PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पर्सामा ७२ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान, साँझ ७ बजेसम्म मतदान 



पहिलोपोस्ट

पर्सामा ७२ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान, साँझ ७ बजेसम्म मतदान 

वीरगंज : पर्साका १४ वटा पालिकामा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ।

पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेका छन्। जसमध्ये वीरगंज महानगरमा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको वीरगंज महानगरका प्रमुख मतदान अधिकृत धर्मराज पौडेलले बताए।

त्यसैगरी, अन्य पालिकाहरुमा पनि ७० प्रतिशतको हाराहारीमा मत खसेको मतदान अधिकृतहरुले बताएका छन्। पर्साको समग्रमा मत खसेको तथ्यांक ७२ प्रतिशतभन्दा बढी आउने अनुमान गरिएको छ।

पर्साको पोखरीया नगरपालिकाका मुख्य मतदान अधिकृत पदम बहादुर कार्कीले अहिलेसम्म करिब ७० प्रतिशत मतदान भइसकेको र केही केन्द्रमा मतदान भइरहेकोले यकिन तथ्यांक आउन समय लाग्ने बताए।

त्यसैगरी, बहुदरमाई नगरपालिकाका मुख्य मतदान अधिकृत कैलाश प्रसाद भट्टराईले करिब ७२ प्रतिशत मतदान भइसकेको र अहिले पनि केही स्थानमा मतदान जारी रहेको बताए। साँझ ७ बजेपछि नै मतदान सकिने उनले बताए।

मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई पाँच बजेपछि पनि मतदान गर्न दिन आयोगले निर्देशन दिएको छ। पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा गरेर ३ लाख ३९ हजार ८ सय ३६ मतदाता छन्।

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार १४ स्थानीय तहमा कुल १ लाख ९१ हजार ५३७ पुरुष, १ लाख ४८ हजार २८३ महिला र १६ जना अन्य मतदाता छन्। १ सय ६७ मतदानस्थलमा ४ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ।

किन खस्यो कम मत?

यसवर्ष स्थानीय चुनावमा २०७४ सालको स्थानीय चुनावभन्दा कम मत खसेको छ। गत चुनावमा पर्सामा ७५ प्रतिशतको हाराहारीमा मत खसेको थियो।

तर, यस वर्ष प्रतिकुल मौसम, गर्मी, परिचय पत्र नहुनु जस्ता प्रमुख कारणले मत कम खसेको बताइएको छ।

त्यसैगरी, हरेक गाउँगाउँबाट वैदेशिक रोजगारीमा युवा गएको र मृत्यु भएको मतदाताको नाम नामावलीबाट नहटाइएको कारण पनि मत कम खसेको मतदान अधिकारीहरुको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell