PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

मतगणनाको राप : ६ महानगरमा कहाँ भइरहेको छ के? 



पहिलोपोस्ट

मतगणनाको राप : ६ महानगरमा कहाँ भइरहेको छ के? 

काठमाडौं : स्थानीय तह निर्वाचनको हिजो सम्पन्न मतदानको कतिपय स्थानीय तहमा मतगणना सुरु भएको छ। ६ महानगरमध्ये केही ठाउँमा गणना सुरु भएको छ भने केही ठाउँमा गणनाको तयारी भइरहेको छ।

जहाँ सुरु भएको छ त्यहाँ पनि सुस्त गतिमा मत गणना भइरहेको छ भने सुरु नभएको ठाउँमा अझै गणनाको तयारी भइरहेको छ। निर्वाचन आयोगले हिजै रातिदेखि मतगणना सुरु हुने बताएको थियो। तर, धेरैजसो ठाउँमा आज बिहानमात्रै गणना सुरु भएको छ।

१. काठमाडौं महानगर
काठमाडौं महानगरमा आज बिहानदेखि मत गणना सुरु भएको हो। मुख्यगरी काठमाडौं महानगरमा नेपाली कांग्रेसका मेयरका उम्मेद्वार सिर्जना सिंह, नेकपा एमालेका उम्मेद्वार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहबिच प्रतिस्पर्धा हुने देखिन्छ। मत गणनाको आधिकारिक परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन। उपमेयरमा सत्ता गठबन्धनमा तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको हो। बिहान ९ बजेर ४५ मिनेटपछि मतगणना सुरु भएको थियो तर धेरै संख्यामा महानगर प्रमुखको उम्मेदवारी हुँदा मतगणनामा ढिलाइ भइरहेको छ। काठमाडौं महानगर प्रमुखका लागि ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। महानगरपालिकाको वडा नं १ र ३२ बाट मत गणना सुरु भएको हो। 
 

२. ललितपुर महानगर
ललितपुर महानगरमा पनि मत गणना सुरु भएको छ। पूर्व मेयर चिरिबाबु महर्जन नेपाली कांग्रेसका तर्फबाट र एमालेका हरिकृष्ण ब्यन्जनकार बिच प्रतिस्पर्धा हुने ठानिएको छ। महानगरपालिकाको मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा वडा नम्बर १ बाट सुरु भएको हो।

जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपालिकाको नयाँ नेतृत्वको लागि भएको स्थानीय तह सदस्य निर्वाचनमा आज सबै वडाहरुको मतपेटिका जम्मा गरेर मतगणना सुरु गरिएको हो।
 

३. भरतपुर महानगर
चितवनको भरतपुर महानगरपालिकामा पनि सुरु भएको छ। चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रको ब्लक सीमा केही बेरअघिबाट मतगणना शुरु भएको हो। २९ वडा रहेको भरतपुरको मत वडा १ को रामनगर मावि र आदिकवि भानु माविमा खसेको मत अहिले गणना भइरहेको निर्वाचन आयोगले जनायो।

भरतपुरमा गठबन्धनबाट माओवादीकी रेनु दाहाल, एमालेबाट विजय सुवेदी प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका छन्। १ लाख ८५ हजार ७५२ मतदाता रहेको भरतपुरमा ६७ प्रतिशत मत खसेको आयोगले जनाएको छ।
 

४.पोखरा महानगरपालिका
पोखरा महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक सिकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठक दिउँसो २ बजेबाट सुरु गर्ने तय भएको छ। 

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको हलमा हुनेछ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार पोखरा महानगरमा ६९.९० प्रतिशत मत खसेको छ। महानगरमा जम्मा मतदाता २ लाख ८१ हजार ८८३ हुँदा १ लाख ९६ हजार ९८८ मत खसेको छ। जसमा पुरुषको मत ९२ हजार ६ सय ३८ खसेको छ भने महिलाको मत १ लाख ४३२० खसेको छ।
 

५. वीरगंज महानगरपालिका 
वीरगंज पनि मत गणना सुरु भएको छ। वीरगंज महानगरपालिका-१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा  मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।

एमालेबाट विजय कुमार सरावगी, जनता समाजवादी पार्टी नेपाल जसपाबाट राजेशमान सिंह र राप्रपाबाट गिरिश गिरी बिच मुख्य प्रतिस्पर्धा छ। 
 

६. विराटनगर महानगरपालिका
विराटनगरमा पनि मत गणना सुरु भएको छ। महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय जनाएको छ। मुख्य निर्वाचन अधिकृत भरत लम्सालले ५ सय मत गणना सकिएको र चाँडै प्रारम्भिक मत परिणाम आउने जानकारी दिए। 

विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा  ८९ हजार ६७८ (६७ दशमलव ३५ प्रतिशत) मतदान भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell