
काठमाडौं : काठमाडौं जिल्लाका विभिन्न पालिकाहरुमा मतगणना जारी छ। एक महानगर र १० नगरपालिकामा मतगणना भइरहेको छ। काठमाडौं जिल्लाका सबै पालिकाको मत परिणाम घोषणामा ढिलाइ भइरहेको छ। केही पालिकाबाटमात्रै आधिकारिक प्रारम्भिक मत पाएका छन्।
चन्द्रागिरिमा एमालेको अग्रता
यता, काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ। दुई हजार ५०० मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिए। यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गरेका छन्।
कूल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ। कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताए।
तारकेश्वरमा कांग्रेसको अग्रता
काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले एक हजार ६३८ मतका साथ अग्रता लिएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले एक हजार ३५१ मत प्राप्त गरेको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले एक हजार ५५७ र नेकपा (एमाले)की उम्मेदवार भवानी डोटेलले एक हजार ३६२ मत प्राप्त गरेका छन्। कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो।