PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

शीर्ष नेतादेखि निर्वाचन आयुक्तसम्म, कसले कुन ठाउँबाट गर्दैछन् मतदान?



पहिलोपोस्ट

शीर्ष नेतादेखि निर्वाचन आयुक्तसम्म, कसले कुन ठाउँबाट गर्दैछन् मतदान?

काठमाडौँ: स्थानीय तह निर्वाचनमा शीर्ष नेताले पनि मतदान गर्दैछन्। आ-आफ्नो मतदाता नामावली रहेको स्थानीय तहमा शीर्ष नेताले मतदान गर्नेछन्।

७५३ स्थानीय तहका लागि हुने निर्वाचनमा मुख्यगरि सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदैछ। एमालेले पनि केही ठाउँमा साना दलसँग चुनावी तालमेल गरेको छ। तर, एमालेले अधिकांश ठाउँमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने रणनीतिमा उम्मेदवारी दिएको छ।

शीर्ष नेताको मतदान कहाँ?

प्रधानमन्त्री शेरबहादुर देउवा चुनावमा मतदानका लागि केही दिनदेखिनै गृह जिल्ला डडेल्धुरा छन्। गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’बाट देउवाले मतादन गर्नेछन्। यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र स्कुलमा मतदान गर्नेछन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका १४ स्थित शान्तिपुर मतदान केन्द्रबाट मत दिनेछन्।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको रामजानकी मन्दिरको मतदान केन्द्रमा मत खसाल्ने स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको अन्नपूर्ण माध्यामिक विद्यालयको केन्द्रबाट मतदान गर्नेछन्।

अरु नेताको कता?

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका १६ पकनाजोलमा मतदान गर्ने तय भएको छ। कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिका मैतिदेवी मतदान केन्द्र र विश्वप्रकाश शर्माले कवि शिरोमणी माध्यामिक विद्यालयमा मतादन गर्नेछन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको शिरानचोक गाउँपालिका परोपकार माध्यामिक विद्यालयमा मतदान गर्नेछन्।  एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवल उपमहानगरपालिका ८ मा मतदान गर्ने तय भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयबाट मतदान गर्नेछन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नेछन्।  

काठमाडौं महानगर प्रमुखका उम्मेदवारको कसको कता?

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्नेछिन्। एमालेका तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्नेछन्। विवेकशील साझाबाट प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्नेछन्। यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमिले कालीमाटी केन्द्रबाट मतदान गर्नेछन्।

गठबन्धनकै तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डंगोलले वडा २१ बाट मतदान गर्ने छन्।

आयोगका पदाधिकारी कसको कहाँ?

निर्वाचन आयोगले प्रमुख आयुक्तसहित पाँच जना पदाधिकारी र निर्वाचन आयोगका सचिवको मतदान केन्द्रबारे जानकारी गराएको छ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको  मध्यपुर ठिमी १ को लोकन्थली उपस्वास्थ्य चौकी केन्द्रमा मतदान गर्नेछन्। आयुक्त ईश्वरीप्रसाद पौडेलले टिका विद्याश्रम मावि सानेपामा मतदान गर्नेछन्। यस्तै, आयुक्त रामप्रसाद भण्डारीले मिलन विद्यामन्दिर अनामनगर, आयुक्त जानकीकुमारी तुलाधरले लमजुङको महेन्द्र मन्दिर मावि र आयुक्त सगुन शम्शेर जबराले धापासी निमावि टोखाबाट मतदान गर्नेछन्। आयोगका सचिव गोकर्णमणि दुवाडीले रिडमोडेल कलेज ठूलो भर्‍याङ केन्द्रबाट मतदान गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell