काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल आउने भएका छन्। जेठ २ गते सोमबार बुद्ध जयन्ती समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले वक्तव्य जारी गर्दै मोदीको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल आउन लागेका मोदी सवार हेलिकप्टर सोझै लुम्बिनीमा अवतरण गर्नेछ। मोदी त्यहाँ बुद्ध जयन्तीको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले लुम्बिनी स्थित बुद्ध जन्मभूमिमा मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ। त्यस्तै त्यहाँ निर्माण हुन लागेको बुद्धिस्ट कल्चरल एण्ड हेरिटेज सेन्टरको शिलान्यास कार्यक्रममा पनि मोदी सहभागी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। यो क्षेत्र भारतको इन्टरनेशनल बुद्धिस्ट कन्फेडरेशनलाई संरचना निर्माणका लागि दिइएको क्षेत्र हो। त्यहाँ भारतीय लगानीमै सेन्टर निर्माण हुनेछ। उनले अन्तर्राष्ट्रिय बौद्ध मेडसटेसन सेन्टरमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै मोदीको नेपाल भ्रमणका क्रममा परराष्ट्र मन्त्री नारायण खड्काले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सो क्रममा दुई देशका प्रधानमन्त्री बिच द्विपक्षीय भेटवार्ता पनि हुनेछ। प्रधानमन्त्री देउवाले मोदीको सम्मानमा दिवा भोज आयोजना गर्नेछन्। मोदीको यो भारतीय प्रधानमन्त्रीको रुपमा नेपालको पाँचौँ भ्रमण हो। यस भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने मन्त्रालयले विश्वास लिएको छ।
मोदी सोमवार भारतको कुशिनगरमा विमानबाट आएर त्यहाँ देखि लुम्बिनीसम्म हेलिकप्टरमा आउने छन्। त्यसका लागि लुम्बिनीमा चार वटा हेलिप्याड तयार पारिएको छ।