मनाङ: हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ। जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो।
सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो। नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचित भएका छन्। उनले १५८ मत पाएर निर्वाचित भए। उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए। नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो।
त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनी ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन्। कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरे। चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भइन्।
कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए। मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए। त्यहाँ मतगणना आज साँझसम्ममा सकिने उनले बताए।