PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मकवानपुरका ४ मतदान केन्द्रमा सबै कर्मचारी महिला



पहिलोपोस्ट

मकवानपुरका ४ मतदान केन्द्रमा सबै कर्मचारी महिला

हेटौंडा :  बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका चार केन्द्रमा सबै कर्मचारी महिलालाई खटाइएको छ। जिल्लामा मतदान अधिकृतसहित १८ सय कर्मचारी खटिएका छन्। जसमध्ये चार केन्द्रमा सबै महिला कर्मचारी खटिएका हुन्। 

हेटौंडा-२ स्थित सिद्धार्थ मावि मतदानस्थलको मतदान केन्द्र‘घ’ मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा ४ जना महिला कर्मचारी खटाइएको छ। त्यस्तै हेटौंडा-१२ स्थित महेन्द्र मावि मतदानस्थलको मतदान केन्द्र ‘घ’ मा पनि शान्तिमाया मोक्तानको नेतृत्वमा खटिने सबै कर्मचारी महिला रहेको मुख्य निर्वाचन अधिकृत दिल्लिरत्न श्रेष्ठले जानकारी दिए। 

हेटौंडा-९ स्थित प्रगती मा.विमा मतदानस्थलको मतदान केन्द्र ‘ङ’ मा शारदा कुमारीको नेतृत्वमा खटिने सबै कर्मचारी पनि महिला छन्। हेटौंडा–१० स्थित टीसीएन भवन मतदानस्थलको मतदान केन्द्र ‘ग’मा मतदान अधिकृत सुनिता सुवेदीको नेतृत्वमा महिला कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार महिलाहरु नै भनेर नखटाइएको त्यसैगरी पर्दा महिलाको समुह बनेको जानकारी दिए। मकवानपुरका १० स्थानीय तहका १०२ वडामा १६५ मतदानस्थल छन्। ती मतदानस्थलमा ३५६ मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।  
मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मंगलबार बेलुका नै केन्द्रमा पुगेर बुधवार १० बजेदेखि नयाँ मतदाताहरुको परिचयपत्र वितरण सुरु गरेका छन्। निर्वाचन आयोगबाट प्राप्त मतदान सामग्री र मतदाता परिचयपत्रको प्याकेज बनाई पठाउने काम भइरहेको निर्वाचन आयोगको वाग्मती प्रदेश कार्यालय प्रमुख लुम्बनाथ अधिकारीले बताए। 

उनका अनुसार मकवानपुरका लागि ३ लाख २५ हजार मतपत्र आएको छ। ५ सय जनासम्म मतदाता रहेको केन्द्रमा ७ जना कर्मचारी र ५ सयभन्दा बढी मतदाता रहेको केन्द्रमा ८ जना कर्मचारी खटाइएको छ। निर्वाचनका लागि जिल्लाभर कुल १ हजार ७७२ जना कर्मचारी खटिएको अधिकारीले जानकारी दिए। 

त्यस्तै जिल्लाभर निर्वाचन सुरक्षाका लागि ३२ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। शुक्रबार हुने निर्वाचनका लागि मकवानपुरमा २ लाख ९४ हजार ९१९ जना मतदाताको नाम अध्यावधिक गरिएको छ। वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका १ लाख ४९ हजार ९५४ जना पुरुष, १ लाख ४४ हजार ९५९ जना महिला र ६ जना अन्य समूहका मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell