PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आरजुको धम्की, देउवालाई दनक (टिप्पणी)



सहयोग रञ्जित

आरजुको धम्की, देउवालाई दनक (टिप्पणी)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफ्नै गाउँको निर्वाचन परिणाम अप्रिय सावित भयो। जहाँ देउवा जन्मिए, त्यहीँ उनीविरुद्ध बागी उम्मेदवारले जित निकाले। सन्दर्भ हो डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को। स्थानीय तहको हिजो सम्पन्न निर्वाचनमा प्रधानमन्त्री देउवाको वडामा कांग्रेस परित्याग गरेर नेपाली कांग्रेस विपीको करुवा चिह्नबाट उम्मेदवार बनेका नरेशराज भण्डारीले वडा अध्यक्ष जिते। भण्डारीले ६ सय ७३ मत ल्याएर अबिर दलिरहँदा कांग्रेसका चन्द्रबहादुर देउवाले ५ सय ४४ मतमै चित्त बुझाउन पर्‍यो।

प्रधानमन्त्री देउवा आफैँले रुख चिह्नमा लगाएको स्वस्तिक छाप, असफल भयो। गाउँपालिकाको वडाको अध्यक्ष समेतमा चन्द्रबहादुर देउवाको पराजय एउटा जागिर छाडेको शिक्षकको पराजय होइन, देउवाको हार बन्न पुग्यो। कांग्रेसका बागी उम्मेदवार कर्ण मल्लको राजनीतिक काया प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाका सामुन्ने विशाल देखियो। अब कर्ण मल्ल पराजित नै भए पनि त्यसले देउवामाथि लागेको चोटलाई मल्हम लगाउन भने सक्दैन। असन्तुष्ट कांग्रेसीले देउवाको घुच्चुकमै प्रहार गरेका छन्। त्यसैले गाउँमै रहेका शेरबहादुर देउवा कति रन्थनिएका होलान्, अनुमान मात्र गर्न सकिन्छ।

केन्द्रीय नेता भएर, अझ भनौं नेपाली कांग्रेसको सिंगो बागडोर सम्हालिरहेका देउवाले आफ्नै गाउँठाउँमा देखाएको छुद्र राजनीतिक हर्कतको परिणाम देखेका छन्। कांग्रेसमात्र होइन, मनमौजी नेताको शैलीलाई जनताको अभिमतले दनक दिएको छ। पार्टीमा प्रश्न सोध्न निषेध गर्दै देउवाको 'हैकम' जसरी चुलिँदै थियो त्यसमा एउटा अवरोधका रुपमा उभिएका थिए कर्ण मल्ल। राजनीतिक दासहरु मात्र उत्पादन गर्ने चाहने नेपाली राजनीतिक नेतृत्वको वृत्तमा शेरबहादुर देउवा अलग होइनन्। त्यसैले उनीमाथि प्रश्न गर्नेलाई किन सहजै छाड्थे देउवा? गएको महाधिवेशनमा कर्ण मल्ललाई क्रियाशील सदस्यतादेखि नै खेलेका थिए उनले। त्यसकै प्रतिक्रिया बिस्फोट मतबाट बिस्फोट गराइदिए उनले। देउवाको जन्मथलोमा उनको हैसियत देखाइदिए – कारवाहीमा परेको एउटा कांग्रेसको कार्यकर्ताले। कर्ण मल्ल पनि मैदानमा छन् चुनावको। उनले जित ननिकाल्लान् तर देउवालाई हारको नमिटो स्वाद भने चखाउन सफल भइसकेका छन्।

देउवासामु पराजयको किस्ती त्यहाँ पेश भयो जहाँ उनी डेरा जमाएर चुनावी अभियानको 'क्लाइमेक्स'लाई नियन्त्रणमा राख्‍ने उद्देश्य लिएर पुगेका थिए। स्थानीय तहको निर्वाचन सम्पन्न गराएको जश आफ्नै निर्वाचन क्षेत्र, आफ्नै वडामा पराजित भएर लिनुपर्दा पक्कै उनलाई आनन्दानुभूति हुने कुरै भएन। यसले अर्को सुखद् संदेश पनि दिएको छ – पदीय शक्ति र अहंकारलाई जनताको अभिमतले निमेशभरमै निमिट्यान्न पार्नसक्छ भन्ने। त्यतिमै सीमित छैन सन्देश। कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नदिने धम्की दिने प्रधानमन्त्री पत्नी आरजु राणाले पनि थोरै 'सवक' सिकिन् भने त्यो देउवाका लागि पनि हितकर हुनसक्छ। डडेल्धुरा पुगेर कांग्रेसले चुनाव नजित्ने ठाउँमा बजेट नपठाउने धम्की उनले दिएकी हुन्थिनन् भने सुदूर पश्चिमले कहिल्यै नहराएका देउवालाई वडामा लज्जित हुनुपर्ने स्थिति सायद आउने थिएन। सुदूर पश्चिमीका प्यारा शेरबहादर देउवालाई नै उनका हर्कतका कारण जनताले यसरी जवाफ दिन थालेका छन् भने त्यहीँको भुगोललाई आड लिएर राजनीतिमा महत्वकांक्षी कदम चाल्न चाहने आरजुलाई जनताले कस्तो जवाफ दिन्छन् होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell