PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मतगणनामै तारजाली! यो कस्तो प्रणाली?



प्रकाश भण्डारी

मतगणनामै तारजाली! यो कस्तो प्रणाली?
तस्विर: भक्तपुर नगरपालिका

काठमाडौँ: स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन भन्दै विभिन्न ठाउँमा रहेका मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ। ७५३ स्थानीय तहमा हुन लागेको मतदानलाई सुरक्षित बनाउन भन्दै मतगणना स्थलमा तारजाली राखिएको हो। यसअघि मतपत्र च्यात्ने र गणनाका क्रममा धाँधली हुने भएकाले तारजाली लगाएमा सुरक्षित हुने भन्दै निर्वाचन अधिकृतहरूले धमाधम तारजाली लगाउन लगाएका हुन्।

निर्वाचन आयोगले भने मतपत्र च्यात्ने घटनालाई रोक्न सिसिटिभी जडानमा जोड दिएको थियो। तर, निर्वाचन अधिकृतहरूले सिसिटिभी जडानसँगै तारजालीको पनि व्यवस्था गरेका छन्। सबै ठाउँमा सिसिटिभी जडान हुन नसकेको आयोगले जनाएको छ।

कहाँकहाँ लाग्यो तारजाली?

काठमाडौँ महानगरको राष्ट्रिय सभागृह, भक्तपुरमा हुने मतगणास्थलमा, चितवनको भरतपुर महानगर, पोखरा महानगरका मतगणना स्थलमा पनि तारजाली लगाइएको छ। बागलुङको जिल्ला समन्वय समितिको हलमा हुने मतगणना स्थलमा पनि तारजाली लगाइएको छ। तनहुँको आबुखैरेनीमा रहेको मतगणना स्थलमा पनि तार जाली लगाइएको निर्वाचन आयोगले जारी गर्ने बुलेटिनमा उल्लेख छ। दाङको घोराही १४ मा निर्माण गरिएको मतगणना स्थलमा पनि तारजाली लगाइएको छ।

निर्वाचन आयोगले मत गणनालाई पारदर्शी बनाउन भन्दै सिसी क्यामेरा जडान गर्न निर्देशन दिएको भए पनि निर्वाचन अधिकृतहरूले भने मतगणनामा असुरक्षा हुनसक्ने भन्दै तारजालीमा जोड दिइरहेका छन्। उक्त तारजालीभित्र बसेर गणकहरूले मत गणना गर्नेछन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सिसिटिभी जडानमै आयोगको जोड दिएको जानकारी दिए।

भने, ’सिसिटिभी जडान गर्ने निर्देशन दिएअनुसार अधिकांश स्थानमा सिसिटिभी जडान गरिएको छ। हामीले हप्ता दिनका लागि मात्रै प्रयोग गर्ने हो। पछि त्यहीँको सुरक्षाका लागि प्रयोग गर्न सकिने भयो। मतगणना स्थललाई विश्वसनीय बनाउन र स्तरीकृत गर्ने र चाँडोभन्दा चाँडो मतगणना स्थलबाट नतिजा प्राप्त हुने छ,’ उनले भने।

यसअघि तारजाली लगाएर मतगणना गरिएको भन्दै आलोचना भएपछि यसपटक आयोगले सिसिटिभी लगाएर गणना गर्न निर्देशन दिएको थियो। तर, कतिपय ठाउँमा भने सिसिटिभी जडान गर्न सम्भव छैन। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि भरतपुरको घटनापछि मतगणना सिसिटिभीको निगरानीमा हुनुपर्ने बताएको थियो। आयोगले पनि सिसिटिभीमार्फत केन्द्रबाटै गणनास्थलमा निगरानी गर्नेगरि सिसिटिभी राख्न निर्देशन दिएको थियो।

आयोगको भन्छ : ढुक्क हुनुस्

निर्वाचन आयोगले भने यसअघिका जस्ता घटना नदोहोरिने बताएको छ। आयोगले मतगणना सुरक्षित तवरले गरिने भन्दै आश्वस्त पार्न खोजेको हो।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ’शान्ति सुरक्षाको पूर्ण प्रत्याभूत हुनेगरि सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित रूपमा मतपेटिका ढुवानी हुन्छ। तत्काल मतगणना कार्य हुन्छ। यसअघिका जस्ता घटना दोहोरिन दिँदैनौँ।‘

भरतपुर घटनाले दिएको चुनौती

२०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको थियो। माओवादी केन्द्रका मधुकर शिवाकोटी र द्रोण कोइरालाले मतपत्र च्यातेपछि वडा नम्बर १९ मा पुनः मतदान भएको थियो।

माओवादी केन्द्रबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा रहेको उक्त चुनावमा पुनः मतदान भएपछि दाहालले चुनाव जितेकी थिइन। उक्त घटनापछि तेस्रो चरणमा मधेस प्रदेशमा भएको स्थानीय तह निर्वाचनको मतगणनामा पनि तारजाली हालेर गणना गर्नेक्रम बढ्यो। केही समयअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि अहिलेको मतपत्र बलियो भएकाले च्यात्ने विषय दिमागबाटै हटाउन चेतावनी दिएका थिए।

‘लोकतन्त्रलाई थ्रेट’

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भने तारजाली हालेर मतगणना गर्नु गम्भीर विषय भएको बताउँछन्। यसले नेपालको राजनीतिक प्रणालीमाथि नै प्रश्न उठाउन सक्ने पूर्व आयुक्तहरूको मत छ। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले तारजाली लगाएर मतगणना गर्नु लोकतन्त्रका लागि ‘थ्रेट’भएको बताएका छन्।

‘यसरी तारजाली हालेर मतगणना गर्दा हाम्रो लोकतन्त्र माथि नै प्रश्न उठ्छ। यसले अविश्वास बढाइरहेको छ। त्यति मात्रै होइन यसले भोलि कतै हाम्रो अहिलेको सिस्टम नै खतम त हुने होइन भन्ने पनि खतरा छ,’उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell