
काठमाडौं : सोमवार साँझ बुटवलमा नेकपा (एमाले)का उम्मेदवार सवार गाडीमा आक्रमण भयो। साँझ प्रचार प्रसारका क्रममा बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष पदका उम्मेदवार देवीप्रसाद रेग्मीमाथि आक्रमण भएको थियो। आक्रमणमा उनी सवार बा २० च ६७८५ नम्बरको गाडीमा क्षति पुगेको छ।
नयाँ गाउँ मावि नजिकै प्रचारमा हिँडेका रेग्मीको गाडीमा एक्कासी ढुङ्गा प्रहार भएको थियो। ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको थियो। गाडीमा उम्मेदवार रेग्मीसहित पार्टी जिल्ला सदस्य सोमबहादुर विक र चालक प्रदीप भट्टराई थिए। स्थानीय प्रत्यक्षदर्शीका अनुसार स्कुटरमा आएका व्यक्तिहरूले ढुङ्गा हानेर भागेको थिए। ढुङ्गा हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यसको केही दिन अघि मात्र रोल्पामा माडी गाउँपालिका–३ तालाबाङमा नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ता बिच झडप भयो। झडपमा परेर कांग्रेसका वडा अध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भए। तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कँनेक्रममा झडप भएको हो। डाँगीलाई रड प्रहार गरिएको थियो।
बाटोमा डाँगी चढेको गाडी नियन्त्रणमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ। आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए थिए। झडपलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। अहिले यो घटनाको अनुसन्धान भइरहेको छ।
शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचन अगाडिदेखि नै देशभर टिकट वितरण गर्दा पार्टीभित्र र उम्मेदवारी दर्तापछि एक अर्का उम्मेदवारमाथि आक्रमणका श्रृखला भइरहेका छन्। यस्ता राजनीतिक दलभित्र भएका झडपहरूलाई सुरक्षा निकायले पनि थप कानुनी उपचारको बाटोभन्दा पनि राजनीतिक एजेन्डा भनेर नजर अन्दाज गरेको देखिन्छ। त्यस्तै चुनावमा स्वास्थ्य प्रतिस्पर्धाभन्दा यस्ता किसिमका गतिविधिले देशमा अशान्तिसँगै शान्ति सुरक्षामा प्रश्न खडा गर्ने गरेको छ।
टिकट बाँड्ने क्रममा काभ्रेमा काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिकाका मेयर आकांक्षी रोशन पाण्डेमाथि आक्रमण भयो। कांग्रेसका कुन्साङ लामाले पाण्डेमाथि आक्रमण गरेका थिए। चुनावको टिकटको विषयमा भएको आक्रमणलाई प्रहरीले नजरअन्दाज नै गर्यो। यस घटनामा आक्रमण गर्नेलाई कारबाही भएन। त्यस्तै कांग्रेसमा टिकटको विषलाई लिएर पोखरामा पनि विवाद भयो। पोखराको सभापति कार्यालयमा नै तालाबन्दीमा उत्रिए। यस्ता गतिविधि देशभित्र भई नै रहे। वैशाख ११ गतेदेखि २७ गतेसम्म देशभर ६ वटा ठाउँमा निर्वाचनको विषयलाई लिएर तालाबन्दी भएको देखिएको छ। वाग्मती प्रदेशमा ३ र गण्डकीमा २ र प्रदेश नम्बर १ मा तालाबन्दी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। ३ ठाउँमा चक्काजाम भएको छ।
वीरगन्ज महानगरपालिकाको एमाले तर्फबाट मेयरको चुनाव लगिरहेका विजयकुमार सरावगीलाई वीरगन्ज १६ नगरावासीले घेरा हाली एक घरमा थुन्ने प्रयास भएको घटना पनि बाहिरियो। जिल्ला प्रहरी कार्यालय पर्साको उद्धार टोलीले सरावगीलाई उद्धार गरी उनको चिनीमिल अगाडिको घरमा ल्याएको थियो। तर यस घटनाको अनुसन्धान प्रहरीले पनि अन्य सामान्य घटना झै हुन सकेको छैन।
६२ ठाउँमा कुटपिट झैँ - झगडा, ४३ जना प्रदर्शनकारी समातिए
उम्मेदवारी दर्ता भएपछि देशका विभिन्न ठाउँमा झडप, विवाद र तोडफोडका घटना भइरहे। जसमा प्रदर्शनदेखि तालाबन्दी जस्ता घटनामा प्रहरीले केही मानिसलाई नियन्त्रणमा समेत लियो। देशको १६ स्थानमा तोडफोड भएको प्रहरीले जानकारी दिएको छ। सबैभन्दा धेरै ५ ठाउँमा वागमती प्रदेशमा तोडफोड भएको देखिन्छ। वैशाख ११ गतेदेखि उम्मेदवारी दर्ता भएपछि झै- झगडा विवाद र कुटपिट भएको देखिन्छ। काठमाडौं उपत्यकाभित्र बाहेक ६२ ठाउँमा यस्ता गतिविधि भएको छ। कर्णाली प्रदेशका विभिन्न २४ स्थानमा झै- झगडा, कुटपिट भएको देखिन्छ। मधेश प्रदेशमा ८, वागमतीमा ७, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ८, सुदूर पश्चिमा ९ र प्रदेश नम्बर १ स्थानमा यस्ता गतिविधि भएका छ।
शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी पार्टी लगायत पाँच दलीय गठबन्धन बनाएर चुनावमा उत्रिएका छन्। नेकपा एमाले केही स्थानमा अन्य पार्टीसँग सहकार्य गरेको छ। यसरी गठबन्धन बनाएर चुनावमा उत्रिएपछि यसको विरोधमा पनि प्रर्दशनका कार्यक्रमहरू यही तीन साताको अवधिमा भएको देखिएको छ। १६ ठाउँमा गठबन्धनको विरोधका कार्यक्रम भएको छ। यस्ता सबै प्रकारको गतिविधिमा संलग्न भएकामध्ये अनुसन्धानको लागि ४३ जनालाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए।
निर्वाचनको सुरक्षाको लागि खटिएका म्यादी प्रहरीदेखि नेपाल प्रहरी समेत विभिन्न प्रदर्शन लगायत अन्य गतिविधिमा घाइते भएका छन्। त्यसो त सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु समेत भएको छ। २३ जना म्यादी प्रहरी र १९ जना प्रहरी १६ दिनको अवधिमा घाइते भएका छन्।