PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

अढाई वर्षीय घाइते अनीष, जसले एकै दुर्घटनामा गुमाए आमा र हजुरआमा



रिना थापा

अढाई वर्षीय घाइते अनीष, जसले एकै दुर्घटनामा गुमाए आमा र हजुरआमा

पोखरा:

’पानी पानी... पानी खानपर्‍यो’

’ऐेया ऐेया दुख्यो! मम्मी जाने’

काखमा बसेर रुन्चे सानो स्वरमा आमालाई खोज्दै थिए साढे दुई वर्षका अनीष। मृत्युको मुखमा पुगेर बाँचेका त्यो अबोध बालकलाई थाहा छैन के भयो भर्खर। टाउकोमा सेतो पट्टी, हातमा सुई। त्यसैको पीडा बिर्साउन आमाको काख खोज्दै थिए अनीष। तर, ती अबोध बालकलाई थाहा छैन आमाको काख भने सधैंको लागि गुमाए।

काखमा घाइते छोरा राखेर पीडा भुलाउन खोज्दै थिए अर्जुन कुँवर। छोराको टाउको र हातमा लागेको चोटको पीडा बिर्साउन खोज्दै थिए उनी। एक्कासी आइपरेको घटनाको पीर मनमा थामेर काखमा छोरा च्याप्दै घाइते भान्जाको बेड छेउ बस्दै थिए उनी।

बाहिर निर्वाचनको रौनक भइरहँदा गण्डकी मेडिकल कलेजको दृश्य भने दर्दनाक थियो। स्याङ्जामा जीप दुर्घटना हुँदा घाइते भएकालाई थप उपचारको लागि ल्याइएको बिरामीले गण्डकी मेडिकल कलेजको माहोल पीडादायी बन्यो। त्यही पीडादायी माहोलमा आफूलाई सम्हाल्ने कोसिसमा थिए अर्जुन।

मतदान दिन घरबाट ४५ मिनेट तल रहेको मतदानस्थलमा पुग्न परिवारसँगै हिँडेका थिए अर्जुन। गर्भवती श्रीमती हिँड्न असहज हुन्छ भनेर उनलाई जीपमा पठाए। गर्भवती श्रीमतीसँगै आफ्नी आमा र काखे छोरालाई मतदानस्थल पुग्न जीपमा चढाए। आफू हिँडेर पनि पुग्ने हुनाले दुईचारजना साथीसँग हिँड्दै लागे। तर, मतदानस्थल नपुग्दै नसोचेको खबर सुन्नपर्‍यो।

स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको जीप अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको थियो। जसमा अर्जुनकी गर्भवती श्रीमती (२५ वर्षीय जमुना कुँवर) र आमा ( ४३ वर्षीय पोट कुमारी कुँवर) ले घटनास्थलमै ज्यान गुमाए।

एकैपटक आमा र श्रीमतीको साथ गुमाएका अर्जुन अस्पतालमा छोरालाई भुलाउँदै छन्। छिनछिनमा छोराले दुख्यो भन्छ। आँखाभरि आँसु थामेर छोरालाई भुलाउने प्रयास गर्छन्। छोरा एकछिन पीडा बिर्से जस्तो गर्छ। फेरि एकैछिनमा आमा खोज्दै ’दुख्यो दुख्यो’ भन्छ।

’मत दिन मेरो मम्मी र बाबुको मम्मीलाई अगाडि पठाएको म पछि जाने भनेर बाटोमा हिँड्दै थिए त्यस्तो भयो। अर्को बच्चा हुनेवाला थियो असारमा यस्तो भयो,’ आँखा रसाउँदै अर्जुनले भने।

छाती फुकाएर रुन पनि सकेका छैन उनी। छेउको बेडमा १६ वर्षका भान्जा कौशल कुँवर छन्। मतदानस्थलमा सानो छोरा अनीषले दुःख दिन्छ भनी सँगै हिँडेका थिए कौशल। बाटोमा एक्कासी जिप अनियन्त्रित बन्यो। उनी भने हामफालेर ज्यान जोगाउन सफल भए। जीपबाट हामफाल्दा खुट्टा चोट लागेको छ उनको।

जीप सुस्तै थियो। मान्छे छतमा धेरै थिएन तल थियो। हामफाली हालेँ। पछि त्यहाँ हेर्न चाहिँ सकेको थिएन। सबैलाई खबर गरेँ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीपमा २५ जना सवार थिए। जसमध्ये १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीय जमुना कुँवर, ७० वर्षीय भीमकला कुँवर, ७० वर्षीय मुवाकुमारी कुँवर, ४३ वर्षीय पोटकुमारी कुँवर,४३ वर्षीय जानुका कुँवर, ४२ वर्षीय ज्ञान दली कुँवर, ५० वर्षीय मीना कुँवर र फुलदेवी कुँवर रहेका छन्।

यस्तै घाइते हुनेमा १४ पञ्चमुल अर्खलबास बस्ने बेलमाया कुँवर, भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनीष कुँवर, कुशल कुँवर,ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर र नेत्रबहादुर कुँवर रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell