PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

हिमाली जिल्ला मनाङका चारै पालिकाको मतपरिणाम आयो, कुनमा कसले जिते?



पहिलोपोस्ट

हिमाली जिल्ला मनाङका चारै पालिकाको मतपरिणाम आयो, कुनमा कसले जिते?

काठमाडौं : हिमाली जिल्ला मनाङका चार वटै पालिकाको मतपरिणाम आइसकेको छ। कम मतदाता भएकोले जिल्लाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए।

मनाङमा नेकपा (एमाले)ले अध्यक्ष २ र उपाध्यक्ष १, नेपाली कांग्रेसले अध्यक्ष २ र उपाध्यक्ष १, नेकपा (माओवादी केन्द्र)ले १ उपाध्यक्ष र स्वतन्त्र उम्मेदवारले १ उपाध्यक्ष जितेका छन्।

चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले निर्वाचित भएका छन्। उनी ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन्।

कुल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरे। चामेको उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भइन्।

त्यस्तै, नार्पा भूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जीङ लामा निर्वाचित भएका छन्। उनी १५८ मत पाएर निर्वाचित भएका हुन्।उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका थिए।

उपाध्यक्षमा एमालेकी मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएकी छिन्। नार्पा भूमिमा कुल ४४८ मतमध्ये ३०४ मत खसेको थियो।

यसैगरी, नासोँ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ८२० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका मनबहादुर गुरुङले ६४६ मत ल्याएका हुन्।

यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित भएका छन्। उनी ९१३ मत ल्याउँदै विजयी भएका हुन्। उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४९६ मत ल्याएका छन्।

यता, मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ८६१ मत पाएका छन्।उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले)ले ७ सय १३ मत ल्याएका हुन्।

यो पालिकामा १ हजार ५७४ मत खसेको थियो। यहाँ ३ हजार ५३५ मतदाता रहेका थिए। यहाँ एमाले र कांग्रेसका उम्मेदवारबिच मात्रै अध्यक्षमा प्रतिस्पर्धा भएको थियो। यस्तै, उपाध्यक्षमा छिरिङ गुरुङ निर्वाचित भएका छन्। उनी स्वतन्त्रतर्फबाट उम्मेदवार बनेका थिए।

छिरिङले ७४४ मत ल्याए भने कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्यामयाङ टासी गुरुङले १ मत मात्रै ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell