PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

मुस्लिम आयोगका अध्यक्षलाई किन लाग्यो पैसा बाँडेको आरोप? एमालेको किचलोले सुरेन्द्रसमेत परे प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

मुस्लिम आयोगका अध्यक्षलाई किन लाग्यो पैसा बाँडेको आरोप? एमालेको किचलोले सुरेन्द्रसमेत परे प्रहरी नियन्त्रणमा

  • प्रकाश भण्डारी/सुमित मिश्र-

काठमाडौं : मुस्लिम आयोगका अध्यक्ष सलिम मिया अन्सारीलाई नेकपा एमालेले आफ्ना पार्टीका उम्मेदवारबिरुद्ध पैसा बाँडेको आरोप लगाएको छ। धनुषाको सीता शरण होटलको कोठा नम्बर ३ सय ५ मा बसेर एमालेका जनकपुरधाम उपमहानगरका मेयर पदका उम्मेदवार शिव शंकर साहलाई हराउन पैसा बाँडेको आरोप उनीमाथि लगाएको हो। अन्सारीले होटलमा बसेर पैसा वितरण गरेको भन्दै एमालेका जनकपुरधाम उममहानगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रहरीलाई खबर गरे। भण्डारीले एमालेका उम्मेदवार साहलाई हराउन स्वतन्त्र उम्मेदवार जानकी राम साहको पक्षबाट अन्सारीले पैसा बाँडेको आरोप लगाएका थिए। पैसा बाँडेको भन्दै प्रहरी पुग्नुअघि एमालेका कार्यकर्ताले अन्सारी बसेको होटलको कोठा घेरा हाले। कार्यकर्ताले घेरा हालेपछि प्रहरीले अन्सारीलाई सुरक्षा दिएर निकाल्यो। एमालेका कार्यकर्ताले अन्सारीविरुद्ध नाराबाजी गरे।

भण्डारी नै परे पक्राउ

अन्सारीलाई घेरा हाल्न पुगेका भण्डारी आफै अहिले प्रहरीको नियन्त्रणमा परे। उनलाई प्रहरीले एक घण्टासम्म नियन्त्रणमा लिएको थियो। 'मलाई पनि प्रहरीले हिड्नुस् भनेपछि म गएँ। अहिले छोडिसकेको छ,' भण्डारीले भने। भण्डारीलाई जिल्ला प्रहरी कार्यालय लगिएकोमा अन्सारीलाई भने प्रहरीले जनकपुरधाम विमानस्थल लगेको थियो।

एमालेका नेता कार्यकर्ताले दुई तीन दिनदेखि नै अन्सारी होटलमा बसेको थाहा पाएपछि अन्सारीविरुद्ध खनिएका थिए। अन्सारी एमालेको घेरामा परेपछि प्रहरीले भने सुरक्षा व्यवस्था कडा पारेर उनलाई होटलबाट निकालेको थियो।

एमालेका नेता कार्यकर्ताले अन्सारीको झोला जाँच गर्न माग गरेका थिए। तर, प्रहरीले अन्सारकीको झोला र बसेको कोठा नै जाँच नगरेको भण्डारीको आरोप छ। 'उहाँको कोठा पनि जाँच गर्नुपर्यो भनेका थियौं तर प्रहरीले जाँच नै नगरेर छोडेको छ,'भण्डारीको भनाइ छ।

प्रहरीले किन गरेन अन्सारीलाई पक्राउ?

धनुषाका प्रहरी उपरीक्षक बसन्त रौजेरेले अध्यक्ष अन्सारी संवैधानिक निकायका सदस्य भएकाले आरोपको आधारमा जाँच तथा छानविन गर्न नमिल्ने बताए।

‘अध्यक्ष अन्सारी विशेष कामले जनकपुरधाम आउनु भएको थियो। त्यसक्रममा एमाले निकट प्रदेश सभा सदस्यहरुसँग भेटघाट गरेको हो। एमालेकै एक समुह। उहाँ ती होटलमा खाना खाने क्रममा पैसा बाँडिरहेको अफवाह फैलाएर होटल घेराउ गरिएको थियो,'उनले भने।

निर्वाचन कार्यालयमा कसैले उजुरी दिए सोसम्बन्धी छानविन गर्ने अधिकार निर्वाचन आयोगलाई भएको रोजौरेले बताए।

यता नगर कमिटीका अध्यक्ष भण्डारीले अध्यक्ष अन्सारीले गलत कार्य गरेकाले विरोध गरेको दाबी गरे। उनले भने, ‘अध्यक्ष अन्सारीले पार्टी विरोधी गतिविधिमा देखिएको र रकमसमेत उनले वितरण गरिरहेको हुनाले हामीले विरोध गर्दै प्रहरीलाई बोलाएका थियौँ, तर प्रहरीले भने मलाई पनि सोधपुछका लागि भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर एक घण्टासम्म कुराकानी गर्‍यो र अहिले छाडेको हो।’

किन लाग्यो अन्सारीलाई आरोप?

२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र कीर्ते गरेको उजुरी परेको थियो जसलाई संसदीय समितिले टुंगोमा पुर्‍याउन नसक्दा स्वत: उनको नियुक्ति सदर भएको थियो। तर उनी नै एमालेको उम्मेदवारलाई हराउन लागेको एमालेको भण्डारी पक्षको आरोप छ।

जानकिरामको र सुरेन्द्रको द्वन्द्व

जनता समाजवादी पार्टी जसपा विभाजनका बेला लोकतन्त्रिक समाजवादी पार्टी लोसपामा लागेका थिए जानकिराम। तर उनी चुनावअघि लोसपामा रहन सकेनन्। कारण उनी एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्न चाहन्थे। पछि उनी एमाले प्रवेश गरे। तर एमालेले उनलाई टिकट दिएन। टिकट नपाएको झोंकमा उनी स्वतन्त्र तर्फबाट उम्मेदवार छन्। एमालेका उम्मेदवार साहलाई हराउन उनले मत काट्न सक्ने भन्दै एमालेका नेता कार्यकर्ता सशंकित बनेका छन्। उनै जानकिरामलाई साथ दिएर एमालेका उम्मेदवार साहलाई हराउन अन्सारी लागेको एमालेको आरोप छ। उक्त आरोपका कारण अन्सारी बिहीवार एमालेका कार्यकर्ताको घेरामा परे।

चरित्र हत्या भयो : अन्सारी

प्रहरीको सुरक्षामा सीता शरण होटल हुँदै जनकपुर विमानस्थलबाट सीधै काठमाडौं उत्रेका अन्सारीले भने आफूलाई पैसा बाँडेको आरोप लगाएर चरित्र हत्या गरेको दाबी गरेका छन्। उनले फेसबुकमार्फत आफूलाई होटलमा आएर केही व्यक्तिले अभद्र व्यवहार गरेको बताएका छन्। उनले आफूलाई प्रहरीले पक्राउ गरेको भन्ने समाचार झुटो भएको बताए। 'नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयासको बावजुद केही गुण्डाहरुले जनकपुरको सीता शरण होटलमा आएर अभद्र व्यवहार गरेको र सुरक्षाकर्मीले सुरक्षा दिएर अहिले काठमाडौं पुगिसकेको छु। प्रहरीले पक्राउ गरेको भन्ने गलत खबर हो,' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell