PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जय निर्वाचन : मत दिनुस्, नागरिकको दायित्व पूरा गर्नुस् [सम्पादकीय]



पहिलोपोस्ट

जय निर्वाचन : मत दिनुस्, नागरिकको दायित्व पूरा गर्नुस् [सम्पादकीय]

आज स्थानीय तहको दोस्रो निर्वाचन हुन गइरहेको छ। प्रत्येक ५ वर्षमा हुने यो राष्ट्रिय महोत्सवमा सक्रियताका साथ सहभागी हुन हामी सबै मतदातालाई हार्दिक अनुरोध गर्दछौं। तपाईँको प्रत्येक मतले लोकतान्त्रिक पद्धति बसाउन महत्वपूर्ण योगदान दिनेछ। अर्को ५ वर्षका लागि तपाईँको स्थानीय सरकार निर्धारण हुने पनि हो आज। त्यो तपाईँको सबैभन्दा नजिकको सरकार हुनेछ। स्थानीय तहको कार्यसम्पादनको जन परीक्षणमा सहभागी सबै दललाई हार्दिक शुभकामना र बधाई पनि। जनताको शक्तिको परीक्षण र राजनीतिक दल वा नेताको कार्यसम्पादन मूल्याङ्कन, जनअपेक्षाको परीक्षण र लोकतान्त्रिक अभ्यास संयुक्त रुपमा आज हुँदैछ। जति धेरै संख्यामा जनमत मतपेटिकामा खस्नेछ त्यसले मुलुकको लोकतान्त्रिक प्रणालीलाई उत्ति नै चीर स्थायी बनाउने निश्चित छ। आज यस दिनलाई सफल पार्न सरकार, निर्वाचन आयोग, राजनीतिक दल र तपाईँ सबै मतदाताको मुख्य योगदान रहने छ। आजको निर्वाचनको सफलताले यसै वर्ष हुने प्रदेश र संघीय निर्वाचनको पनि सुनिश्चितता प्रदान गर्नेछ।

आज तय भएको निर्वाचन हुने या नहुने भन्ने विषयमा नै संशय र आशंकाहरु नभएका होइनन्। तर सरकारले संवैधानिक व्यवस्था र कानुनको बर्खिलाप हुने स्थिति आउनुअघि नै निर्वाचन मिति तय गरेर आजको दिनलाई विशेष बनाएको छ। आज यसर्थ पनि खास दिन हो कि – जनताले सबैभन्दा बढी महसुस गर्ने सरकार छान्न जनता आफैँ सहभागी हुनेछन्। आधारभूत विकासका लागि तय हुने स्थायी स्थानीय सरकारले आगामी ५ वर्षको नेतृत्व लिनेछ। यस्तो विशेष महत्वको निर्वाचनमा आजको दिनसम्म आइपुग्दासम्म केही छिट्फुट्का घटनाबाहेक असहज परिस्थिति सिर्जना नहुनु आफैँमा सुखद् विषय हो। मर्यादित रुपमा निर्वाचन पूरा भएर सहज रुपमा मतगणनाका गतिविधि अगाडि बढाउन राजनीतिक दलहरुको पनि भूमिका रहन्छ। उम्मेदवारको मनोनयबाट सुरु भएको पालिका तहको यस निर्वाचनको आजको दिनलाई राजनीतिक दल तथा जनता स्वयमले मर्यादित तबरले उपयोग गर्न आवश्यक छ।

जनमतको कदर स्वभाविक प्रकृया भए पनि मतगणनाका विषयमा सम्भावित दुर्घटनाको जोखिम पनि यथावत छ। त्यस्तो दुर्घटना कम गर्न मत गणनास्थललाई जसरी तारबार गरिएका दृश्य सार्वजनिक भएका छन् त्यसले लोकतान्त्रिक पद्धती र प्रणालीलाई अनुशरण गर्न नेपालीहरुले बाँकी नै रहेको देखाएको छ। विशेषगरी अघिल्लो निर्वाचनमा मतपत्र च्यात्ने र चपाउनेजस्तो उच्छृङल गतिविधि भए। त्यसले लोकतान्त्रिक प्रणाली कति प्रदुषित छ भन्ने देखायो। भरतपुरमा भएको उक्त गतिविधिकै कारण मतगणना हुने स्थलमा तारजाली लगाएर सुरक्षा दिने तयारी भएको छ यसपाला। यसले लोकतान्त्रिक अभ्यासको चरित्रमाथि नै प्रश्न गरेको छ, यस्ता दृश्यले नमीठो छापा छाडिरहेको छ। निर्वाचन अभियानका क्रममा होस् या मौन अवधिमा केही यस्ता घटनाहरु सार्वजनिक भए जुन अपेक्षा गरिएका थिएनन्। त्यसले पनि निर्वाचनजस्तो लोकतान्त्रिक पद्धतिप्रति वितृष्णा जगाउने काम गरिरहेको छ। यस्ता गतिविधि रहेसम्म सही अर्थमा लोकतान्त्रिक प्रणालीले स्थायित्व पाउने छैन।

यति भइरहँदा पनि स्मरण गर्नुपर्छ - २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनपछि जनतासँग दैनिक जोडिने निर्वाचित जनप्रतिनिधि पाउन झन्डै दुई दशक कुर्नुपर्‍यो। त्यसले सिर्जना गरेका विसंगतीहरुलाई हामीले बिर्सियौं भने आज भइरहेको निर्वाचनको मर्म बुझ्न कठिन हुनेछ। पछिल्ला पाँच वर्ष हामीले स्थानीय सरकारको अभाव भोग्न परेन भलै हाम्रो अपेक्षाअनुसार काम भए या भएनन पनि। अपेक्षा आफैँमा सीमाहीन हुन्छ – जति प्राप्‍त भए पनि कम हुन्छ। सबैखाले अपेक्षालाई सम्बोधन गर्नेगरी हामीसँग स्रोत साधन छैन। भएकै स्रोत साधन पनि परिचालन गर्ने क्षमता विकास भइनसकेको पनि हुनसक्छ। तर, पहिलो स्थानीय तहको अनुभवले आजको निर्वाचनबाट चुनिएर आउने नेतृत्वलाई मार्गदर्शन गर्ने भने निश्चित छ। त्यसैले पहिलो भन्दा दोस्रो स्थानीय तहको निर्वाचनले सुखद् परिणाम दिने अपेक्षा गर्न सक्छौं।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि २०४९ साल र २०५४ सालमा लगातार दुई स्थानीय निकायको निर्वाचन भयो। त्यसपछि राजनीतिक उतारचढाव, राजनीतिक अस्थिरता र माओवादी 'जनयुद्ध'ले स्थानीयत निकायको निर्वाचनको नियमित चक्रलाई बिथोल्यो। कर्मचारी शासित स्थानीय तहका कारण न विकासका गतिविधिले स्वरुप लिन सके न त जनाका मुद्दालाई सम्बोधन गर्ने ठाउँ नै कायम रह्यो। त्यस्तो स्थितिको अन्त्य यसअघिको निर्वाचनले गरेको थियो। र, आज हुन गइरहेको दोस्रो स्थानीय तहको निर्वाचनले यस चक्रलाई कायम राख्नेछ। त्यसर्थ पनि आजको दिन विशेष छ। मुलुकका सबै भागमा आज सफल रुपमा निर्वाचन सम्पन्न होस्। सकेसम्म धेरैको सहभागिता रहोस्। र, विकासको गतिलाई अगाडि बढाउन प्रेरित गरोस्।

जय – निर्वाचन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell