
काठमाडौँ: शुक्रबार हुने मतदानबाट कर्णाली प्रदेशले तीन हजार ७४८ जन प्रतिनिधि पाउने छ। कर्णालीका २५ नगरपालिका प्रमुख/उपप्रमुख तथा ५४ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहित ७१८ वडाध्यक्ष र ती वडाहरुमा चार जनाका दरले २ हजार ८७२ जना वडा सदस्यका लागि निर्वाचन हुँदैछ।
कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्। जसमध्ये चार लाख ९५ हजार ९९ महिला, पाँच लाख ६ हजार १८० पुरुष र ३ जना अन्य लैंगिक समुदायका मतदाता रहेका छन्।
कर्णाली प्रदेशमा ९०७ वटा मतदान स्थलमा रहेका एक हजार ३८५ मतदान केन्द्रमार्फत मतदान हुँदैछ।
कति छन् उम्मेदवार?
कर्णाली प्रदेशमा तीन हजार ७४८ पदका लागि १२ हजार ५९६ जना चुनावी मैदानमा छन्।
जसमध्ये २५ नगरपालिकाका प्रमुखका लागि १४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै १२२ जनाले उपप्रमुखका लागि मनोनयन दर्ता गराएका छन्।
त्यस्तै ५४ गाउँपालिकाका अध्यक्षका लागि २४८ र उपाध्यक्षका लागि २२७ जनाको मनोनयन कायम छ। कर्णाली प्रदेशमा रहेका ७१८ वडाका वडाध्यक्षका लागि दुई हजार ७५९ जना चुनावी प्रतिस्पर्धामा छन्।
हरेक वडामा दुई जना खुला सदस्यका लागि कर्णालीमा चार हजार ७८५ जना चुनावी मैदानमा छन्। कर्णालीमा ७१८ महिला सदस्यका लागि दुई हजार ३१७ जना र दलित महिला सदस्यका लागि एक हजार ९९७ जनाको उम्मेदवारी छ। कर्णाली प्रदेशमा रहेका १२ हजार ५९६ उम्मेदवारमध्ये चार हजार ८७७ महिला र सात हजार ६९२ पुरुष छन्।