काठमाडौं: निर्वाचन आयोगले शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रारम्भिक विवरण अनुसार ६४ प्रतिशत मतदान भएको जनाएको छ। त्यस्तै ७७ मतदान केन्दरमा मतदान स्थगित भएको जनाएको। स्थगित भएका क्षेत्रहरुमा यथाशीघ्र पुन: मतदान गराउने आयोगले जनाएको छ।
'राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदानकेन्द्रमा मतदान स्थगित भएको छ,' आयोगको विज्ञप्तिमा भनिएको छ, 'उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन्। लुम्बिनी र गण्डकी प्रदेशका कुनैपनि मतदानकेन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भएको छैन।'
त्यस्तै अहिले मतदानकेन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु हुने आयोगले जनाएको छ।