
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकामा २ जनाको शव फेला परेको छ।
आज बिहान मनहरी गाउँपालिका वडा नम्बर ७ को मनहरी बजार र वडा नम्बर ९ को रजैयामा गरी एक/एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनले दुवै शव मृतकको घरमा नै भेटिएको बताए।
मनहरी बजारका ५७ वर्षीय राजुप्रसाद रौनियार गएराति आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक थापाले रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए। उनले शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको बताए।
यसैगरी, मनहरीकै रजैयामा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ। प्रहरी निरीक्षक थापाका अनुसार स्थानीय ४२ वर्षीया अनिता गौपाली आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
गौपाली आफ्नै घरमा एक्लै बस्दै आएको र आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थापाले बताए। उनले घटनाको आवश्यक अनुसन्धान भइरहेको बताए।