समयपछि बजारमा मासुको खपतमा सुधार आएको छ।

माग बढे पनि बजारमा मासुको आपूर्तिमा भने समस्या देखिन थालेको उनले बताए। 'उपत्यका बाहिरका जिल्लामा बर्डफ्लुका कारण ठूलो परिमाणमा कुखुराहरु मरेका छन् । माग बढ्ने समयमा मासुको आपूर्ति घट्न थालेको छ । हाल स्थानीय चुनावले गर्दा किसानले उत्पादन गरेको कुखुरा बजारसम्म आइपुग्न सकेको छैन । चुनावले मासुको खपत अझै बढ्ने देखिएको छ । यसले गर्दा बजारमा मासुको मूल्य अझै बढ्न सक्छ।'- उनले दाबी गरे।

अण्डाको उत्पादन पनि घट्यो

गर्मीको सिजन सुरु भएपछि कुखुरा मर्ने क्रम बढ्न थालेको अण्डा उत्पादक संघले जनाएको छ । बढी जाडो र बढी गर्मीको समयमा चल्ला र कुखुरा बढी मर्ने गर्छन्। यसले अण्डाको उत्पादन घट्न थालेको अण्डा उत्पादन संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए।

चितवन र हेटौंडामा किसानले पालेका कुखुरामा बर्डफ्लु भएपछि त्यसको असर अण्डाको उत्पादनमा परेको छ। अहिले अण्डाको उत्पादन र खपत कति छ भनेर यकिन भन्न सक्ने अवस्था नभएको केसीको भनाइ छ।

गत वर्ष करिब २८ लाख वटा अण्डाको उत्पादन भएको थियो। कोभिडले अण्डाको उत्पादन घटेर ३६ लाख अण्डाबाट २८ लाखमा आइपुगेको थियो। केही महिनाअघि अण्डाको उत्पादन पुन: बढेर दैनिक ३५ लाख भन्दा बढी हुन थालेको थियो।

'गर्मीले प्यारेन्ट कुखुरा मर्दा उत्पादन घटेको छ। बजारको माग अनुसारको आपूर्ति नहुँदा मूल्य बढ्ने नै हुन्छ।'- उनले आगामी दिनमा अण्डाको मूल्य पनि बढ्ने संकेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell