PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शान्तिपूर्ण निर्वाचन तर पनि ४७ स्थानमा हवाइ फायर: काठमाडौँमा मतपत्र च्यात्नेदेखि डोल्पामा मतपेटिकामा मसी पोत्नेसम्म



सविन ढकाल

शान्तिपूर्ण निर्वाचन तर पनि ४७ स्थानमा हवाइ फायर: काठमाडौँमा मतपत्र च्यात्नेदेखि डोल्पामा मतपेटिकामा मसी पोत्नेसम्म

काठमाडौँ स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले दावी गरेको छ। तर पनि देशका विभिन्न स्थानमा बिहानैदेखि झडप, आक्रमण, मतपेटिका लुटपाट, अर्काको मत हाल्ने जस्ता क्रियाकलाप भइरहे।

दोलखामा निर्वाचन सुरु नहुँदै दुई दलका कार्यकर्ताबीच विवाद हुँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन गोली नै चलाउनु पर्‍यो। वैत्यश्वर गाउँपालिकाको पुतलीकाठ, गैरीमुदी मतदान केन्द्रमा पनि बिहानैदेखि झडप भएको थियो। त्यसो त सुरक्षाको हिसाबले सुरक्षित मानिएको काठमाडौंको नयाँ बानेश्वरमा बिहान ३ बजेतिर सिलिन्डर नै सडकमा विस्फोट भयो। प्रहरीले अहिले विस्फोट गर्नेको खोजी गरिरहेको छ।

त्यस्तै रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका नै लुटपाट गरेका छन्। यमुनामाई गाउँपालिका वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदानस्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो।

निर्वाचन सुरक्षाको लागि सरकारले १ लाख म्यादी प्रहरीसहित २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो। तर पनि सुरक्षाकर्मीको उपस्थिति कम भएको स्थानमा यस्ता घटना भएका छन्।  प्रहरीले झडप, मतपत्र लुटिएकालगायत अन्य प्रदर्शनलाई नियन्त्रणमा लिनको लागि ४७ ठाउँमा हवाई फायर गर्नुपरेको थियो। ओखलढुङ्गा, बारा, पर्सा, दोलखा, गोरखा, रामेछाप, बर्दिया, सर्लाही, बझाङ,  बाजुरालगायतका जिल्लामा सुरक्षाकर्मीले हवाइ फायर गर्नुपरेको थियो। दोलखा र सर्लाहीका विभिन्न स्थानमा सबैभन्दा धेरै हवाई फायर गर्नु परेको थियो। गोरखामा गोरखाको भीमसेन थापा गाउँपालिका २ ताराखसे मतदान गोली चल्दा निर्वाचनमा खटिएका एक जना घाइते समेत भएका छन्।

सिन्धुपाल्चोकको मेलम्ची ४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवादमा सेनाको पोसिजले धेरैको ध्यान खिच्यो। आधिकारिक व्यक्तिले मत नहालेर अशक्त र अपाङ्गको नाममा अरूले नै मत प्रभावित गर्ने गरी मतदान गर्ने विषय उत्कर्षमा पुगेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ। सेनाले सर्वसाधारण तर्फ हतियार तेर्साएको फोटो निकै भाइरल हुन पुग्यो।

देशभित्रका मतदान केन्द्रमा भएको झडप र कुटपिटमा परेर प्रहरी देखि कर्मचारी समेत घाइते भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जसमा ४७ जना सर्वसाधारण समेत घाइते भएका छन्। ६ जना प्रहरी  समेत घाइते भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए।

काठमाडौंको नयाँ बानेश्वरमा बिहान ३ बजेतिर सिलिन्डर नै सडकमा विस्फोट भयो। खाना पकाउने ग्यास सडकमा विस्फोट हुँदा नजिकै रहेको पसलको सिसा फुटेको छ। अहिलेसम्म सिलिन्डर राख्ने मानिस फेला नपरेको महानगरीय प्रहरी कार्यालय काठमाडौँका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

मकवानपुरमा खाली कुकुर राखेर मानिसलाई आतङ्कित बनाउने घटना भएको छ। बझाङको दुई ठाउँमा पनि शङ्कास्पद बस्तु भेटिएको थियो। त्यस बाहेक देशका कुनै पनि ठाउँमा आज विस्फोटकका घटना नभएको प्रहरीले जानकारी दिएको छ।

निर्वाचन आचारसंहिता विपरीत र गैरकानुनी क्रियाकलाप गर्ने १६ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। जसमा मतपत्र च्यात्नेदेखि पटक पटक मतदान गर्नेसम्म रहेका छन्। काठमाडौंको भुँइखेल चौरबाट प्रहरीले मत हाल्ने क्रममा मतपत्र च्यातेर फ्याँक्ने क्रममा ४५ वर्षीय योगेश मोक्तानलाई नियन्त्रणमा लिएको छ।  झापाको गौरादह नगरपालिकामा पनि मतपत्र च्यातेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। बर्दियामा पनि विक्रम भण्डारीले मतदान गर्न गएर मतपत्र च्याति निर्वाचन बहिस्कार गरौँ भन्दै नारा लगाएको अभियोगमा नियन्त्रणमा लिएको थियो। त्यस्तै सर्लाहीको कबिलासी नगरपालिकामा अरूको मतपत्र बोकेर आएकोमा दुई जना पुरुषलाई समातेको थियो। सुर्खेतको भेरिगंगा नगरपालिकामा एक पुरुष मतदान केन्द्रमा चक्कुसहित आएकाले नियन्त्रणमा लिएको एसएसपी केसीले जानकारी दिए। डोल्पाको जगदुल्ला नगरपालिकामा रहेको मतदान केन्द्रमा सिरिन्जबाट मसी पोतेर मतपेटिका हाल्न खोज्दा एक जनालाई सिरिन्ज र मसीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस पटको निर्वाचनमा झडप, कुटपिट लगायतका घटनामा परेर एक जना मानिसको पनि मानवीय क्षति भएको छैन। भूमिगत राजनीतिमा गएका पार्टीहरू पनि निर्वाचनमा सकारात्मक देखिएपछि  देशमा विस्फोट र शङ्कास्पद बस्तु भेटिने सङ्ख्या अघिल्ला निर्वाचनमा भन्दा कम देखिएकाले पनि यस पटको निर्वाचन शान्तिपूर्ण भएको प्रहरी प्रशासनको निष्कर्ष रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell