PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

स्थानीय तह निर्वाचनमा मधेश प्रदेश : साढे ६ हजार पदका लागि करिब ४१ हजार उम्मेदवार 



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनमा मधेश प्रदेश : साढे ६ हजार पदका लागि करिब ४१ हजार उम्मेदवार 

काठमाडौं :  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशमा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन्। प्रदेशमा ६ हजार ६२७ पदका लागि करिब ४१ हजार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

बैशाख ११ र १२ गते सम्पन्न मनोनयन दर्ता समायवधीमा मनोनयन दर्ता गराएका ४० हजार ९२४ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। 

आगामी ५ वर्षका लागि आफ्ना जनप्रतिनिधि चयन गर्नका लागि वैशाख २९ गते १८ वर्ष पुगेका प्रदेशका ३३ लाख ३१ हजार १७० जना मतदाताको सूची आयोगले अध्यावधिक गरेको छ। यी मतदाताहरुले प्रदेशका दुई हजार १६३ मतदान स्थलमा बनेका चार हजार १८९ मतदान केन्द्रमा गएर मतदान गर्ने छन्। 

प्रदेशमा १५ लाख ३३ हजार १५८ महिला, १७ लाख ९७ हजार ९४५ पुरुष र ६७ अन्य लैंगीक समूहका मतदाता रहेका छन्।

कति छन् उम्मेदवार?

मधेश प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका र ७३ नगरपालिकाका लागि ७७/७७ प्रमुख र उपप्रमुखका लागि मतदान हुँदैछ। प्रमुख पदका लागि एक हजार ४२० जनाको मनोनयन दर्ता छ। त्यस्तै उपप्रमुखमा भने ६८४ जना मात्र प्रतिस्पर्धामा छन्। 

त्यस्तै ५९ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि क्रमश: ८९३ र ४७९ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। 

प्रदेशमा रहेका कुल एक हजार २७१ वडाका वडाध्यक्षका लागि ९ हजार ४२० जनाको उम्मेदवारी परेको छ। महिला वडा सदस्यका लागि ७ हजार ८ र दलित महिला वडा सदस्यका लागि ६ हजार ६७१ जना प्रतिस्पर्धामा छन्। खुला वडा सदस्यका २ हजार ८४० जनाका लागि १४ हजार ३४९ जना प्रतिस्पर्धामा छन्। मधेश प्रदेशका स्थानीय तहमा उम्मेदवार मध्ये १५ हजार ७८० जना महिला र २५ हजार १४४ जना पुरुष छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell