PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित



पहिलोपोस्ट

मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित

  • राधेश्याम पटेल/सुमित मिश्र-

वीरगंज/जनकपुरधामः मधेश प्रदेशमा छिटफुट घटनासहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ। प्रदेशमा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। बिहानैदेखि उत्साहपूर्ण सहभागिता थियो। तर हावाहुरीसँगैको वर्षाले मतदान प्रभावित समेत भएको थियो।

प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै महोत्तरी, बारा र पर्सामा ७०/७० प्रतिशत, धनुषामा ६६ र रौतहतमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क छ।

प्रदेशका केही मतदान केनद्रमा विवाद हुँदा मतदान स्थगित समेत गर्नुपरेको छ। बारामा ४ वटा मतदान केन्द्रमा विवादका कारण मतदान स्थगित भएको मतदान अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए।

त्यस्तै रौतहटको ३ वटा मतदान केन्द्रमा स्थगित गरिएको मतदान अधिकृत छोटेलाल दासले जानकारी दिए। दासका अनुसार रौतहटको बौधीमाई नगरपालिका २ स्थित इनरवारी प्रावि मतदान केन्द्र, बौधीमाई कंकालिनी मतदान केन्द्र र गरुडाको शंकर प्राविको मतदान केन्द्रको मतदान स्थगित गरिएको छ।

त्यस्तै सप्तरीको एक मतदान केन्द्रको मतदान स्थगित गरिएको मतदान अधिकृत रमेशकुमार जोशीले बताए। सप्तरीको डाक्नेश्वरी नगरपालिका २ को मतदान केन्द्रमा  मतदान स्थगित गरिएको हो।

+++

मधेस प्रदेशका चार जिल्लामा चुनावका क्रममा सुरक्षाकर्मीले गोली चलाएको छ। धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा गोली चलेको हो। धनुषाको शहीदनगर नगरपालिका १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाइ फायर गरेको हो। मत खसाल्ने विषयमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

त्यस्तै, महोत्तरीको बलवा नगरपालिकामा पनि गोली चलेको छ। बलवा नगरपालिका ५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो। बलवा ५ स्थित मनसिव महावीर आधारभूत विद्यालयमा रहेको केन्द्रमा गोली चलेको हो।

सर्लाहीको धनकौलमा पनि गोली चलेको छ। मतदान सुरु हुनु अगावै झडप हुन थालेपछि प्रहरीले ६ राउन्ड गोली प्रहार गरेको हो। धनकौल गाउँपालिका २, पशु सेवा केन्द्र मतदान केन्द्रमा सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

सर्लाहीकै बसबरिया गाउँपालिकामा समेत झडप भएको छ। यस्तै रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो। झडपमा १५ जनाको टाउको फुटेको छ।

रौतहटमा पनि गोली चलेको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।

रौतहटकै गढीमाई नगरपालिका २ र ३ मा झडप भएकाले मतदान स्थगित भएको छ।

पर्साको छिपहरमाई गाउँपालिकामा पनि गोली चलेको छ। नेकपा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा स्थितिलाई साम्य पार्न सुरक्षाकर्मीले हवाइ फायर गरेको हो।

बाराको विभिन्न केन्द्रमा पनि झडप भएको छ। देवताल, बारागढी, सिम्रौनगढ र पचरौताको मतदान केन्द्रमा मतदान सुरु नभइ झडप भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell