PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

६ महानगरको प्रारम्भिक रुझानः एमालेमाथि गठबन्धन हाबी, काठमाडौँमा दलविरुद्ध लौरो भारी



पहिलोपोस्ट

६ महानगरको प्रारम्भिक रुझानः एमालेमाथि गठबन्धन हाबी, काठमाडौँमा दलविरुद्ध लौरो भारी

काठमाडौंः शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना केही स्थानबाहेक सबै ठाउँमा भइरहेको छ। केही स्थानीय तहमा परिणाम समेत सार्वजनिक भइसकेको छ। अहिलेसम्म नेकपा (एमाले) ले पाँच तहमा जित हासिल गरेको छ। नेपाली कांग्रसले ३ स्थानीय तह जितेको छ। धेरै ठाउँमा कांग्रेसको अग्रता छ।

धेरैको चासो यतिखेर महानगरपालिकाको परिणाममा रहेको छ। सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायतले महानगरमा गठबन्धन बनाएर उम्मेदवार उठाएका थिए। एमालेले केही साना दलसँग तालमेल गरे पनि अधिकांश स्थानमा एकल रुपमा प्रतिस्पर्धामा छ। 

अधिकांशमा गठबन्धनका उम्मेदवारको अग्रता छ। प्रारम्भिक रुझान अनुसार एमालेमाथि पाँच महानगरमा गठबन्धन हाबी छ। तर काठमाडौंमा भने स्वतन्त्र उम्मेदवार दलहरुमाथि भारी परेका छन्। 

काठमाडौँको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायम गरेका छन्। १ हजार २८० मत गणना हुँदा बालेनले ४०२ मत पाएका छन्। यस्तै, नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छिन्। महानगरका ३२ वटा वडा मध्ये ४ वटा वडाको मतपेटिका खोलेर मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार सुमन सायमिले पनि खाता खोलेका छन्। सायमिले ६४ मत प्राप्त गरेका छन्।

काठमाडौंपछि चासोको साथ हेरिएको महानगरपालिका हो भरतपुर। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र) को उम्मेदवार रेनु दाहालले झिनो मतले अग्रता कायम गरेकी छिन्। उम्मेदवार दाहालले ७  सय मत गणना गर्दा २७८ मत प्राप्त गरेकी छिन्। त्यस्तै एमालेका विजय सुवेदीले २५८ मत ल्याएका हुन्। जगन्नाथ पौडेलले ९४ मत ल्याएका छन्। भरतपुरमा मतगणना जारी छ।

वीरगंजमा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन्। एमालेका विजयकुमार सरावगीभन्दा २६ मतले अगाडि छन् । सिंहले ७९, एमालेका सरावगीले ५३ र राप्रपाका गिरिश गिरीले २ मत ल्याएका छन्।

ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अहिलेसम्म सबैभन्दा धेरै मत ल्याएका छन्। जारी मतगणमा महर्जनले  २१९ मत पाएका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकारले ९८ मत ल्याएर पछ्याइरहेका छन्।

पोखरा महानगरपालिकामा झिनो मतअन्तरले गठबन्धनकै धनराज आचार्य अघि छन्। प्रारम्भिक २०० मतगणनामा आचार्यले ७६ र एमालेका कृष्ण थापाले ७४ मत पाएका छन्। पोखरमा दिउँसो ३ बजेपछि मात्र गणना सुरु भएको थियो।

त्यसैगरी विराटनगर महानगरपालिका नेपाली कांग्रेसका उम्मेद्वार  नागेश कोइरला १ हजार ३८ मत ल्याएर अगाडि छन्। एमालेका सागर थापाले ७ सय ७४ मत ल्याएका छन्। उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता कायम राखेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell