PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पोखरेली मतदाताको एउटै स्वर : प्रफुल्ल भएर मत हालेको छैन



रिना थापा

पोखरेली मतदाताको एउटै स्वर : प्रफुल्ल भएर मत हालेको छैन

पोखरा : शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा पोखरेली मतदाताले उत्साहपूर्ण सहभागीता देखाए। संघीयता पछि भएको यो दोस्रो स्थानीय तह निर्वाचनमा मतदाताले आफ्नो अपेक्षा बुझिदिने दल र उम्मेदवारलाई पहल्याएका छन्। अघिल्लो निर्वाचनमा जुन अपेक्षा र आकांक्षा राखेर जनप्रतिनिधिलाई जिताएका थिए त्यसको मूल्यांकन गर्दै मतदाता आज भएको निर्वाचनमा सहभागी भएका छन्।

मतदाता आफुले जिताएको जनप्रतिनिधि र राजनीतिक दलबाट कति सन्तुष्ट भए र प्रत्यक्षरुपमा स्थानीय तहको सेवा प्रत्याभूति महसुस गरे वा गरेनन् त्यो अबको निर्वाचन मतपरिणामले देखाउँछ। मतदाताले कस्ता उम्मेदवार रोजेका छन् त्यो हेर्न बाँकी नै छ। तर, यसबिचमा मतदाताले आफ्नो अपेक्षा कसले पूरा गर्नसक्छ पहल्याउन कोसिस भने गरेका छन्।

पोखरेली मतदाताको अपेक्षा छ : नागरिकले व्यवहारमा घरघरमा सिंहदरबार महसुस गर्न पाओस्।

काखमा १० महिनेको छोरी बोकेर मतदानमा सहभागी हुन आएकी रति त्रिपाठीको आशा छ आफुले मतदान दिएको उम्मेदवारले गाउँ विकास गर्छन्। पोखरा २६ को मतदान केन्द्रमा भेटिएकी उनको आशा छ अपुरो रहेका काम अबको पाँच वर्षमा सम्पन्न हुनेछ। उनी यसअघिको जनप्रतिनिधिबाट केही सन्तुष्ट पनि सुनिन्छिन्।

‘उहाँ अगाडि आउनु भयो भने गाउँसमाजको लागि केही गर्नुहुन्छ भन्ने आशा। उहाँलाई भोट हाल्नकै लागि नै यत्रो टाढादेखि छोरी च्यापेर आएको हो। पहिले पनि गर्नुभयो। अब पनि गर्नुहुन्छ भन्ने आशा छ,’ उनले सुनाइनन्।

सोही मतदान केन्द्रमा सहभागी हुन आएकी लक्ष्मी अधिकारी भने जनप्रतिनिधिबाट त्यति सन्तुष्ट सुनिइनन्। तर पनि उनमा आशा छ अब आएका जनप्रतिनिधिले अपुरो रहेका काम अगाडी बढाउने छन्। आफ्नो गाउँठाउँ विकास गर्नेछन्।

‘पूरा त भयो अलिअलि। सबै भने जस्तो र खोजेको जस्तो हुनुहुन्न। त्यही पनि केही भइहाल्छ कि बिस्तारै हुन्छ,’ उनले भनिन्।

शुक्रबार भएको निर्वाचनमा मतदाता उत्साहपूर्ण उपस्थिति त थियो नै। यसमा कारण थियो वृद्धदेखि युवा र काखमा बच्चा समाएका सबै उमेर समुहका मतदाता उपस्थित थिए। कोही मतदाता अपुरो योजना पूरा हुने आशामा आफ्नो उपस्थिति जनाइरहेका थिए भने कोही मताधिकार प्रयोग गर्नका लागि मात्र। त्यही मतदाताको लाइनमा थिइन् एक वृद्ध महिला।

९० वर्ष पुगिसकेकी माया अधिकारीलाई सम्झना छैन कतिपटक निर्वाचनमा सहभागी भए उनी। आफ्नो मताधिकार मात्र प्रयोग गर्न मतदान केन्द्र आइपुगेकी थिइन् उनी।

‘आइयो आउन त अब त सबै बिर्सियो। खुरुखुरु आए बसेँ भयो। गएँ। के–के गरे मत दिएकाले यिनैलाई सोध्नपर्छ,’ मायाले भनिन्।

अरुजस्तै उत्साही भएर मतदानमा सहभागी भए जंगबहादुर रसाइली पनि। पोखरा –१३ कुडँहरको मतदान केन्द्रमा भेटिएका उनको आशा छ आफुले रोजेको दलले नागरिकले खोजेको र रोजेको योजनालाई पूर्णता दिन्छ।

‘अघिल्लो पटक भनेका कुरा हल्काहल्का पूरा भो। तर, अझै बाँकी छ। यो निर्वाचनमा फेरि पूरा गर्छ भन्ने आशा छ। उनीहरुले पूरा गर्छन् ग्यारेन्टी छ। जित्नुपर्छ विजयी हुनुपर्छ अरु पार्टीमै गए त सिधियो तर आफनै पार्टीले जित्यो भने म ढुक्क छु नागरिकले मागेको र खोजेको योजना पूरा हुन्छ,’ रसाइलीले भने।

केही मतदाताले आशावादी भएर निर्वाचनमा सहभागी भइरहँदा हरिलाल आचार्य भने निराश हुँदै निर्वाचनमा सहभागी भए। जनमत संग्रह आइसकेपछिका हरेक निर्वाचनमा मतदाताका रुपले सहभागी छन् उनी। यसबिच भएको राजनीतिक परिवर्तनलाई राम्रोसँग नियालेका छन् उनले। राजतन्त्रदेखी लोकतन्त्रसम्म परिवर्तन भएको देशको व्यवस्थालाई नियालेका छन्, त्यसैले त उनमा असन्तुष्टि छ देशको व्यवस्थामा परिवर्तन भए पनि नागरिकको दैनिक जीवनमा त्यसको प्रभाव प्रभावकारी रुपमा भएन।

उनी भन्छन् –‘दलसँग राखेको अपेक्षा पूरा हुन सक्दैन सक्दो पनि नरहेछ। यी वाचाबन्धन मात्र र’छन्’। प्रतिबद्धतामात्र उहाँ गएपनि प्रतिबद्धता जता गएपनि प्रतिबद्धता कामधाम केही छैन।’

राजनीतिक दलको कार्यशैलीबाट निराश सुनिएका उनी मताधिकार प्रयोग गर्नका लागि मात्र निर्वाचनमा सहभागी भएको सुनाउँछन्।

‘जनतालाई झुकाउने काम चाहिँ धेरै भइसकेको छ। मताधिकार प्रयोग गरौँ भनेर गरेको हो। मन धेरै प्रफुल्ला भएर प्रसन्न भएर मत हालेको छैन। मैले अरुले पनि छैनन् होला जसरी पनि हाल्नुपर्ने रहेछ एउटा चुन्नुपर्ने रहेछ भन्ने मानसिकता तयार भएर हालिएका भोटहरु हुन् यी सबैको पारा त्यहीँ हो हुनलाई,’ उनी निराश सुनिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell