PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नाकामा भिडभाड, शहर चाहिँ सुनसान : हेर्नुस् चुनावमा घर जानेको लर्को

नाकामा भिडभाड, शहर चाहिँ सुनसान : हेर्नुस् चुनावमा घर जानेको लर्को

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : स्थानीय तहको चुनावका लागि काठमाडौं उपत्यकाबाट घर फर्कँनेको संख्या बढ्दा नाकामा भिड लागेको छ। अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न नाकाबाट साविकभन्दा धेरै सवारी साधनबाट मानिस बाहिरिने गरेका छन्।

काठमाडौंबाट बाहिरिनेको सङ्ख्या दैनिक भित्रिनेको तुलनामा धेरै भएकाले पनि काठमाडौं उपत्यकाको सडकमा केही खुकुलो सवारी साधन देखिएको हो। अहिले दैनिक काठमाडौं उपत्यकाबाट ५० हजार भन्दा धेरै यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भिड देख्न सकिन्छ। काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ। विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन्।

निर्वाचनको कारणले गर्दा पनि तुलनात्मक रुपमा सडकमा कम सवारी भएको हुनसक्ने महाशाखाका एसएसपी उमेशराज जोशीले बताए।

'अहिले पहिलेको तुलनामा सडकमा कम सवारी देखिन्छ। औशत दैनिक ५० हजार भन्दा धेरै मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएको देखिन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेशराज जोशीले भने।

५/६ दिनको अवधिमा काठमाडौंबाट करिब ४ लाख मानिस बाहिरिएको प्रहरीको तथ्याङ्कले देखाएको छ। त्यस्तै, निर्वाचनको महोल सुरु भएपछि दैनिक गाउँ फर्किनेक्रम बढेको देखिन्थ्यो। सरकारले निर्वाचनको लागि वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ। त्यसपछि पनि लगातार ४ दिनसम्म सार्वजनिक बिदा परेको छ। निर्वाचन र सार्वजनिक बिदा लगातार परेकाले सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीका लागि पनि निर्वाचनमा घर फर्किने वातावारण बनेको छ।

केही दिनदेखि ३० प्रतिशतले साना तथा ठुला सवारीको बुकिङ बढेको नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौंलाले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell