काठमाडौं : काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एउटा जहाजको दुईमध्ये एक इन्जिन फेल भएको छ। इन्जिन फेल भएको जहाजलाई पुनः काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको छ।
बिहान काठमाडौंबाट उडेको क्यू-४०० सिरिजको जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। जहाजमा समस्या आएलगत्तै फर्काएर विमानस्थलमा सहजै अवतरण गरिएको उनले जानकारी दिए।
‘जहाजलाई आकस्मिक अवतरण गराउने कुरा थियो। एउटा इन्जिनमा फल्स इन्डिकेटर आएको जानकारी पाइएको छ। प्रायोरिटी बेस अवतरण गराइएको छ’, श्री एयरका प्रवक्ता अनिल मानन्धरले भने, ‘क्यानसहितका प्राविधिकले चेकजाँच सुरु गरेका छन्।’
उनका अनुसार नाइन एन-एएनएफ कलसाइनको जहाजको बिहान ११:१५ बजे काठमाडौं-धनगढी उडान तालिका थियो। यतिखेर जहाजलाई पार्किङमा ल्याएर कम्पनी र प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण सुरु गरेको जनाइएको छ।