PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कहिले सकिएला काठमाडौं महानगरको मत गणना? के ट्रोलमा जस्तै बालेनको बाँकी कपाल फुलेपछि?



सविन ढकाल

कहिले सकिएला काठमाडौं महानगरको मत गणना? के ट्रोलमा जस्तै बालेनको बाँकी कपाल फुलेपछि?

काठमाडौ : निर्वाचन परिणाममा इन्जिनियर तथा र्‍यापर बालेन हावी हुँदै रोमाञ्चक बनिरहेको काठमाडौं महानगरपालिकाको निर्वाचन परिणाम कहिले आइसक्ला? तीब्र प्रतीक्षासँगै सोसल मिडियामा चर्का व्यङ्ग्यहरु आइरहेका छन् मत गन्तीलाई लिएर। यतिसम्म कि निर्वाचन परिणाम कुर्दा कुर्दै ३२ वर्षीय उम्मेदवार बालेनको कपाल सेतै भएको तर मत गणना नसकिएको ट्रोल बनिरहेको छ। के निर्वाचनको अन्तिम मत परिणाम आउन त्यस्तै धेरै समय लाग्ने हो त? 

हिजो शनिवार बिहान ८ बजेदेखि काठमाडौंको मत गणना सुरु भयो। जनसङ्ख्याको हिसाबले सबैभन्दा धेरै मतगणना गर्नुपर्ने महानगरपालिका हो काठमाडौं। तर २४ घण्टा बितिसक्दा पनि काठमाडौंमा करिब ६ हजार भन्दा बढी मत गणना हुन सकेको छैन।

गठबन्धनका उम्मेदवारको फरक चिन्हमा लागेको स्वस्तिक छाप, अवैज्ञानिक मतपत्र, निर्वाचन शिक्षाको कमी लगायतले यसपाला महानगरपालिकाको मतदान र गणना दुवै प्रभावित भएको छ। त्यसैले पनि बदर मतको सङ्ख्या तुलनात्मक रूपमा धेरै हुने अपेक्षा गरिएको छ। मतगणना पनि झन्झटिलो बनेको छ। उम्मेदवारको सङ्ख्या धेरै भएकाले मतगणनामा सबैलाई समावेश गरिएको छ। जसले मतगणना गर्दा सबैलाई एकाएक गरेर देखाउनु परेकाले पनि मतगणनामा समय लागेको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

मतपत्र दुई फोल्ड गर्नुपर्ने हुन्छ। ७ जना उम्मेदवारको सदर बदर गरेर छुटाउनुपर्ने भएकाले पनि प्रदेश र संसदीय निर्वाचनको तुलनामा सात गुणा समय लाग्ने गरेको छ।

काठमाडौं महानगरपालिका ३२ वटा वडा रहेका छन्। ३/४ वडामा मतदाताको सङ्ख्या १५ हजार भन्दा धेरै छ। ३ लाख मतदाता रहेको काठमाडौंमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। त्यही हिसाबले डेढ लाख भन्दा धेरै मतपत्र गणना गर्नुपर्ने देखिन्छ। अहिलेको हिसाबले नै मतगणना गर्ने हो भने अर्को दुई साता बित्नेछ मत गन्दैमा।

'केही व्यवस्थापकीय सुधार गर्नुपर्ने हुन्छ। एक दुई दिनको ट्रेन्डलाई हेरेर मतगणना कसरी गर्ने भन्ने विषयमा आयोगले छलफल गर्छ,' आयोगका सह प्रवक्ता अर्यालले भने।

२०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएको थियो। काठमाडौं महानगरपालिकाको मतपरिणाम गणना भएको १३ दिनपछि मात्र आएको थियो। अर्थात् जेठ १४ गते मेयरमा विद्यासुन्दर शाक्य विजयी भएको घोषणा भएको थियो। त्यही हिसाबले पनि काठमाडौं महानगरपालिकाको अन्तिम रिजल्ट जेठको दोस्रो सातामा आउने देखिएको छ। त्यसमा पनि अहिलेको गतिमा नै मतगणना भए त्यो पनि सम्भव देखिँदैन। किनकि २०७४ को स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रममा गणना ढिलो भएको आलोचना भएपछि आयोगले मतगणना गर्ने स्थान थप गरेको थियो।

दलका नेता, कर्मचारी र सुरक्षाकर्मी र मतगणना गर्ने सुरक्षित स्थान भए अहिले पनि आयोग मतगणना गर्ने ठाउँ थप्ने तयारीमा रहेको छ। तर त्यसका लागि दलहरूको सहमति, कर्मचारी र सुरक्षित स्थान आवश्यक पर्ने छ।

'दश/दश वडाहरू छुट्याएर तीन ठाउँमा एकै चोटि गणना गर्न सकेको खण्डमा चाँडो हुने देखिन्छ। त्यसका लागि पनि आयोगले सोचिरहेको छ। तर दलको सहमतिदेखि कर्मचारी र सुरक्षित भवनको आवश्यक देखिन्छ,' सह प्रवक्ता अर्यालले भने।

काठमाडौं महानगरपालिकामात्र होइन गणनाको हिसाबले विराटनगर, भरतपुर, पोखरा, ललितपुर, वीरगन्ज महानगरपालिकामा पनि मतगणनामा समस्या देखिएको छ। मतपत्रको प्रकार, उम्मेदवारको सङ्ख्या, कर्मचारीको सङ्ख्या लगायतले मतगणनालाई प्रभावित पारेको पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव बताउँछन्। त्यसो त मतगणना ढिलो हुनुमा प्रणाली र कानुनी अवरोध समेत रहेको उनको बुझाइ छ।

'जहाँ मतदान भएको हो, त्यही मतगणना गर्दा छिटो हुन्छ। तर हाम्रो कानुनले निर्वाचन कार्यालयमा नै मत ल्याउनुपर्ने भनेको छ। त्यसले गर्दा पनि ढिलो भएको हो। यो कानुनलाई संशोधन गर्नुपर्ने हुन्छ,' पूर्व यादवले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell