व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ। जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकोप्टर छाङ्गरु प्रस्थान गरेको हो।
दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ। मतपेटिकालाई हेलिकोप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
नेपालतर्फ बाटो नभएकाले हेलिकोप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो। गत शनिबार छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकोप्टरमार्फत पुर्याइएको थियो।
व्यास गाउँपालिका–१ का दुई मतदान केन्द्रमा ३५० बढी मत खसेको छ। मोती महिला सङ्घ आधारभूत विद्यालय तिङ्करमा १३६ र कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मत खसेको हो।
तिङ्कर मतदान केन्द्रमा ७३ पुरुष र ६३ महिलाले मतदानमा सहभागी भएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए। सो मतदान केन्द्रमा एक घण्टाअघि नै मतदान सकिएको थियो। तिङ्कर मतदान केन्द्रमा कूल १११ पुरुष र १२० महिला मतदाता थिए। कैलाशपति आधारभूत विद्यालय छाङ्गरुको मतदान केन्द्रमा ११२ महिला र १०७ पुरुषले मतदान गरेका जनाइएको छ। यो मतदान केन्द्रमा १७७ पुरुष र १९९ महिला मतदाता थिए। व्यास गाउँपालिकाका छवटै वडामा पाँच हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ।