PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आजको निर्वाचनमा कहाँ कति र कस्ता उम्मेदवार?



विधुर ढकाल

आजको निर्वाचनमा कहाँ कति र कस्ता उम्मेदवार?

काठमाडौँः देशभरका ७५३ स्थानीय तहमा आज (शुक्रबार) एकैपटक निर्वाचन हुँदैछ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा एकैपटक शुक्रबार निर्वाचन हुँदैछ। 

महानगर, उपमहानगरलगायतका रणनीतिक स्थानमा हालको सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन्। केन्द्रमा सकेसम्म सबै क्षेत्रमा गठबन्धनमा जाने निर्णय भए पनि स्थानीय स्तरमा कतिपय स्थानमा निर्णय कार्यान्वयन भएको छैन। कतिपयमा प्रमुख दलहरु एकल रुपमा निर्वाचनमा होमिएका छन्। धेरै स्थानमा गठबन्धन गरेका छन्। स्थानीय स्तरमा भएका गठबन्धन वर्तमान सत्ता साझेदार दलहरुबीचमा नै बढी छ।  

स्थानीय तह निर्वाचन एकैपटक गर्न मिल्ने वा नमिल्ने राजनीतिक तथा कानुनी झमेलाबीच सरकारले निर्वाचनको मिति तोकेको थियो। तोकिएको मितिमै शुक्रबार निर्वाचन हुन लागेको हो। मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। उक्त समय तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो। दोस्रो कार्यकालका लागि हुन लागेको निर्वाचन एकै चरणमा हुन लागेको हो। 

निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्। 

यो पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्। 

योपटक निर्वाचनमा दुई लाख ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित हुँदैछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसमेत उक्त संख्यामा सुरक्षाकर्मी परिचालन हुन लागेका हुन्। 

अघिल्लो पटक भएको स्थानीय तहका तीनै चरणका निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खसेको थियो। संघीय संरचनामा भएको पहिलो निर्वाचनमा एमाले पहिलो दल बनेको थियो। एमालेले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरेर १० हजार ९१२, कांग्रेस ८ हजार ६७९ र माओवादी केन्द्रले चार हजार १२३ पदमा जीत हासिल गरेका थिए। 

पहिलो पटकको निर्वाचनमा पहिलो भएको एमाले यो पटक भने विभाजित भएर सत्ता गठबन्धनसँगको चुनावी प्रतिस्पर्धामा छ। 

आजको निर्वाचनमा कहाँ कति र कस्ता उम्मेदवार छन् त? हेर्नुस् इन्फोग्राफ्स सहितको विवरण : 

 

प्रदेश १

स्थानीय तह निर्वाचनमा प्रदेश १ मा २१ हजार ५२२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रदेश १ मा एक महानगरपालिका सहित दुई उप-महानगरपालिका र ४६ नगरपालिकाका प्रमुख र उपप्रमुखमा ९८ जना र ८८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १७६ जना निर्वाचित हुँदैछन्। त्यस्तै, यस प्रदेशमा एक हजार १५७ वडाहरुमा वडा अध्यक्ष र चार जना वडा सदस्यहरु समेत निर्वाचित हुनेछन्। प्रदेश १ मा चार हजार ६२८ जना वडा सदस्य निर्वाचित हुनेछन्।

यहाँ ३० गते हुने निर्वाचन मार्फत् ६ हजार ५९ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन्। 

प्रदेश १ मा कुल मतदाता ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन्। जसमध्ये महिला १६ लाख ४७ हजार ५६१ जना महिला र १६ लाख ९९ हजार ८० पुरुष मतदाता रहेका छन्। प्रदेश १ मा २३ जना अन्य लैंगिक समूहका मतदाता रहेका छन्। 

प्रदेश १ मा एक हजार ८७७ वटा मतदान स्थलमा चार हजार ५१ मतदान केन्द्र मार्फत् मतदाताहरुले मत हाल्न पाउने छन्। 

कति छन् उम्मेदवार?

प्रदेश १ मा कुल ६ हजार ५९ पदका लागि हुने निर्वाचनमा २१ हजार ५२२ जना चुनावी मैदानमा उत्रिएका छन्। 

४९ प्रमुखका लागि ३५७ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। त्यस्तै ४९ जना नै उप प्रमुखका लागि २८९ जना चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै ८८ गाउँपालिका अध्यक्षका लागि ४५६ जना र उपाध्यक्षका लागि ३५७ जना चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै एक हजार १५७ वडाका अध्यक्षका लागि चार हजार ७४१ जना चुनावी प्रतिस्पर्धामा छन्। 

त्यस्तै महिला वडा सदस्यका लागि तीन हजार ८१७ जना र दलित महिला वडा सदस्यका लागि ३४५९ जनाको उम्मेदवारी परेको छ। 

दुई जना खुला सदस्यका लागि ८ हजार २८ जनाको उम्मेदवारी परेको छ। प्रदेश १ मा उम्मेदवार मध्ये ३८.१ प्रतिशत महिला र ६१.९ प्रतिशत पुरुष रहेका छन्।

 

मधेश प्रदेश

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशमा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन्। प्रदेशमा ६ हजार ६२७ पदका लागि करिब ४१ हजार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

बैशाख ११ र १२ गते सम्पन्न मनोनयन दर्ता समायवधीमा मनोनयन दर्ता गराएका ४० हजार ९२४ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। 

आगामी ५ वर्षका लागि आफ्ना जनप्रतिनिधि चयन गर्नका लागि वैशाख २९ गते १८ वर्ष पुगेका प्रदेशका ३३ लाख ३१ हजार १७० जना मतदाताको सूची आयोगले अध्यावधिक गरेको छ। यी मतदाताहरुले प्रदेशका दुई हजार १६३ मतदान स्थलमा बनेका चार हजार १८९ मतदान केन्द्रमा गएर मतदान गर्ने छन्। 

प्रदेशमा १५ लाख ३३ हजार १५८ महिला, १७ लाख ९७ हजार ९४५ पुरुष र ६७ अन्य लैंगीक समूहका मतदाता रहेका छन्।

कति छन् उम्मेदवार?

मधेश प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका र ७३ नगरपालिकाका लागि ७७/७७ प्रमुख र उपप्रमुखका लागि मतदान हुँदैछ। प्रमुख पदका लागि एक हजार ४२० जनाको मनोनयन दर्ता छ। त्यस्तै उपप्रमुखमा भने ६८४ जना मात्र प्रतिस्पर्धामा छन्। 

त्यस्तै ५९ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि क्रमश: ८९३ र ४७९ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। 

प्रदेशमा रहेका कुल एक हजार २७१ वडाका वडाध्यक्षका लागि ९ हजार ४२० जनाको उम्मेदवारी परेको छ। महिला वडा सदस्यका लागि ७ हजार ८ र दलित महिला वडा सदस्यका लागि ६ हजार ६७१ जना प्रतिस्पर्धामा छन्। खुला वडा सदस्यका २ हजार ८४० जनाका लागि १४ हजार ३४९ जना प्रतिस्पर्धामा छन्। मधेश प्रदेशका स्थानीय तहमा उम्मेदवार मध्ये १५ हजार ७८० जना महिला र २५ हजार १४४ जना पुरुष छन्। 

 

वाग्मती प्रदेश

शुक्रवार हुने स्थानीय तहको निर्वाचनको मुख्य लडाइको केन्द्र वाग्मती प्रदेश छ। वाग्मती प्रदेशका तीन महानगरपालिकासहितका ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्व चयन गर्नका लागि मतदान हुँदै छ। 

वाग्मती जिल्लाका १३ जिल्लामा रहेका एक हजार ७९२ मतदान स्थलमा रहेका चार हजार ९५ मतदान केन्द्र मार्फत मतदान हुँदै छ। मतदानमा ३४ लाख १२ हजार ८६९ मतदाताले मतदान गर्दै छन्। 

यसपटक वाग्मती प्रदेशमा १७ लाख ७ हजार ९४२ महिला र १७ लाख ४ हजार ८९८ पुरुष तथा २९ जना अन्य लैंगीक समूहका मतदाता रहेका छन्। 

 

वाग्मती प्रदेशमा तीन महानगर, एक उममहानगर र ४१ नगरपालिका ४५ प्रमुख र उपप्रमुख तथा ७४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुँदै छन्। वाग्मतीमा एक हजार १२१ वडाध्यक्ष र चार हजार ४८४ जना वडा सदस्यहरुसमेत निर्वाचित हुँदै छन्। 

वाग्मती प्रदेशमा ४५ प्रमुखका लागि ५१८ जनाको उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै २९९ जना उपमेयरको प्रतिस्पर्धामा छन्। 
७४ गाउँपालिका अध्यक्षका लागि ५१९ जनाको उम्मेदवारी परेको छ। त्यस्तै उपाध्यक्षका लागि भने २९९ जना प्रतिस्पर्धामा छन्। 

त्यस्तै पाँच हजार २२१ जना वडाध्यक्षको प्रतिस्पर्धामा छन्। चार हजार ४८४ वडा सदस्यका  लागि १५ हजार ७८५ जनाको मनोनयन परेको छ। 

वडा सदस्यका उम्मेदवार मध्ये चार हजार ३४ जना महिला सदस्य र दलित महिला सदस्यका लागि तीन हजार ३३० जनाको उम्मेदवारी परेको छ। दुई खुला सदस्यका लागि ८ हजार ४२१ जनाको मनोनयन परेको छ। 

उम्मेदवारी दिएका मध्ये ८ हजार ४४७ जना महिला र १४ हजार २१८ जना पुरुष छन्। 

 

गण्डकी प्रदेश

शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशबाट तीन हजार ९६५ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन्। 

एक महानगरपालिकासहित २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुखसहित ७६९ वडाध्यक्ष निर्वाचित हुँदैछन्। यस निर्वाचनमा तीन हजार ३६ वडा सदस्यसमेत निर्वाचित हुँदैछन्। 

तीन हजार ९६५ जनप्रतिनिधिका लागि १२ हजार ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

गण्डकी प्रदेशमा यसपटक एक हजार २५३ वटा मतदानस्थलमा रहेका दुई हजार ३०० मतदान केन्द्र मार्फत वैशाख २९ गते सम्म १८ वर्ष पूरा गरेका १७ लाख ८९ हजार ४११ मतदाताले मतदान गर्न पाउनेछन्। 

गण्डकी प्रदेशमा ९ लाख २४ हजार ९४८ महिला, ८ लाख ६४ हजार ४५२ पुरुष र ११ अन्य लैंगीक समूहका मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। 

कति छन् उम्मेदवार ?

एक महानगर र २६ नगरपालिकाका प्रमुखका लागि १९१ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ।  त्यस्तै १३६ जनाले उपप्रमुख पदका लागि मनोनयन दर्ता गराएका छन्। 

गण्‍डकी प्रदेशमा रहेका ५८ गाउँपालिकाका अध्यक्षका लागि २५३ र उपाध्यक्षका लागि २०७ जना प्रतिस्पर्धामा छन्। त्यस्तै ७५९ वडाध्यक्षका लागि यसपटक दुई हजार ६३६ जना चुनावी मैदानमा छन्। 

तीन हजार ३६ कुल वडा सदस्यका लागि ८ हजार ५८६ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये महिला सदस्यका लागि २ हजार ११८ र दलित महिला सदस्यका लागि एक हजार ९४२ जना चुनावी मैदानमा होमिएका छन्। 

प्रत्येक वडाबाट निर्वाचित हुने दुई खुला सदस्य पदका लागि गण्डकी प्रदेशका ७५९ वडाबाट चार हजार ५२६ जना चुनावी प्रतिस्पर्धामा छन्।  गण्डकी प्रदेशमा रहेका १२ हजार ९ उम्मेदवार मध्ये चार हजार ६४९ महिला र सात हजार ३६० पुरुष उम्मेदवार छन्। 


  

 

 

 

 

 

 

 

लुम्बिनी प्रदेश

 

शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पाँच हजार १३३ पदका लागि मतदान हुँदै छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका  १०९ स्थानीय तह र तिनका ९८३ वडामा जन प्रतिनिधि चयनका लागि मतदान हुँदै छ। 

प्रदेशमा एक हजार ६२९ मतदानस्थलमा रहेका तीन हजार ८३२ मतदान केन्द्रबाट वैशाख २९ गते १८ वर्ष पुगेका ३२ लाख १९ हजार ४५७ मतदाताले मतदान गर्न पाउने छन्। 

लुम्बिनी प्रदेशमा १६ लाख एक हजार ३५२ महिला, १६ लाख १८ हजार ७३ पुरुष र ३२ अन्य लैंगीक समूहका मतदाताले मतदानमा सहभागि हुन पाउने छन्। 
कति छन् उम्मेदवार?

 प्रदेशका ४ उपमहानगरपालिका, ३२ नगरपालिकाका ३६ प्रमुखका लागि ३९१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ३६ उपप्रमुखका लागि २७५ जनाको उम्मेदवारी कायम छ। 

त्यस्तै ७३ गाउँपालिका अध्यक्षका लागि ४९३ र उपाध्यक्षका लागि ९३२ जनाको उम्मेदवारी कायम रहेको आयोगको तथ्यांकमा उल्लेख छ। 

त्यस्तै ९८३ वडाध्यक्षका लागि चार हजार ९२१ जना चुनावी प्रतिस्पर्धामा छन्।  प्रत्येक वडाका १ महिला सदस्यका लागि तीन हजार ९७७ र एक महिला दलित सदस्यका लागि तीन हजार ७०७ जना चुनावी प्रतिस्पर्धामा छन्। लुम्बिनी प्रदेशमा एक हजार ९६६ खुला सदस्यका लागि ८ हजार २७० जनाको उम्मेदवारी कायम छ। लुम्बिनी प्रदेशमा रहेका कुल २२ हजार ४३६ उम्मेदवार मध्ये  ८ हजार ७६६ महिला र १३ हजार ६६० पुरुष उम्मेदवार छन्। 

 

कर्णाली प्रदेश

शुक्रवार हुने मतदानबाट कर्णाली प्रदेशले तीन हजार ७४८ जन प्रतिनिधि पाउने छ। कर्णालीका २५ नगरपालिका प्रमुख/उपप्रमुख तथा ५४ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहित ७१८ वडाध्यक्ष र ती वडाहरुमा चार जनाका दरले २ हजार ८७२ जना वडा सदस्यका लागि निर्वाचन हुँदैछ। 

कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्। जसमध्ये चार लाख ९५ हजार ९९ महिला, पाँच लाख ६ हजार १८० पुरुष र ३ जना अन्य लैंगिक समुदायका मतदाता रहेका छन्। 

कर्णाली प्रदेशमा ९०७ वटा मतदान स्थलमा रहेका एक हजार ३८५ मतदान केन्द्रमार्फत मतदान हुँदैछ। 

कति छन् उम्मेदवार? 
कर्णाली प्रदेशमा तीन हजार ७४८ पदका लागि १२ हजार ५९६ जना चुनावी मैदानमा छन्। 

 

जसमध्ये २५ नगरपालिकाका प्रमुखका लागि १४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै १२२ जनाले उपप्रमुखका लागि मनोनयन दर्ता गराएका छन्। 

त्यस्तै ५४ गाउँपालिकाका अध्यक्षका लागि २४८ र उपाध्यक्षका लागि २२७ जनाको मनोनयन कायम छ। कर्णाली प्रदेशमा रहेका ७१८ वडाका वडाध्यक्षका लागि दुई हजार ७५९ जना चुनावी प्रतिस्पर्धामा छन्।

हरेक वडामा दुई जना खुला सदस्यका लागि कर्णालीमा चार हजार ७८५ जना चुनावी मैदानमा छन्। कर्णालीमा ७१८ महिला सदस्यका लागि दुई हजार ३१७ जना र दलित महिला सदस्यका लागि एक हजार ९९७ जनाको उम्मेदवारी छ। कर्णाली प्रदेशमा रहेका १२ हजार ५९६ उम्मेदवारमध्ये  चार हजार ८७७ महिला र सात हजार ६९२ पुरुष छन्। 

 

सुदूर पश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशमा शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा एक हजार १३५ मतदान स्थलका दुई हजार १०३ मतदान केन्द्रमा मतदान हुँदैछ। सुदूरपश्चिममा यसपटक वैशाख २९ गते बिहीबारसम्म १८ वर्ष पूरा भएका १६ लाख ३२ हजार १५० मतदाताले मतदानमा सहभागिता जनाउँदै छन्। 

जसमध्ये  ८ लाख ३१ हजार १४७० महिला, ८ लाख ६६२ पुरुष र १८ जना अन्य लैंगिक समूहका मतदाता रहेका छन्। 

कति छन् उम्मेदवार?
सुदुरपश्चिमा १ उपमहानगरपालिका र ३३ नगरपालिकाका प्रमुखका लागि २०२ जनाको मनोनयन छन। त्यस्तै उपप्रमुखमा १५९ जना उम्मेदवार छन्। 

५४ गाउँपालिकाका अध्यक्षका लागि २३० र उपाध्यक्षका लागि १७८ जनाको उम्मेदवारी परेको छ। 

त्यस्तै  सुदुरपश्चिमका ७३४ वडाहरुका वडाध्यक्षका लागि  दुई हजार ७९८ जना चुनावी प्रतिस्पर्धामा छन्। हरेक वडामा एक महिला सदस्य र एक दलित महिला सदस्य निर्वाचित हुने छन्। ७३४ वडामा दुई हजार ३२८ महिला सदस्य र दुई हजार १७९ जना दलित महिला सदस्यका उम्मेदवार छन्। 

त्यस्तै हरेक वडामा दुई खुला सदस्य निर्वाचित हुने छन्। त्यसका लागि चार हजार ७९४ जनाको उम्मेदवारी परेको छ। यहाँ कुल मतदाताको ३७.९ प्रतिशत महिला र ६२.१ प्रतिशत पुरुष उम्मेदवार छन्। 

सुदुर पश्चिममा चार हजार ८७७ महिला चुनावी प्रतिस्पर्धामा उत्रिँदा सात हजार ९९१ जना पुरुष उम्मेदवार पनि चुनावमा भिडिरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell