
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वार केशव स्थापितले मतदान गरेका छन्। एमालेका तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका हुन्।
स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतले पनि बिहानै मतदान गरिसकेका छन्।
निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।
यो पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।