PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मतदान अधिकृतमाथि कुटपिटको आरोपमा सई भट्ट निलम्बित



पहिलोपोस्ट

मतदान अधिकृतमाथि कुटपिटको आरोपमा सई भट्ट निलम्बित

सुर्खेतः निर्वाचन सुरक्षामा खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरिएको छ। इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत भट्टलाई निलम्बन गरिएको हो।

सुर्खेतको पञ्चपुरी नगरपालिका ७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको गुनासो आएसँगै भट्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएका थियो।

प्रहरी नियमावली २०७१ विपरीत आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको भन्दै उनलाई थप जाँचबुझ एवं छानबिन गर्न ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा दोषी पाइएपछि उनलाई निलम्बन गरिएको हो।

बुधबार राति ११ बजेतिर मदिरा सेवन गरी मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप उनीमाथि लगाइएको छ। गाउँमा हतियार देखाउँदै त्रसित बनाएको स्थानीयबासीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell