PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोदीको लुम्बिनी भ्रमणका लागि १० दिनमै तयार पारियो चारवटा हेलिप्याड, ८० लाख रुपैयाँ गरियो खर्च



वसन्तराज उप्रेती

मोदीको लुम्बिनी भ्रमणका लागि १० दिनमै तयार पारियो चारवटा हेलिप्याड, ८० लाख रुपैयाँ गरियो खर्च

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणका लागि तयारी तीब्र बनाइएको छ। मोदीको भ्रमण तय भएसँगै त्यसलाई सहज बनाउनका लागि भनेर रातारात पूर्वाधारहरु तयार पारिँदै छन्।

यही क्रममा लुम्बिनी विकास कोषले पनि १० दिनको अवधिमै हेलिप्याड तयार पारेको छ, त्यो पनि एउटा मात्र होइन, चार-चारवटा। 

प्रधानमन्त्री मोदीले आगामी जेठ २ मा लुम्बिनी भ्रमण गर्दै छन्। लुम्बिनी विकास कोषले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिने गरी मोदीले दिल्लीबाट सोझै लुम्बिनीको भ्रमण गर्न लागेका हुन्।

यही क्रममा मोदी भ्रमणलाई सहज बनाउनका लागि भनेर लुम्बिनी विकास कोषले ८० लाख रुपैयाँ खर्चिएर चारवटा हेलिप्याड १० दिनमै तयार पाएको कोषका एक अधिकारीले जानकारी दिए।

'हेलिप्याडमा सेक्युरिटी, स्टाण्डर्ड डिजाइनको काम सकिइसकेको छ। टायल लगाउने, सरसफाइ गर्ने लगायतका काम बाँकी रहेको छ,' कोषका ती अधिकारीले भने। उनका अनुसार यी चार हेलिप्याड लुम्बिनी गुरुयोजनाअन्तर्गतकै हिस्सा हो। 

उनी भन्छन्, 'गुरुयोजनामा सडक संजालदेखि हेलिप्याड बनाउनेसम्मका योजना छन्। अहिले ठूला किसिमका हेलिकोप्टरहरु पनि आउने भएका कारण उक्त योजनामा केही संशोधन गरेर हेलिप्याड निर्माणको योजनालाई पूर्वनिर्धारित समय तालिकाभन्दा अगाडि तानेर काममा तीब्रता दिइएको हो।'

यसअन्तर्गत चारवटा हेलिप्याडसँगै, फुटपाथ, ड्रेन लगायत तयार गरिएको उनले जानकारी दिए। गुरुयोजनाअन्तर्गतका यी कामका लागि कोषले खानी अर्घखाँची बाबु निर्माण सेवालाई ठेक्का दिएको थियो। 

हेलिप्याडको निर्माण कोषको खर्चमा गरिएको भए पनि यसको मोनिटरिङ र सर्टिफिकेशन भने नागरिक उड्डयन प्राधिकरणले नै गर्ने जनाइएको छ।      

लुम्बिनी गुरुयोजनाका लागि सरकारले चालु आर्थिक वर्षलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्टाएको थियो। कोषका अनुसार हालसम्म करिब ८४ करोड रुपैयाँ खर्च भइसकेको छ।   

भारतीय प्रधानमन्री  मोदी बुद्ध जयन्तीको दिन पारेर लुम्बिनीमा आयोजना हुने कार्यक्रममा नेपाल आउने तयारी भइरहेको छ। उक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाँदै छन्। देउवाको निमन्त्रणामा नै मोदी नेपाल आउन लागेका हुन्। 

उनी नेपाल आउनु पाँच दिनअघि नै  चारवटा बुलेट प्रुफ गाडीसहित इण्डियन एयरफोर्सका विशेष सुरक्षाकर्मी तयारीका लागि भैरहवा आइसकेका छन्।

गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि जेठ २ गते नै उद्घाटन हुन लागेको छ। तर मोदीले विमानस्थल उद्घाटन कार्यक्रम भने अवलोकन गर्ने तालिका नरहेको जनाइएको छ। प्रधानमन्त्रीस्तरीय समन्वय भएको अवस्थामा भने मोदीले विमानस्थल अवलोकन गर्ने सम्भावना रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell