काठमाडौं: पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनमा एउटा नारा निकै चर्चित थियो - ‘गाउँगाउँमा सिंहदरबार’। काठमाडौंमा रहेको राणाकालीन सिंहदरबारबाट शासित वर्गलाई स्थानीय तहमै सरकारको अनुभूति दिने बाचा थियो त्यतिखेर। अनि देशभर ७ सय ५३ स्थानीय तहमा पहिलोपटक बन्यो सरकार।
सरकार त बन्यो, कहिँकतै भवनकै रुपमा 'सिंहदरबार' पनि ठडिए। तर गाउँका मानिसलाई काठमाडौंको सिंहदरबार जति टाढा थियो, ती विशाल कायाका भवनहरु धेरै परको बन्न पुग्यो।
जनप्रतिनिधिबाट जनताले राख्ने आशा एउटा थियो – स्थानीय समस्याको समाधान। तर, धेरै जनप्रतिनिधि बुँख्या:चा (खेतबारीमा चरा तर्साउन राखिने मानवजस्तो आकृति) बाहेक बन्न सकेनन्।
स्थानीयको भन्दा पार्टीको निर्देशन ठूलो बन्यो उनीहरुका लागि। स्थानीयलाई अवसरभन्दा आफ्नै आसेपासेलाई मौका दिन उनीहरु तल्लिन रहे। धेरै स्थानीय तहले यिनैखाले बेतिथिमा बिताए आफ्नो ५ वर्षे कार्यकाल। हो, स्थानीय तहको राजनीतिमा देखिएका परिदृश्यलाई खोकनाका कृष्णभक्त डंगोलले चित्रमा उतारेका छन्। उनले जनप्रतिनिधिलाई ‘बुँख्याचा’ बनाए र त्यसमा कला भरे।
+++
सुनौलो काठको फ्रेम। फ्रेममाथि एउटा काग। र, अर्को काग बुँख्याचाको हातमाथि बसिरहेको। बाली बचाउन बुँख्याचा राख्ने भए पनि उसले कागलाई धपाउन सकेको छैन किन भने ऊ त्यो सुनौलो काठको फ्रेमबाट बाहिर निस्कन सकेको छैन। त्यो फ्रेम नै उसको परिधि हो। ऊ बाहिर निस्कने प्रयास गर्छ। तर, सक्दैन। काग आउँछ बाली खान्छ। ऊ केही गर्दैन।
सुनौलो काठको फ्रेमलाई कमिलाले खाइरहेको हुन्छ। ती कमिला राजनीतिक दलका कार्यकर्ता जस्तै लाग्छन्। अझ भनौं अवसरवादी कार्यकर्ता जो जनप्रतिनिधिलाई आफ्नो इशारामा चलाउन खोज्दैछन्। त्यसैले उनीहरु बुँख्याचा बनिरहेको जनप्रतिनिधिलाई परिधिबाट ल्याउन खोजिरहेका छन्।
कृष्णभक्तले खोकनामै देखेको सुनेको घटनाहरुलाई चित्रमा उतारेका हुन्।
सरकारले खोकनाको खुदोलमा काठमाडौं - तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को प्रवेशविन्दु (जिरो प्वाइन्ट) बनाउने गरी योजना तयार पारेको थियो। जसको विरोधमा स्थानीयहरु उत्रिएका थिए। किसानहरु विरोध गरिरहँदा त्यहाँ डङ्गोल पनि थिए। एक्कासी खुदोल रणभूमिमा परिणत भयो। प्रहरीले आन्दोलनमा उत्रिएका किसानमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गर्यो। दुवैतर्फबाट ढुंगामुढा भयो। त्यही रणभूमिमा उनी पनि थिए। ज्यान बचाउन उनी पनि भाग्नुपर्यो त्यो भिडबाट।
त्यहीँबाट पनि जनप्रतिनिधिहरुले वर्षौंदेखिका समस्या समाधान गर्न नसकेको थप अनुभूति भयो उनलाई। यिनै कुराहरुलाई आधार मानेर उनले आफ्नो चित्रमा खोकनाको विरहलाग्दो वास्तविकता उतारे।
‘त्यहाँका मान्छेहरुले हामीले छानेको व्यक्ति बुँख्याचा जस्तो भयो भन्न थाले। हामीले पनि जनप्रतिनिधिहरु समाजलाई समस्या आउँदा समाधान गरोस् भन्नेर छानेको हो,' उनले भने, 'तर पछि जनप्रतिनिधि बुँख्याचा जस्तै भए। किसानले बुँख्याचा चरा चुराचरुङ्गीबाट अन्न बचाउन राख्छ। उनीहरुले आफ्नै लागि गरे। समाजको लागि गरेनन्।’
कृष्णभक्तलाई थाहा छ उनले चलाउने ब्रसमा तोडफोडमा फ्याँकिने ढुंगाको भन्दा धेरै शक्ति छ।
‘म विरोधमा जान सक्दिन। खुडोलमा भएको झडपले मलाई खेद्यो र मैले पेन्टिङ बनाएँ,’ उनले भने, ‘हुलमुलमा गएर ढुंगा हान्नैपर्छ भन्ने छैन। मैले ब्रसबाट गर्ने हो। ढुंगाभन्दा ब्रस रुचाउँछु। स्किल र ब्रसमा पावरफू म्यासेज हुन्छ।’
खोकनामा फास्ट ट्र्याकको विरोध गरिरहेका त्यहाँका स्थानीयवासी तब ‘विद्रोही’ भए जब खोकनाको ‘खाली जग्गा’ देखेर सरकारले १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटालाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालन गर्ने रणनीति ल्यायो। यी सबै आयोजना एकै ठाउँ संचालन गरेर खोकना नै समाप्त पार्न सरकार लागेको स्थानीयको आरोप छ।
कृष्णभक्त यही समस्यालाई आफूले चित्रमा उतारेको बताउँछन्। स्थानीय समस्यालाई देखाउन विरोधको शैली फेरे सबैलाई बुझाउन सक्ने उनको मत छ।
त्यसैले आफ्नै घरको इट्टाहरुमा किसानहरुको संस्कृति र इतिहास प्रस्तुत गरेका थिए उनले। किसान खेतमा काम गर्दा हुने व्यस्तता र डोजर आतंकलाई पनि चित्रमा उतारेका छन् उनले।
‘आन्दोलन हुँदा किसान लड्यो। त्यही लाई चित्रमा उतारेको हो। किसानसँग औजार धेरै हुन्छ। तर उठाउँदैन। खेतमा मात्र प्रयोग हुन्छ,’ उनले भने। कृष्णभक्त अब आउने स्थानीय तह जनप्रतिनिधि बुँख्याचा नबनोस् भन्ने इच्छा राख्छन्।