
काठमाडौं: प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४. कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन्।
स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ।
निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।
यो पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।