काठमाडौं : स्थानीय तहको निर्वाचनअन्तर्गत मधेश प्रदेशको एक मात्र महानगरपालिकाका पर्साको वीरगंज महानगरपालिकाको मतगणना सुरु भएको छ।
वीरगंज महानगरपालिका-१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।
वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्। १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो।
वीरगंज महानगरपालिकासहित हालसम्म बहुदरमाई नगरपालिका, ठोरी गाउँपालिका, कालीकामाई गाउँपालिका, धोविनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा मतगणना जारी छ। यद्यपि, अन्य पालिकामा सर्वपक्षीय छलफलपछि मात्र मतगणना सुरु गरिने छ।
जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सीसीटीभी जडान गरी व्यवस्थापना मिलाइएको छ। पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाका विभिन्न पदका लागि कूल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन्।
ललितपुर महानगरको मतगणना सुरु
ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ। बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो।
महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन्।
उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार छन्।
कैलालीको चार तहमा मतगण सुरु
कैलालीका चार स्थानीय तह बर्दगोरिया र कैलारी गाउँपालिका, गोदाबरी नगरपालिका र टीकापुर नगरमा मतगणना सुरु भएको छ। धनगढी उपमहानगरपालिकासहितका पालिकामा मतगणना गर्ने तयारी भइरहेको जनाइएको छ।
सुरुवाती मतगणनामा गोदावरीमा नेपाली कांग्रेस, बर्दगोरियामा नेकपा (एमाले), कैलारी गाउँपालिकामा राप्रपाले प्रमुख/अध्यक्ष पदमा अग्रता लिएका छन्। मतगणनाको तयारीका क्रममा अन्य पालिकामा सर्वदलीय बैठक बसिरहेको छ। जिल्लामा रहेका १३ पालिकामा शुक्रवार भएको मतदानमा झण्डै ६५ प्रतिशत मतदान भएको थियो।
यसैबिच, सुदूरपश्चिम प्रदेशको कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा भएको निर्वाचनको मतपेटिक आज बिहानसम्म मतगणनास्थलमा पुर्याउन सकिएको छैन। भौगोलिक रुपमा विकट सो गाउँपालिकामा सडक सञ्जाल र टेलिफोनको असुविधा छ।
मतगणनास्थल गाउँपालिकाको खिमडीमा बिहानसम्म वडा नम्बर ५, ६ र ७ मा मतदान केन्द्रका मतपेटिका नपुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हवाई माध्यमद्वारा मतपेटिका ल्याउने व्यवस्थापन नहुँदा उक्त स्थानबाट मतपेटिका ल्याउन बिहान मात्रै प्रहरी टोली परिचाल गरिएको बताए।
डोटीका ६ पालिकामा मतगणना सुरु
डोटीका नौ स्थानीय तहमध्ये छ स्थानीय तहमा मतगणना सुरु गरिएको छ। जोरायल, बडिकेदार, बोगटान फुड्सिल, आर्दश, पूर्वीचौकी गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका करुणाकर पाण्डेले जानकारी दिए।
यसैगरी, सायल, केआइसिंह गाउँपालिका तथा शिखर नगरपालिकामा भने केहीबेर पछि मतगणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले बताए। जिल्लामा एक लाख २३ हजार ५५४ मतदाता रहेकामा ७८ हजार २४९ (६४ दशमलव ३३ प्रतिशत) मतदान भएको बताइएको छ।
म्याग्दीमा मतगणना सुरु
म्याग्दीको धौलागिरि गाउँपालिकाबाहेक अरु सबै स्थानीय तहमा आज बिहानैदेखि मतगणना सुरु भएको छ। जिल्लाको एउटैमात्र नगरपालिका बेनी नगरपालिकामा बिहान १०:३० बजेदेखि मतगणना सुरु भएको हो। प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले बेनी नगरपालिका-१ रत्नेचौरको मतपेटिकाको मत खन्याइ गणनाको सुरुआत गरेका हुन्।
यसैगरी, जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख भीमप्रसाद घिमिरेका अनुसार भौगोलिक विकटताका कारण धौलागिरि गाउँपालिकाको गुर्जाबाट मतपत्र पालिकाको केन्द्र मुनामा आइनपुगेकाले त्यहाँको मतगणना सुरु हुन सकेको छैन।
कार्यालयका अनुसार शुक्रवार सम्पन्न मतदानमा जिल्लाभर ६६ प्रतिशत मत खसेको थियो। बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा कूल मतदातामध्ये ५६ हजार ५४३ मत खसेकामा महिला ३० हजार ३२, पुरुष २६ हजार ५१० र अन्य एकजना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।
जिल्लामा जम्मा ७४ वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेकामा स्थानीय तह निर्वाचनका लागि कूल ८५ हजार ३७५ मतदाता थिए। एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कूल २३७ पदको लागि ७१८ जना उम्मेदवार चुनावमा उठेका छन्।
जिल्ला निर्वाचन अधिकारी घिमिरेका अनुसार भौगोलिकरुपमा विकट क्षेत्र धौलागिरि गाउँपालिका-१ गुर्जाको मतपेटिका आज बिहान ५ बजे गाउँबाट ल्याइने छ। जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको उनले बताए।
‘अनुमान गरेभन्दा पाँच/सात प्रतिशत बढी मत खसेको छ’, प्रमुख घिमिरेले भने।
यसैबिच, बेनी नगरपालिकाको मतपेटिका सङ्कलन गरेपछि आज बिहान ८ बजेदेखि मात्रै मतगणना हुने जनाइएको छ। त्यस्तै, जिल्लाका पाँचवटै गाउँपालिकाको मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्रमा लैजाने क्रम रहेको छ।
सङ्खुवासभामा मतगणना सुरु
सङ्खुवासभामा मतगणना सुरु गरिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
शुक्रवार राति १२ बजेबाट मतगणना सुरु गरिएको हो। अहिले खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिका मतगणना जारी छ।
जिल्लामा चार सय पदका लागि एक हजार ११ जनाले उम्मेदवारी दिएका थिए। जिल्लाभर ६० हजार ६७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी एक लाख १७ हजार ७३१ मतदाता छन्। जिल्लामा १०३ मतदानस्थल र १६२ मतदान केन्द्र रहेका छन्।
राजविराजको तीन पालिकामा मतगणना सुरु
शुक्रवार सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरीको तीनवटा पालिकामा मतगणना सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा मतगणना सुरु भएको छ। विष्णुपुर गाउँपालिकामा र सुरूङ्ग नगरपालिकामा समेत मतगणना सुरू भएको जनाइएको छ।
त्यस्तै, तिरहुत गाउँपालिकामा पनि सर्वदलीय बैठक सम्पन्न गरी बिहान १०:३० देखि मतगणना सुरु भएको तर अन्य अधिकांश ठाउँमा पानी परेर मतगणनामा ढिलाइ भएको बताइएको छ। राजविराज नगरपालिका-१२ को मतदान स्थगित भएको जनाइएको छ।
लमजुङका आठै पालिकामा मतगणना सुरु
लमजुङ जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिकाको मतगणना सुरु भएको छ। शुक्रवार मतदान सम्पन्न भएसँगै आज केही पालिकाले बिहानदेखि र बाँकी पालिकाले केही समयअघिदेखि मतगणना सुरु गरिएकोको जानकारी दिइएको छ। बेँसीसहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिकामा मतगणना सुरु भएको छ।
त्यस्तै, दोर्दी, मर्स्याङ्दी, क्ब्होलासोथर र दूधपोखरी गाउँपालिकामा समेत मतगणना सुरु भएको जनाइएको छ। जिल्लाभर ६९ दशमलव छ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृत सिर्जना मिश्रका अनुसार जिल्लामा कूल मतदाता एक लाख ३१ हजार ४९४ रहेकामा ९१ हजार ४५४ जनाले मतदान गरेका थिए।
चौँसठ्ठी हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदातामध्ये ४८ हजार ८८७ महिला र ४२ हजार ५६७ पुरुषले मतदान गरेका थिए। जिल्ला सदरमुकाम बेँसीसहर नगरपालिकामा कूल मतदाता २६ हजार २०७ रहेकामा १८ हजार १८५ मत खसेको थियो।
दूधपोखरी गाउँपालिकामा आठ हजार ८८८ मतदाता रहेकामा पाँच हजार ७२६ मत खसेको थियो भने सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ मतदाता रहेकामा १४ हजार ५२ मत खसेको थियो।
दोर्दी गाउँपालिकामा १५ हजार ८४ मतदाता रहेकामा १० हजार ४०६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। क्ब्होलासोथर गाउँपालिकामा नौ हजार २९८ मतदाता रहेकामा छ हजार ६५७ मत खसेको थियो।
त्यस्तै, मर्स्याङ्दी गाउँपालिकामा १५ हजार १४० कूल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो भने, राइनास नगरपालिकामा १५ हजार ९८९ मतदातामध्ये ११ हजार २३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मध्यनेपाल नगरपालिकामा २० हजार ९२ मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो।