PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कच्चा रञ्जु, परिपक्व समीक्षा: लहर ल्याउने 'विवेकशील'को गुमनाम कथा ब्युँझाउँदै बालेन



सहयोग रञ्जित

कच्चा रञ्जु, परिपक्व समीक्षा: लहर ल्याउने 'विवेकशील'को गुमनाम कथा ब्युँझाउँदै बालेन

काठमाडौं: व्यवसायिक जीवन अनि कानुनी शिक्षा। प्रष्ट अभिव्यक्ति र शालीन प्रस्तुति। समीक्षा बास्कोटासँग ती सबै गुण थिए जो काठमाडौं महानगरपालिका हाँक्न आवश्यक छ। तर, निर्वाचनको प्रारम्भिक नतिजा आइरहँदा गुमनाम नै छिन् समीक्षा -रञ्जु दर्शनाको ठिक विपरीत। रञ्जु जसले काठमाडौंमा मूलधारे पार्टीको चैन चुडाइदिएकी थिइन्। त्यसरी नै अहिले बालेन साहले अत्याइरहेका छन् – केशव स्थापित र सिर्जना सिंहहरुलाई।

रञ्जु दर्शना र मिलन पाण्डेहरु पाँच वर्षअघि आफैँ मिडियासँग नजिकिएका थिए। सिक्दैछौं, गर्दैछौं भन्दै राजनीतिका कच्चा खेलाडीका रुपमा मैदानमा उनीहरु उत्रिँदा युवापुस्ता उनीहरुतिर आशाका नजर बिच्छाइरहेको थियो – यिनले केही गर्छन् कि! त्यतिखेर साझा पार्टीबाट भेट्रान इन्जिनियर अनि पूर्व सचिव समेत रहेका किशोर थापा पनि मैदानमा उसैगरी ओर्लिएका थिए। रञ्जुले लोकप्रिय २३ हजार मत ल्याएर नेकपा एमाले र नेपाली कांग्रेसलाई झड्का दिइन्। १८ हजार मत ल्याएका थापा पनि परम्परागत राजनीतिका उस्तादहरुलाई चक्मा दिनेखालकै थिए। यतिखेर बालेन यी दुवैभन्दा फरक हिसाबले उदाएका छन्। तर, सबल समीक्षा यो दौडमा कसरी पिँधतिरै अड्किइन्?

रञ्जु दर्शनाहरु राजनीतिमा कदम चाल्नु अघि अपरिचित अनुहार थिएनन्। सधैंजसो हुने बन्द हड्‍ताविरुद्धका प्रतिविम्ब बनिसकेका थिए रञ्जु, मिलन, उज्वल थापा, पुकार बमहरु। कांग्रेस र एमाले नेता र कार्यकर्ताका नजरमा ती 'एनजीओ/आइएनजीओ'का प्रडक्टमात्र थिए। त्यसैले उनीहरुलाई काँचै निल्न खोज्थे ती दलका नेता/कार्यकर्ता। सोसल मिडियामा अड्किएका उनीहरु 'अक्कुपाइ बालुवाटार'बाट 'भर्चुअल' राजनीतिमा मात्र सीमित रहेनन्। मैदानमा नै उत्रिए र बनाए फरक छवि। अघिल्लो स्थानीय तहको निर्वाचनमा उनीहरुको ब्रान्डिङ सामाजिक सञ्जालबाटै भएको थियो – केही न केही काम गरेको छविका कारण।

यसपाला बालेन त्यस्तै पृष्ठभूमिबाट उठे। युवाहरु बिच परिचित भए पनि बालेनलाई धेरैले यही चुनावका कारण चिने। प्रौढ पुस्‍ताले उनलाई अझै चिनिसकेको छैन तर पहिचानबिना नै मत भने दिइसकेको छ। देश र विदेशमा रहेका सन्तानको आग्रहबाट बालेनको 'लौरो'ले राजधानीको रैथाने राजनीतिज्ञलाई हावाकावा खेलाइरहेछ अहिले। विल्कुलै असंगठित र अस्वभाविक रुपमा बालेनको उदय भइरहँदा विवेकशील साझाकी समीक्षा कसैको नजरमा परिनन् किन?

नेपालीको खानपिनको शैलीलाई विम्वमा पटक पटक प्रयोग हुन्छ – 'मेनु सबै पढ्ने, अन्तिममा मःम र चाउमिन अर्डर गर्ने। त्यही खाने।' चुनावमा मत दिँदा पनि अन्तिममा मःम र चाउमिन झै रोज्ने। लामो विरासत बोकेका राजनीतिक दलका लागि विवेकशील, साझाका नेता वा बालेनजस्ता पात्र मेनुमा सजिने तर नबिक्ने 'माल'का रुपमा परिभाषित थिए। त्यहीँ नै हस्तक्षेप थियो रञ्जु दर्शनाहरुको। पाँच वर्ष अघिको निर्वाचनमा दर्शना र थापा एउटै दलमा हुन्थे र मत एकीकृत हुन्थ्यो भने सायद् – तरङ्ग आउथ्यो कि? चुनावमा फरक मेनुले मत ल्याएको देखेपछि युवा पुस्ता र शिक्षित समूहमा बहस हुनु अस्वभाविक थिएन। त्यसैले एकाकार गराएका थियो रवीन्द्र मिश्रको साझा र उज्वल थापाको विवेकशीललाई। त्यही पार्टीको आरोह र अवरोहले नै आधा दशक अघि कालो बादलमा चाँदीको घेरा झै उदाएका विवेकशील र साझा आज समीक्षालाई चुनावी मैदानमा उतारेर पनि परिणाममा गुमनाम!

राजनीतिमा मेन्यू बदल्न मःम र चाउमिन खान छाड्ने उद्घोषसहित पत्रकारिताबाट राजनीतिमा उत्रिएका रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भन्दै उत्रिए। त्यतिमात्र होइन, राजतन्त्रको धार बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समाहित हुनेसम्मको उनको तयारीले बैकल्पिक राजनीतिक शक्ति रैथाने राजनीतिको करिब करिब 'एक्सपायर्ड एडिसन'तिर जोडिने स्थिति बन्यो। उज्वल थापा कोरोना संक्रमणकै बिच बिते। रवीन्द्र नेतृत्वको विवेकशील साझा वामपन्थी दलजस्तै फुटको अवस्थामा पुग्यो। एकले अर्कालाई सक्काउने परम्परागत राजनीतिक शक्तिको खेलमा लाग्दा विवेकशील र साझाका संस्थापकहरु भिडिरहे। चुनावको केही दिनअघि रञ्जुको तस्बिर कांग्रेस उम्मेदवार सिर्जना सिंहसँग देखियो।

अन्तत: राजनीतिमा मिश्रहरु मेनुमा मात्र सीमित भए। त्यो राजनीतिक मेनुमा अब्बल उम्मेदवारका रुपमा समीक्षा देखिइन्। तर, मतदानमा उनी रेस्टुँराको मेनुमात्र भइन्, अर्डर गर्नेहरु देखिएनन्। अप्रत्यासित बालेनको उदय भयो। पुरानो मेनुमा आकर्षक रुपमा सुनिता डंगोलको इन्ट्री भयो जसले जबर्जस्त आफूलाई स्थापित गर्दैछिन्। बालेनको उदयले कसकसको अस्त गराउने हो त्यो यसै भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell