PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

छटपटिएका गणेश थापाको एन्फा अध्यक्ष शेर्पालाई आरोप पुष्टि गर्न चुनौती, भन्छन्: आत्महत्याको पनि सोच आयो



मुकुन्द घिमिरे

छटपटिएका गणेश थापाको एन्फा अध्यक्ष शेर्पालाई आरोप पुष्टि गर्न चुनौती, भन्छन्: आत्महत्याको पनि सोच आयो

काठमाडौं: फागुन २७ गते भारोत्तोलन १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी खेलाडी सञ्जु चौधरी मृत फेला परिन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको बताएको छ। त्यसको भोलिपल्ट नेपाली फुटबल टोलीका पूर्व सदस्य र अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पत्रकार सम्मेलन गर्दै सञ्जुको विषयलाई जोडे। चौधरीलाई श्रद्धाञ्जली दिँदै 'पीडा' के हो? त्यो ब्यहोर्नेलाई मात्र थाहा हुने तर्क गरे।

'पीडा जसलाई पर्छ उसलाई मात्र थाहा हुन्छ। मैले सात वर्षदेखि नगरेको गल्तीको सजाय भोग्नुपरेको छ। म मा पनि त्यस्ता सोच नआएका थिएनन्,' पत्रकार सम्मेलन सुरु गर्दै-गर्दा भावुक बनेका थापाले भने।

सामाजिक सञ्जालमार्फत उनले सधैंजसो गर्ने गरेको तर्कलाई दोहोर्‍याउँदै एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफूमाथि लगाएको तर्फ पुष्टि गर्न चुनौती दिए। उनी आफैँले शेर्पाले उनीमाथि विभिन्न समयमा लगाएका १४ वटा आरोपको सूची बनाएर त्यसमध्ये कुनै एउटा मात्र पुष्टि गरे आफूले फुटबलको कुरा गर्न छाड्ने दाबी गरे।

थापा त्यतिकैमा रोकिएनन्, शेर्पाले विभिन्न समयमा सार्वजनिक रूपमा र सञ्चार माध्यममा बोलेको क्लिप प्रस्तुत गर्दै आफूमाथि लगाएको आरोपमा शेर्पाले कार्यसमितिमा माफी पनि मागेको र पछि कुरा उल्टाएको दाबी गरे।

'निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको एन्फाको कार्यसमिति बैठकमा उहाँले संवैधानिक आयोगको निर्णय मान्दै आफूले गरेका भ्रमपूर्ण प्रचारबाजीका निमित्त माफी माग्नुभएको थियो। जसलाई मैले सहजतापूर्वक लिएको थिएँ,' उनले दाबी गरेका छन्, 'तर तुरुन्तै उहाँले माफी मागेको छैन भनेर एन्फाको औपचारिक बैठकमा बोलेको कुरा फिर्ता लिनुभयो। उहाँले मेरा विषयमा विभिन्न मिडियाले राखेका प्रश्नमा अख्तियारले तामेलीमा राखेको छ भन्नेजस्तो र सार्वजनिक लेखा समितिले कारबाही गर्‍यो, फिफाले पनि कारबाही गर्‍यो भन्नेजस्ता भ्रमपूर्ण अभिव्यक्ति दिने क्रमलाई अझैसम्म रोक्नुभएको छैन।'

थापाले शेर्पालाई 'सार्वजनिक लेखा समितिले मलाई कहाँ कारबाही गरेको छ? फिफाले मलाई गरेको कारबाही तपाईँले लगाएका आरोपका आधारमा हो? अख्तियारले गरेको निर्णय तपाईँलाई चित्त नबुझेको भए यति लामो समयसम्म तपाईं के हेरेर बसिरहनुभएको छ?' भन्ने प्रश्न तेर्स्याएका छन्।

उनले या त आफूमाथि लागेको आरोप पुष्टि गरेर आफूलाई सजाय दिलाउन या झुटो आरोप लगाएमा मानहानी गरेकोमा सजाय बेहोर्न चुनौती दिएका छन्।

थापाले एन्फाको चुनाव नजिकिँदै गर्दा यी कुराहरू उठाएर चुनावको माहौल प्रभावित गरेको हो भन्ने प्रश्नलाई न स्वीकार गर्न सके न त अस्वीकार नै। अब जेठ ३ गतेपछि राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय, फिफा, मानव अधिकारलगायत सबैतिर आफूले उजुरी गर्ने थापाले बताए।

गणेश थापा नेपाली खेल क्षेत्रमा नयाँ नाम हैन। एन्फाको पनि थापाले पटक-पटक नेतृत्व गरिसकेका छन्। राष्ट्रिय खेलाडी हुँदै एन्फा नेतृत्वमा पुगेका उनले एएफसीसम्म राम्रै पहुँच बनाए।

एसियाली फुटबल महासंघ (एएफसी) को नेतृत्व चयनमा घुस लेनदेनको विषय बाहिर आएपछि थापा निलम्बनमा परे। एएफसीको निलम्बनमा परे पनि घरेलु फुटबललाई आफ्नो पकडमा राख्न थापाले तिकडम जारी राखे।

विवाद चुलिँदै जाँदा थापा दाजु कमल थापाको जोडबलमा संविधानसभा सदस्य बने। तर थापा यस्ता बहालवाला सदस्य हुन्, जो संसदीय समितिको कठघरामा उभिए। संविधानसभा सदस्य रहेको बखत अख्तियार र संसदीय समितिको छानबिनमा परे।

राजनीतिको छहारीले थापाको ओरालो लागेको खेलकुदको ग्राफ थाम्न कुनै टेवा दिएन। बरु थप अप्ठ्यारोमा परे।

एन्फाको राजनीतिले लामो समय संसदीय समितिमा स्थान पाइरह्यो।

राष्ट्रिय खेलाडीका रूपमा थापाले बनाएको चरित्र एकाएक अनियमितता र अपारदर्शी व्यक्तित्वको चित्रमा परिणत बन्यो। आर्थिक अनियमितताको आरोप अधिकारप्राप्त निकायले हालसम्म पुष्टि नगरे पनि जनमानसको अदालतमा थापा अहिले पनि ट्रायलमै छन्। करिब २० वर्ष नेपाली फुटबलको नेतृत्व गरेका थापालाई आर्थिक अनियमितताको आरोप लाग्यो। एकलौटी ढङ्गले नेतृत्व लिएको पनि आरोप थियो। यद्यपि, उनले आफूमाथिको आरोप पुष्टि गर्न अझै चुनौती दिँदै आएका छन्।

थापाले नै सूचीकृत गरेको शेर्पाले उनीमाथि लगाएको आरोप

१. गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरूले दिएको रकम पनि अडिटमा नदेखाएको र ठूलो आर्थिक अनियमितता भएको।

२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको ८ करोड रुपैयाँ गैरकानुनी तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम ब्याजमा लगाएको।

३. एन्फालाई आएको रकम आफ्नो श्रीमती र छोराहरूको नाममा राखी अनियमितता गरेको।

४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपैयाँको स्रोत नखुलेको।

५. साथी भन्ने संस्थालाई १ लाख ५० हजार डलर दिएको।

६. एन्फाको रकम ३२ प्रतिशतमा ब्याजमा लगाएको।

७. रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको।

८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको।

९. कतार फुटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको।

१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको।

११. साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको।

१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र मलाई जेलमा हाल्ने।
१३. अरेन्ज प्रोजेक्ट र सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको।

१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा एउटा २ करोड १८ लाखको हिसाब देखाएको तर फिफामा करिब ३ करोडको हिसाब पेश गरेको र त्यसमध्येबाट ४० लाख रुपैयाँ खेलाडी कल्याण कोषमा हालेर करिब ६० लाख रुपैयाँ हिनामिना गरेको ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell